थप समाचारबिहिवार, पौष २६, २०७५

जाडोमा यसरी बनाऊँ घरलाई न्यानो

हिमालखबर

पुस लागेसँगै जाडो निकै बढेको छ। लामो समयदेखि पानी नपरेका कारण वायुमण्डलमा धूलो र प्रदूषक कण थुप्रिँदा दिउँसोको घाम पनि रापिलो छैन। गिर्दो तापमान अझै कम हुने मौसमविद् बताउँछन्। यस्तो अवस्थामा घर न्यानो पार्न अनेकौं उपाय गरिन्छ।

घर तातो बनाउन एअर कन्डिसनर चलाउने, विभिन्‍न किसिमका हीटर र दाउरा बाल्ने चलन पनि छ। यद्यपि, यी उपायले लागत खर्च बढाउँछन् भने सबैको स्वास्थ्य अनुकूल पनि हुँदैनन्। त्यसैले स-साना कुरामा ध्यान पुर्‍याउने हो भने घरलाई सुविस्ताजनक न्यानो बनाउन सकिन्छ।

धेरै घरमा चिसो पस्‍ने झ्यालहरूबाटै हो। त्यसमाथि अचेल अधिकांश घरका झ्यालका पल्ला (खापा) सिसाका हुन्छन्। सिसाले घरभित्रको तापक्रम जोगाउन नसक्ने हुँदा जाडोमा झ्यालमा मोटो र गाढा रङको पर्दा राख्नुपर्छ। झ्यालमा रहेका स-साना नसबाट हावा छिर्दा हिटर बाले पनि कोठा नतात्‍ने समस्या आउँछ। त्यसैले जाडो शुरु हुनु अगावै झ्यालको मर्मत गराउनु आवश्यक छ। जाडो याममा ठूला सिसाका झ्यालहरूमा बबल र्‍याप (नाजुक सामानहरूको हिफाजतका लागि बाहिरबाट मोडिने पारदर्शी प्लास्टिक) वा सावर कर्टेन टाँसिदिने हो भने उज्यालो छिर्नुका साथै घरभित्रको वातावरण न्यानो बनाइरहन मद्दत पुग्छ, तर यसरी झ्यालमा सावर कर्टेन वा बबल र्‍याप टाँस्दा भद्दा भने देखिन्छ। अचेल दोहोरो सिसा राखिएका ‘डबल प्यान विन्डो’ बनाउने चलन पनि छ। दोहोरो सिसा राखेर बीचमा आर्गन ग्यास भरिएका यस्ता झ्यालहरूले बाहिरको तापक्रमको प्रभाव घरभित्र पर्न दिँदैनन्।

बिहान घाम लागेपछि झ्यालका पर्दा खोलेर सूर्यको प्रकाश भित्र छिर्न दिने हो भने घरभित्रको तापक्रम प्राकृतिक रूपमै बढ्छ र घर न्यानो हुन्छ। तर, घाम नलाग्‍ने झ्यालहरू भने बन्द नै राख्नुपर्छ। त्यस्तै साँझ परेपछि घरका सबै ढोका र झ्याल राम्रोसँग बन्द गर्नुपर्छ। अधिकांश ढोकाको चरबाट चिसो पस्‍ने हुँदा राति ढोका बन्द गरिसकेपछि त्यस्तो चरलाई कपडाले थुनिदिँदा चिसो भित्र पस्‍न पाउँदैन र घर न्यानो रहिरहन्छ।

मार्बल, टायल इत्यादि ओछ्याइएको वा सिमेन्टको भुईं निकै चिसो हुन्छ र यस्तो भुईंले सम्पूर्ण घरलाई नै चिसो बनाइरहेको हुन्छ। त्यसैले जाडो याममा घरको भुईं पूरै कार्पेटले ढाक्दा थप न्यानो हुन्छ। सामान्य कार्पेटमाथि ऊनी कम्बल वा गलैंचा ओछ्याउन सकियो भने बढी न्यानो अनुभूति हुन्छ।

त्यस्तै धेरै उपयोगमा नआउने कोठाका झ्याल ढोका बन्द गरेर राख्नुपर्छ। यसो गर्दा ‘एअर सर्कुलेशन’ कम भई घरभित्र तातोपना कायम हुन्छ। किनभने जति धेरै ‘ओपन स्पेस’ भयो कोठा उति चिसो हुन्छ वा तताउन समय लाग्छ।

जाडोमा अधिकांशको तातोपानीले नुहाउने बानी हुन्छ। यसरी नुहाउँदा, मिलेसम्म बाथरुमको ढोका खुला राख्‍ने हो भने तातोपानीको वाफ घरभित्र अन्य स्थानमा फैलिएर घर तातो बन्छ।

घरका भान्सा, बाथरुमजस्ता ठाउँहरूमा हावा छिर्नका लागि भेन्टिलेटर बनाइएका हुन्छन्। त्यसैले जाडो याममा आवश्यक भएका बेलाबाहेक यस्ता भेन्टिलेटरहरू बन्द गर्नुपर्छ। नत्र अरू सबैतिर तातोको प्रबन्ध मिलाए पनि भेन्टिलेटरबाट भित्र पस्‍ने हावाले पूरै घर चिसो पारिदिन्छ।

सुत्‍नुअघि ओछ्यानमा ‘हट वाटर ब्याग’ राख्दा ओछ्यान तातिएर आनन्दानुभूति हुन्छ। जाडो याममा अरू बेला पनि तातोपानी भरिएको ‘हट वाटर ब्याग’ सँगै राख्दा तातो अनुभव हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ।

प्रतिकृया दिनुहोस