ब्लगसोमबार, २३ पौष , २०७५

अरनिको र कुब्लाई

कनकमणि दीक्षित

उतिबेलादेखि आजसम्म नेपालमण्डल (उपत्यका) का नागरिकमध्ये अन्तर्राष्‍ट्रिय सफलता कमाएको अरनिकोजति कोही छैन।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिल भवनको दोस्रो तलामा दुई वटा यस्ता कलाकृतिका नक्कल झुण्डिएका छन्, जसले मल्लकालीन नेपालमण्डल र तेह्रौं शताब्दीको चीनलाई जोड्छन्। भर्‍याङबाट उक्लिएर दोस्रो तलाको ‘वागमती ग्यालरी’ पस्‍नुहोस्, त्यहाँ छन् फ्रेम गरेर राखिएका दुई पोट्रेट- महाचीनको युआन डाइनेस्टीका मंगोल सम्राट कुब्लाई खाँ र उनकी दोस्रो रानी छवी।

चिङ्गिस खाँका नाति थिए कुब्लाई, जसले सङ्ग वंश कमजोर हुने क्रममा तेह्रौं शताब्दीमा युआन वंशको थालनी गरे। उनको जन्म सन् १२१५ मा भयो भने राज १२९४ सम्म रह्‍यो। कुब्लाईको साम्राज्य प्रशान्त महासागर र साइबेरियादेखि पूर्वी यूरोप, तिब्बत र अफगानिस्तानसम्म फैलिएको थियो।

यस्तो प्रभावशाली बादशाहको दरबारको दैलोमा सन् १२६० तिर पाटन शहरका एक १७ वर्षे कलाकार पुगे। जसको नामसमेत हाम्रो इतिहासलाई थाहा छैन, उतिबेलाको चिनियाँ नाम अनिगे अथवा अरनिको भएको मात्र जान्दछौं।

कुब्लाई खाँ र रानी छवी ।

संस्कृतिविद् सत्यमोहन जोशीले आधा शताब्दीअघि बेइजिङमा रहेको स्रोतको अध्ययनपश्‍चात् अरनिकोबारे नलेखेको भए शायद आजसम्म हामी बेखबर नै रहन्थ्यौं।

सम्राट कुब्लाई खाँले आफ्ना राजगुरु तिब्बतको सिगात्सेनजिक रहेको शाक्या गुम्बाका संघनायक पाहसपालाई सुवर्ण विहार बनाउने आदेश दिएका थिए। दशौंदेखि तेह्रौं शताब्दी नेपालमण्डलको कलाकृति र वास्तुकला चम्किएको समय थियो। पाहसपाले नेपालमण्डल नरेश जयभीमदेव मल्लसँग कलाकार-कारिगर मगाए।

सन् १२४४ मा जन्मिएका अरनिकोले सन् १२५५ को महाभूकम्प पनि भोगेको हुनुपर्छ, जसले उपत्यकामा धेरै ज्यान लियो, राजा अभय मल्ललगायत। अरनिको चित्रकला, मूर्तिकला र वास्तुकलामा निपुण थिए। भनिन्छ, कलाकार टोलीको नेतृत्व गर्दै उनी सिगात्सेतिर लागे। त्यहाँ उनले तन्त्रको ज्ञान पनि लिए र गुम्बाको तयारीपश्‍चात् नेपाल फर्कने ‘मूड’ मा थिए तर पाहसपाले उनलाई उल्टो बाटो बेइजिङको ‘ग्रेट खाँ’ सँग भेट्न लिएर गए।

ललितपुरका यी युवा मूर्तिकार र वास्तुविद्ले राजधानी तातू (आजको बेइजिङ) मा कुब्लाई खाँलाई तुरुन्तै प्रभावित गरे। र, मठमन्दिर, चैत्य, गुम्बा, मूर्ति, पौभा आदि बनाउन व्यस्त भए। बेइजिङको प्रसिद्ध श्‍वेत चैत्य तथा छेउको महाविहार उनका सबैभन्दा उत्कृष्‍ट प्रस्तुति मानिन्छन्।

उनलाई दरबारको पूरै कारिगरी र कला विभागको प्रमुख बनाइयो, अनेक मानपदवीले सुसज्‍जित भए, मन्त्रीस्तरको पद ग्रहण गरे र लियाङ्ग प्रान्तको काजीसम्म बनाइए। ललितपुरमा श्रीमती छाडेर गएका अरनिकोले सोही क्रममा विरानो मुलुकमा दोस्रो घरजम गरे, ठूलै जमीनदार र तातूका ‘एलिट’ मध्येकै प्रबुद्ध बने। अरनिकोको देहान्त ६२ वर्षको उमेरमा सन् १३०६ मा भयो।

प्रश्‍न गर्न मिल्छ, आदिकालदेखि आजसम्म नेपालमण्डल (उपत्यका) को अर्को कुन व्यक्तित्वले यत्रो अन्तर्राष्‍ट्रिय सफलता हासिल गरे ? अरनिको जतिको अन्तर्राष्‍ट्रिय सफलता अरू कसैको छैन, आजैसम्म।

सत्यमोहन जोशीको वि.सं. २०४४ को ‘कलाकार अरनिको’ पुस्तकको भूमिकामा कृष्णचन्द्रसिंह प्रधान यसरी लेख्छन्ः

“एउटा केटौली वयका नेपाली कलाकार सात सय वर्षभन्दा अझ धेरै वर्षअघि चीनजस्तो कला र संस्कृतिको धनी देशमा गएर नेपाली शैलीका मौलिक कृतिद्वारा गौरवान्वित गर्ने विलक्षण स्रष्‍टा भएकैले कलाको क्षेत्रमा उनले हाम्रो इतिहासमा कसैबाट हुन नसकेको योगदान गरे, अन्तर्राष्‍ट्रिय जगतमा ख्याति कमाए . . . विदेशमा आफ्नो विलक्षण प्रतिभाद्वारा अद्‍भूत सीपको दृष्‍टान्त उपस्थित गरी राष्‍ट्रलाई नै सम्मान दिलाउने संरचनाकार अरनिको नेपालको पहिलो र हालसम्मका अन्तिम कलाकार भने हुन्छ।”

१८ फेब्रुअरी १२९४ मा कुब्लाई खाँको निधन भयो र अरनिकोले आफ्नो महान् जजमान गुमाए। सम्राटको मरणको केही समयपश्‍चात् अरनिकोले उनको पोट्रेट कोरे, जसमा कुब्लाई खाँको पहिरन आफ्नो पुर्ख्यौली मंगोल झाँक्रीले लगाउने सेतो लबेदा छ। अरनिकोले कुब्लाईकी रानी छवीको पनि अर्धकदको मुहारचित्र कोरे।

यी दुई पोट्रेट नेपाली नभई उतिबेलाको चिनियाँ शैलीमा कोरिएका छन् भने तत्पश्‍चातको चीन सम्राटका तस्वीरहरूका लागि शैली नै स्थापित गरिदिए अरनिकोले।

यी दुई पोट्रेट ताइपेई शहरको ताइवान नेशनल प्यालेस म्युजियममा रहेको सत्यमोहन जोशीले पत्ता लगाए र विद्वान् मीनबहादुर शाक्यको मद्दत लिई दुइटा चित्रको राम्रो ‘कपी’ नेपाल ल्याइयो। मल्लकालीन नेपालमण्डलको महाचीनसँगको उत्कृष्‍ट सम्बन्धको यथार्थ दर्शाउने यी दुई पोट्रेट हेर्न तपाईं पनि नेपाल आर्ट काउन्सिलको ‘वागमती ग्यालरी’ जान सक्नुहुन्छ।

प्रतिकृया दिनुहोस