कला/साहित्यआइतबार, २२ पौष , २०७५

कवि खत्रीको 'आगोको वर्णमाला'

हिमालखबर

कवि जीवन खत्रीको कविताकृति 'आगोको वर्णमाला' सार्वजनिक गरिएको छ। शनिवार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, मोमिला, विमल आचार्य, दीपक सापकोटा र कतिका मातापिताले कृति सार्वजनिक गरेका हुन्।  

कृतिमाथि बोल्दै वरिष्ठ कवि दिवसले जीवनले कवितामा पहाडी विम्बहरू ल्याएको टिप्पणी गरे। "कविले तालीका लागि नभई कविताका लागि कविता लेख्नुपर्छ, जीवनले त्यही गरेका छन्", दिवसले भने, "उनका कवितामा फूलको जस्तो कोमलता रहे पनि चट्टानी चोट दिनसक्ने क्षमता छ।"

त्यसअघि कार्यक्रममा पहिलो सेसन अन्तर्गत कवि मोमिला, विमल आचार्य र दीपक सापकोटाले कविताकृतिमाथि अन्तरसंवाद गरेका थिए। अन्तरसंवादमा सापकोटाले जीवनका कविताहरू कोमल र आमाका विम्बहरूमा कलात्मक र गहिरो अर्थ बोकेको बताए। उनले थपे, "यो कृतिले कविलाई कविहरूको भीडमा चिनाउन महत्वपूर्ण भूमिका खेल्छ।"

समीक्षक आचार्यले नेपाली कविता क्षेत्रमा जीवन खत्रीका कविताहरू फरक र बलशाली रहेको बताए। उनले भने, "कविताहरु पढ्दा उनी प्रगतिवादी कवि हुन् भन्नेमा शंका रहँदैन।"

कवि मोमिलाले जीवनका कविताहरू सरल र कोमल तर आगो जस्तै रापिलो रहेको उल्लेख गरिन्। उनले थपिन्, "जीवनका कविताको क्राफ्ट असाध्यै उत्कृष्ट छ, विषयको गहिराइमा प्रवेश गर्ने तरिका पनि राम्रो छ। अझ अन्तरविरोधसहित कविता टुङ्ग्याउने शैलीले उनलाई स्थापित गर्नेछ।"

कार्यक्रममा कवि खत्रीले कृतिबाट ‘आमाहरुको गन्थन’, ‘नानीबाबुहरु, पात र प्रेम’ कविता वाचन गरेका थिए। कृति यूरेका पब्लिकेसनले प्रकाशन गरेको हो।

प्रतिकृया दिनुहोस