कला/साहित्यबुधबार, २५ पौष , २०७५

शिल्पी थिएटरमा हाक्पारे भाका

सविना देवकोटा

पूर्वी नेपालको पहाडी भेगमा लिम्बू समुदायमाझ प्रचलित भाका हाक्पारे २४ पुसमा काठमाडौंको शिल्पी थिएटरमा रैथाने संगीत समूहले प्रस्तुत गरेको छ। कार्यक्रममा गायनसँगै हाक्पारेसम्बन्धी शोध पनि प्रस्तुत गरियो।

तस्वीर स्रोत- सेतोपाटी डट कम

लिम्बू गायन परम्पराको सबैभन्दा पुरानो शैली मानिन्छ, हाक्पारे। सृष्टिको उत्पत्ति, मानव सभ्यतादेखि लिएर रसरंगबारे गाइने हाक्पारे यज्ञ, पूजा, बिहेको लगन, मृत्यु संस्कारलगायत सन्दर्भमा गाइन्छ।

गायनले नै हाक्पारेलाई जीवन्त बनाएको मुन्धुमविद् तथा कवि वैरागी काइँला बताउँछन्। भन्छन्, “हाक्पारे लोककला हो किनभने यसले संगीत मात्रै होइन, एउटा सिंगै समुदायको इतिहास र परम्परा बोकेको छ।”

त्यसो त, लिम्बू समुदायका जीवनशैली, विश्वास र जीवनदर्शन परम्परागत रूपमा मुन्धुमका माध्यमबाटै प्रवाह हुने गर्थे। श्रुती परम्परामा आधारित हाक्पारे गीत गाएर सुनेकै भरमा एक पुस्तादेखि अर्कोमा हस्तान्तरण हुने गर्थ्यो। आधुनिक समयमा आएर मात्रै मुन्धुमको अभिलेख राख्न थालिएको हो।

लिम्बू समुदायमा हाक्पारे आदिम घुमन्ते फिरन्ते युग अर्थात् १० हजार वर्षभन्दा अगाडिदेखि नै गाउने चलन भएको अनुमान गर्न सकिने समाजशास्त्री चैतन्य सुब्बाले बताउँछन्। पछिल्लो समय सामाजिक रीति, विवाह र गर्भपूजामा शिशुको सुरक्षित अवतरणजस्ता विषयमा पनि हाक्पारे गाइने उनी बताउँछन्। भन्छन्, “एक जनाले गीत गाएपछि केहीले त्यसमा थप्दै, स्पष्ट पार्दै र केहीले प्रश्न गर्दै र विकल्प दिँदै संवादका रूपमा हाक्पारे अगाडि बढ्छ।”

रैथाने संगीत समूहका झुमा लिम्बु, मनु नेम्वाङ, लोकमान बनेम, शम्भु बानियाँ, पारसमणि सुवेदी, बुद्ध लामा र धर्म गन्धर्वले हाक्पारे संगीतको प्रस्तुती दिएका थिए। साहित्यकार वैरागी काइँला र समाजशास्त्री चैतन्य सुब्बाले हाक्पारे गीतबारे शोधपत्र प्रस्तुत गरेका थिए।

हाक्पारे लिम्बूबाहेक मुन्धुम मान्ने समुदाय राई, याक्खा आदि समुदायबीच पनि लोकप्रिय छ। पूर्वी नेपालमा हाक्पारे लयमा आधारित भएर नेपालीलगायत भाषामा लोकगीत गाइन्छन्। हाक्पारे लयबाट प्रभावित भई केही आधुनिक तथा पप गीतसमेत जन्मिएका छन्।

“भूगोल, जातजाति र समुदायको विविधताअनुसार नेपाली संगीतमा भएको विविधतालाई खोजेर शब्द, ध्वनि र दृश्यमार्फत अभिलेख गर्ने प्रयासमा जुटिरहेका छौं,” समूहकी एक संस्थापक झुमा लिम्बू भन्छिन्। भौगोलिक र सांस्कृतिक विविधता र विशेषतालाई अध्ययन गर्ने समूहको लक्ष्य छ।

मौलिक गीत-संगीत र बाजागाजाहरू मासिँदै गएको सन्दर्भमा पहिचान संकटमा परेकाले परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने समूहको भनाइ छ। सोही उद्देश्यका साथ रैथाने समूहले गायन तथा अन्तर्क्रिया शृंखला शुरु गरेको हो।

नेपालका यस्ता विविध संगीतको प्रस्तुती, अनुसन्धान र अभिलेख गर्ने उद्देश्यले बनेको रैथाने समूहको यो पहिलो संगीत शृंखला हो। मौलिक गीत, संगीतको पर्याप्त अनुसन्धान, समीक्षा र प्रबर्द्धन गर्ने उद्देश्यका साथ संगीत क्षेत्रमा सक्रिय सर्जक, पत्रकार, अनुसन्धातकर्ता र समीक्षकहरू मिलेर यो समूह बनेको हो।

प्रतिकृया दिनुहोस