समाचारसोमवार, पौष २३, २०७५

गोपाल खड्काविरुद्ध भ्रष्‍टाचार मुद्दा दायर, १८ करोडको सम्पत्ति गैरकानूनी ठहर

मुकेश पोखरेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का ।

खड्काले गैरकानूनी रूपमा रु. १८ करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले २३ पुसमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। २ चैत २०६९ देखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा रु. २७ करोड ३० लाख ७५ हजार ३८० खर्च तथा लगानी गरेको र उक्त लगानीमा रु. ८ करोड ६४ लाख ६९ हजार ७५१ को मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ।

स्रोत नखुलेको रु. १८ करोड ६६ लाख ५ हजारको सम्पत्ति गैरकानूनी आर्जन गरेकाले भ्रष्‍टाचार निवारण ऐनको कसुरमा कारवाही गर्न अख्तियारको माग छ।

पदमा बहाल रहँदा रु. ४० लाख ५७ हजार १५५ पारिश्रमिक, जग्गा बिक्रीवापत रु. ५८ लाख ७५ हजार, ऋण सापटीको रु. ५ करोड ३३ लाख ३६ हजार, घरभाडावापतको रु. १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा प्राप्त गरेको २९ लाख २२ हजार, पेन्सनवापत प्राप्त १४ लाख ७८ हजार, विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार, गाडी बिक्रीवापतको ३५ लाख, छोरा-बुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी ७ करोड ४४ लाख ५६ हजार २५२ मात्र खड्काको वैध आम्दानी रहेको अख्तियारको दाबी छ।

उनले पुर्ख्यौली घरबाहेक ३ वटा घर निर्माण तथा खरीद गरेको, २ वटा घर खरीदका लागि आंशिक भुक्तानी दिएको तथा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्‍न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको अनुसन्धानबाट पुष्‍टी भएको अख्तियारका प्रवक्ता रामेश्‍वर दंगालले बताए।

दंगालका अनुसार घर खरीदमा ११ करोड ६१ लाख ४३ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख ४ हजार, ऋणको साँवा-ब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २३९, व्यक्तिगत रूपमा दिएको सापटीवापत १ करोड २५ लाख ६० हजार, विभिन्‍न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड १७ लाख ७५ खड्काको लगानी देखिएको छ।

यस्तै, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख १४ हजार ६९५, गाडी खरिदमा १ करोड १७ लाख ४२ लाख, सुपर मार्केटहरूमा खर्च गरिएको १ करोड ८० लाख १६ हजार, ५५ भन्दा बढी बैंक, वित्तीय संस्था र सहकारीमा २ करोड ७१ लाख ५३ हजार र उनी सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म २ करोड २ लाख ७० हजार गरी करिब रु. २७ करोड ३० लाख ७५ हजार खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।

अख्तियारले अन्य व्यक्तिको नाममा लुकाइराखेको ७ करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी र दशीको रूपमा रु. ८९ लाख ८९ हजार नगद अदालतमा दाखिला गरेको छ।

खड्काको गैरकानूनी सम्पत्ति श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई-छिपाई राखेको भेटिएको अख्तियारले जनाएको छ। यस्तै, अमिता लामा सोदेम्बाको नाममा रु. ७ करोड ५४ लाख ५७ हजार ८७५ बराबरको सम्पत्ति लुकाइराखेको देखिएको अख्तियार प्रवक्ता दंगालले बताए।

प्रतिकृया दिनुहोस