विराटनगरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन शुरु
राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २४ पुसदेखि विराटनगरमा शुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले प्रतियोगिताको उद्घाटन गरे।
मोरङ जिल्ला ब्याडमिन्टन संघ र विराटनगर ब्याडमिन्टन क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा नेपाल, भारत र म्यानमारका खेलाडी सहभागी छन्। म्यानमारबाट ३ र भारतबाट ४ खेलाडी नेपाल आएका छन्। प्रतियोगितामा सहभागी हुने जनाएपनि बाङ्लादेशका खेलाडी आएनन्।
ब्याडमिन्टन संघका केन्द्रीय उपमहासचिव लवभक्त श्रेष्ठका अनुसार ६ वटा विधामा खेलाइने खेलका विजेतालाई २ सय अमेरिकी डलर पुरस्कार दिइनेछ। १९ वर्ष मुनिको सिंगल, केटा र केटी डबल तथा १५ वर्षमुनिको सिंगल, केटा र केटी डबल खेल सञ्चालन भइरहेको छ। विराटनगर कबर्डहलमा पहिलो पटक म्याट राखेर प्रतियोगिता सञ्चालन गरिएको छ।
कमल रिमाल, विराटनगर