टिप्पणीमंगलवार, पौष १७, २०७५

‘रैबारे मरिगया पन, रैबार नमरिजाओस’

हिमालखबर

अतिरञ्जित र झूटो समाचारले सञ्चारमाध्यममाथिको विश्वसनीयता मात्रै गुम्दै छैन, समाजलाई नै अराजकतातर्फ धकेल्ने खतरा समेत देखिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सूचना वा सन्देशलाई रैबार र त्यस्तो सूचना ल्याउने मान्छेलाई रैबारे भनिन्छ । सूचनाको महत्व स्थापित गर्ने त्यहाँ प्रचलित एउटा वाक्यांश ‘रैबारे मरिगया पन, रैबार नमरिजाओस’ को अर्थ हो– सन्देशवाहकको मृत्यु भइहाले पनि सन्देश नमरोस् ! यो वाक्यांशले समाचार सत्य नै हुन्छ भन्ने ठान्छ ।

हिजो मानिस आफैं सन्देशवाहक हुन्थ्योे । अहिले हामी सञ्चारको उच्चतम विकासको अवस्थामा आइपुगेका छौं । योसँगै सञ्चारमाध्यमका लागि सत्य सूचना सम्प्रेषण गर्ने चुनौती थपिएको छ । पछिल्लो समय सूचना प्रवाहमा व्यापकता आएसँगै स्वार्थपूर्ण र गलत समाचार (फेक न्यूज) को प्रवाह पनि बढेको छ ।

स्वार्थअनुकूल कुनै पनि घटनाको आधा पाटोलाई प्रवर्द्धन गर्ने र अर्काे पाटोलाई मार्ने प्रवृत्ति बढेको छ । डिजिटल मिडियाको बाढीसँगै सूचना एकपक्षीय, संशोधित र निर्देशित हुन्छन् भन्ने भावना आम पाठकमा पर्न थालेको छ । सञ्चारमाध्यमका खबरमाथि नागरिक विश्वासमा शंका आउनु लोकतन्त्रका लागि राम्रो संकेत होइन ।

एउटा दृष्टान्तः कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, यस्तो संवेदनशील विषयमा समेत अधिकांश समाचार अनुमान र हचुवाका भरमा आए । यो प्रकरणमा आएका कतिपय समाचारमा हुँदै नभएको डान्सबार खडा गरियो, नब्याएको भैंसी ब्यायो भनियो, बम दिदीबहिनीलाई अपराधीकै शैलीमा अगाडि सारियो ।

यीमध्ये कतिपय सूचना प्रहरी अनुसन्धानको लापरबाहीबाट सिर्जित वा चुहिएका थिए । तर, यहाँनेर प्रश्न उठ्छ– आधुनिक सञ्चारकर्मी र सञ्चारगृहहरू सूचनाको विश्वसनीयतामाथि जाँच गर्नबाट किन चुके ?

चियापसलमा सुनिएकादेखि विभिन्न आग्रह–पूर्वाग्रहबाट सिर्जित हल्लाका आधारमा समाचार तयार पारियो । तथ्यलाई बेवास्ता गरी कसैलाई दोषी वा निर्दाेष देखाउने आग्रह राखेर बनाइएका समाचारले केहीबेरका लागि स्वार्थ त पूरा होला तर यसले समग्र मिडियाजगतकै बदनामी गराउँछ ।

समाचारले आफ्नो मुख्य चरित्र यथार्थ र विश्वसनीयता गुमाउँदा त्यसको दूरगामी प्रभाव समाजले भोग्नुपर्छ । यस्ता समाचारले एकातिर मुख्य अपराधीलाई जोगाउँछ भने अर्कोतिर निरपराधलाई भीडले मार्ने (मब लिञ्चिङ) सम्मको अवस्था आउन सक्छ ।

अर्काे एउटा दृष्टान्तः गएको मंसीरमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकूको टोलीले झूटो समाचार लेखेको भन्दै एउटा अनलाइन पत्रिकाका सम्पादकलाई पक्राउ गर्‍यो ।

‘चितवनको कृष्ण चोकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि खुकुरी प्रहार भएको’ भन्ने झूटो समाचार प्रकाशन गरेको आरोपमा ती सम्पादक पक्राउ परेका थिए । तर, त्यही झूटो समाचार धेरै पढिएको समाचारको सूचीमा परेको रहेछ । यसको अर्थ धेरै पाठकले झूटो खबर पढेछन् । जब यस्ता खबरका आधारमा आम धारणा बन्छ, तब झन् ठूलो समस्या आउँछ ।

धेरै पढिएका समाचारमै परेको थियो– ‘राष्ट्रपतिलाई रु.१८ करोडको महँगो गाडी ।’ यस्तै आशयका हेडलाइनमा मूलधारका धेरै सञ्चारमाध्यमले समेत समाचार बनाए । समाचारमा आएका आम प्रतिक्रिया स्वाभाविक रूपमा नकारात्मक थिए । तर के यथार्थ, समाचारमा आए जस्तै थियो त ?

सरकारले पछि स्पष्ट पार्‍यो, भीभीआईपी सुरक्षा कार्यक्रम अन्तर्गत खरीद गर्न लागिएका ती गाडी खरीदको प्रक्रिया अघिल्लो सरकारकै पालामा शुरू भएको रहेछ । महत्वपूर्ण विदेशी अतिथिका लागि समेत उपयोग हुने त्यस्ता गाडी नहुँदा गएको भदौमा काठमाडौंमा भएको बिमस्टेक सम्मेलनमा आएका अतिथिका लागि भारतबाट भाडामा गाडी ल्याउनु परेको थियो ।

खरीद गर्ने भनिएको कारगेडमा अतिथि चढ्ने सुविधासम्पन्न गाडीदेखि सुरक्षा निकायका लागि आवश्यक मोटरसाइकलसम्म पर्दोरहेछ । खबरको वास्तविक पक्ष छोपिंदा राष्ट्रपतिको व्यक्तिगत जीवनमाथि नै अनेक आक्षेप लगाइयो ।

यसरी सिंगो मिडियाजगतमाथि अविश्वास पैदा हुने गरी समाचार आउनुका केही संरचनागत कारण छन् । तीमध्येको एक कारण हो, मिडियामाथि लगानीकर्ताको अति नियन्त्रण । मिडियाबाट पैसा कमाउन चाहने लगानीकर्ताले त्यसमा लोककल्याणको दायित्व पनि हुन्छ भन्ने बिर्सिदिन्छन् ।

अरू उद्योग व्यवसाय पनि गरिरहेका लगानीकर्ताले ती उद्योग व्यवसायको सफलताका लागि मिडियाको उपयोग गर्न थाल्छन् र समाचारमा विचलन आउँछ । त्यस्तै समाज वा मुलुकमा आफू अनुकूलको मनोविज्ञान तयार पार्न शक्तिशालीहरूले मिडियाको गलत उपयोग गर्छन् ।

पैसाको आकर्षणमा मिडिया उनीहरूको हतियार बनिदिन्छ । केही डिजिटल मिडियाहरूमा पाठकको संख्या बढाउन पनि घटनालाई अतिरञ्जित गर्ने र नकारात्मक समाचार बढी फैलाउने मानसिकता छ ।

सञ्चारमाध्यमको विश्वसनीयतामा प्रश्न उठेपछि, समाचारमा आएका कुरा जनताले पत्याउन छोडेपछिको समाज कस्तो होला ? सरकार, विभिन्न निकाय र राज्यकै खबरदारी गर्ने मिडियाको शक्ति सकिएपछिको लोकतन्त्र कस्तो होला ? बेलैमा सोचौं ।

प्रतिकृया दिनुहोस