ब्लगबिहिवार, पौष १९, २०७५

चिठीमा आधा नोट

भैरव रिसाल

भारतमा बसेकाहरूसँग रकमको व्यवहार गर्दा सिङ्गो नोट नपठाई बीचमा काटेर दुई खेपमा आधा–आधा नोट पठाउनुपर्ने तरिका कम्ता रोचक छैन !

नेपालले कागजी नोट चल्तीमा ल्याउनु अघि भारतीय नोटमा निर्भरता थियो । ब्याङ्किङ व्यवस्था नभएको राणाकालीन त्यो समयमा भारतमा पढ्न बसेकालाई र व्यापारिक कारोबारका लागि रकम पठाउनुपर्दा अनौठो तरिका अपनाइन्थ्यो ।

भारु १०० को नोट दुई टुक्रा पारेर पहिले एक टुक्रा हुलाकबाट पठाउने र त्यो प्राप्त भएको चिठी उताबाट आएपछि अर्को आधा भाग पनि पठाउने गरिन्थ्यो । सिङ्गो नोट पठाउँदा हराउने वा चोरी हुने डरले त्यो जुक्ति अपनाइएको रहेछ । समय अनुसार उपाय निकाल्ने मानव मगजको खेल नै हो ।

भारतमा नोटका दुवै टुक्रा पुगेपछि त्यहाँका ब्याङ्कमा लगी आफूलाई आवश्यक दरका नोट साटेर व्यवहार चलाउने गरिन्थ्यो । यो कुरा मैले नेपालका पहिलो अर्थ सचिव र पहिलो गभर्नर हिमालयशमशेर राणाबाट सुनेको हुँ, रेडियो सगरमाथा को ‘उहिले बाजेका पालामा’ कार्यक्रममा । उनले अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्न भारतको बम्बई (हाल मुम्बई) बस्दाको अनुभव सुनाएका थिए ।

त्यतिबेला नेपालले कागजी नोट चल्तीमा ल्याएको थिएन । नेपाली नोट त श्री ३ जुद्धशमशेरको कार्यकालको अन्ततिर वि.सं. २००२ असोजदेखि प्रचलनमा आएको हो । त्यसअघि धातुका सिक्का मात्र थिए । शुद्ध चाँदी प्रयोग गरी एक तोलाबाट एक रुपैयाँको डबल र आधा तोलबाट पचास पैसाको मोहर तथा अन्य धातुका २० पैसा र १२ पैसासम्मका सिक्का हुन्थे ।

यस्तै, तामाका पाँच पैसा, दुई पैसा र एक पैसाका ढ्याक टकमरी गरिन्थ्यो । यदाकदा खोटा सिक्काका कारोबारीहरूले चाँदी थोरै हाली अरू सेतो धातु मिसाएर सिक्का बनाएको खबर सुनिन्थ्यो । सिक्का सक्कली हो कि नक्कली भन्ने निक्र्योल गर्न आवाज आउने गरी बजाइन्थ्यो । राम्ररी बजेन भने खोटो ठहरिन्थ्यो ।

भारतमा अध्ययन गर्न बस्दा काटिएको भारु नोट पाएर काम चलाउनेमा राजा महेन्द्रका निजी सचिव लोकदर्शन बज्राचार्य पनि पर्दा रहेछन् । लोकदर्शनले २०७० सालमा प्रकाशन गरेको संस्मरणात्मक पुस्तक जीवनका पानाहरू मा इलाहाबादको के.पी. कलेजमा आईएस्सी अध्ययन गर्दाको अनुभव उल्लेख गरेका छन् ।

औषधिका पुराना व्यापारी पुष्पलाल राजभण्डारीको कथा पनि त्यस्तै रहेछ। औषधि खरीद गरेपछि रकम भुक्तानी गर्न आधा–आधा नोट पठाउने प्रक्रिया अपनाउनुपर्ने रहेछ।

उनले लेखेका छन्, “त्यसबेला भारु १०० पठाउन नहुने भएकोले बीचमा काटेर दुई पटक पठाउने गरिन्थ्यो । उक्त नोट ब्याङ्कमा देखाएपछि त्यहाँबाट सटही भुक्तानी दिइन्थ्यो ।”

औषधिका पुराना व्यापारी पुष्पलाल राजभण्डारीको कथा पनि त्यस्तै रहेछ । औषधि खरीद गरेपछि रकम भुक्तानी गर्न आधा–आधा नोट पठाउने प्रक्रिया अपनाउनुपर्ने रहेछ । उनले काठमाडौंमा औषधिको व्यापार शुरू गर्दा नेपाल–भारत सीमा रक्सौलदेखि नै भरियालाई बोकाएर ल्याउनुपर्दोरहेछ ।

श्री ३ हरूको कमाउने काइदा
राणाका श्री ३ हरूले पैसा कमाउने अनेक उपाय खोज्थे । टकमारी गर्ने अर्थात् सिक्का बनाउने कामबाट उनीहरू धन कमाउँथे । खासगरी चन्द्रशमशेरको पालादेखि त्यस्तो कमाउने काइदा शुरू भएको मानिन्छ ।

उनीहरू भारतबाट चाँदी ल्याएर एक रुपैयाँको डबल, ५० पैसाको मोहर बनाएर नाफा कमाउँथे । चाँदी सस्तोमा पाइन्थ्यो । तोलाको एक रुपैयाँ पनि नपर्ने, ७०÷७५ पैसामै पाइने । डबल र मोहर बनाउँदा तोलाको २५/३० पैसा नाफा हुने भएकाले कमाउने काइदा खूब जमेको थियो ।

नोटकै अर्को रमाइलो कथा छ । तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले सगरमाथा आरोहणको प्रयास गर्दा साढे ६ दशकअघिको समयमा आरोहणमा जानेहरूले धातु मुद्रा नै लैजानुपथ्र्यो । हिमाली भेगका बासिन्दाहरूले कामको ज्याला र सामान बिक्रीबापत कागजी नोट लिंदैनथे । त्यसैले अरू सरसामान बोक्न जस्तै डबल र मोहरका सिक्का बोक्न पनि भरिया लैजानुपथ्र्यो । कस्तो जमाना थियो !

प्रतिकृया दिनुहोस