रिपोर्टमंगलबार, १७ पौष , २०७५

कृषिले चिनाएको गाउँ

मुकेश पोखरेल

चितवनको पिप्लेका बासिन्दाले शुरू गरेको तरकारी खेती र पशुपालनले गाउँलाई नै नमूना बनाएको छ ।

चितवनको राप्ती नपा–१ पिप्लेको सिमराकी सञ्जु दर्लाकोटी सिमिमा भिटामिन छर्किंदै । तस्वीरहरुः मुकेश पोखरेल

राप्ती नगरपालिका–१ पिप्ले, चितवनका मोङसिंह तामाङले दुई वर्षअघि ४५ कट्ठा जग्गा बिक्री गरे । नयाँ जग्गाधनीले उनले बिक्री गरेको मध्ये २२ कट्ठा प्लटिङ गरेर बेच्न सडक खोले । तर, स्थानीय बासिन्दाले जग्गा प्लटिङ गर्न रोक लगाए ।

तीन वर्षअघि पिप्लेकै धनबहादुर थपलियाको १८ कट्ठा जग्गा काठमाडौंका जग्गा व्यापारीहरूले किने । जग्गा प्लटिङ गर्न गिट्टी–बालुवा झारेपछि स्थानीयले त्यसमा पनि अवरोध गरे । बैना वापतको रकम धनबहादुरले फिर्ता गर्नुपर्‍यो । खेतीयोग्य जग्गा जोगाउने पिप्लेवासीको सामूहिक भावनाले यस्तो प्रभाव परेको हो । स्थानीय डण्डराज पाण्डे भन्छन्, “कानूनतः कसैको निजी सम्पत्तिमा दक्खल दिन त मिल्दैन । तर, हामी गाउँलेबीच खेतीयोग्य जग्गा प्लटिङ गरेर बिक्री गर्न नपाइने समझदारी छ ।”

खेती र घरघडेरीका लागि पिप्लेमा जग्गाको वर्गीकरण गरिएको छ । बाटोछेउको जग्गामा बाहेक घर बनाउन पाइँदैन । उब्जनी हुने जग्गा मासेर प्लटिङ गर्दा वा कलकारखाना खोल्दा परनिर्भरता बढ्ने भन्दै पिप्लेवासीहरूले कृषिलाई बढावा दिएका छन् ।

कृषिबाट नमूना गाउँ
१० वर्षयता पिप्लेका बासिन्दा तरकारी खेती र पशुपालनमा लागेपछि आयआर्जनबाट गाउँको परिचय नै फेरिएको छ । कृषिले यो गाउँ नमूना बनेको छ ।

१० वर्षअघिसम्म डण्डराज पाण्डे गोरखा र धादिङबाट सुन्तला खरीद गरेर काठमाडौंको कालीमाटी पुर्‍याउँथे । त्यसकै सीमित आम्दानीले उनको परिवार जेनतेन पालिएको थियो । आफ्नै खेतमा तरकारी लगाउन थालेपछि दुई–चार पैसा कमाउन कतै भौंतारिनु नपरेको पाण्डे बताउँछन् ।

पिप्लेमा रहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थामा दूधको भुक्तानी लिंदै किसान ।

अहिले उनको चार कट्ठा खेतमा घिउसिमी छन् । खेतीसँगै उनले पशुपालन पनि गरेका छन् । दैनिक १५ लिटर दूध बिक्री गरिरहेका उनी भन्छन्, “तरकारी र दूध बिक्रीबाट वार्षिक ६ लाखभन्दा बढी कमाइ हुन्छ । तरकारी खेती गर्न थालेपछि ६ कट्ठा जग्गा जोडें ।”

२०५० सालमा परिवारबाट भागबण्डा हुँदा मोतीबहादुर रिजालको भागमा ८ कट्ठा खेत पर्‍यो । दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका उनले २०५३ सालमा पहिलो पटक खेतमा बन्दा लगाए । बन्दाबाट एक लाख मुनाफा कमाएका उनले मजदूरी छाडेर कृषिमै केन्द्रित हुने सोच बनाए ।

छिमेकीको ९ कट्ठा जग्गा समेत भाडामा लिएर अर्को वर्षदेखि तरकारी खेती गरे । रिजाल भन्छन्, “तरकारी खेती शुरू गरेको १० वर्षमै १६ कट्ठा जग्गा जोडें । कृषि कर्ममै मन रमाएको छ ।”

उनले अहिले भाडामा लिएको ३४ कट्ठा खेतसहित तीन बिघामा राजमा, केराउ, आलु, घिउसिमीलगायत तरकारी लगाएका छन् । पिप्ले सिमराकी रमा दर्लाकोटीले पनि १० कट्ठा खेतमा घिउसिमी लगाएकी छन् । घिउसिमीबाट एक सिजनमा रु.४ लाख कमाइ हुने उनी बताउँछिन् । परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अनुसार, पिप्लेका ३५०० परिवारमध्ये करीब दुई हजार घरपरिवार पशुपालन र तरकारी खेतीमा लागेका छन् ।

पिप्लेलाई नमूना गाउँ बनाउनमा यहाँका सामाजिक अगुवाको समेत भूमिका छ । तीमध्येका एक हुन्, नवराज पन्त । दक्षिण कोरियामा २५ वर्ष बसेका उनले त्यहाँको विकासको मोडललाई पिप्लेमा अभ्यास गराएका हुन् । उनले शुरूमा कोरियाबाटै तरकारीको बीउ ल्याएर गाउँमा निःशुल्क वितरण गरेका थिए ।

परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर ओली भन्छन्, “शुरूमा किसानलाई जागरुक गराउन पन्त सरको महत्वपूर्ण भूमिका छ, पछि किसान आफैं कुरा बुझेर कृषि कर्ममा जुटे ।” सेमाउल कृषि सहकारी स्थापनाको जस पनि स्थानीयवासीहरू पन्तलाई नै दिन्छन् । कोरियाको विकासबाट प्रभावित भएर आफू जन्मेको गाउँमा लागू गर्ने प्रयास गरेको पन्त बताउँछन् ।

सहकारीले सम्पन्नता
कृषि र पशुपालनमा पिप्लेवासीले फड्को मार्नुमा सहकारीको भूमिका धेरै छ । चितवनको सबैभन्दा बढी दूध उत्पादन क्षेत्रका रूपमा चिनिन्थ्यो, गीतानगर । तर, गीतानगरलाई समेत पिप्लेले उछिनेको छ । पिप्लेमा रहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाले अहिले दैनिक ८ हजार लीटर दूध संकलन गरेर बिक्री गर्छ । सहकारीका अनुसार, गएको वर्ष दूध बिक्रीबाट किसानलाई रु.१४ करोड भुक्तानी गरिएको थियो ।

पिप्लेको सिमरा गाउँ ।

पिप्लेकै सेमाउल कृषि सहकारीकी अध्यक्ष शारदा ओलीका अनुसार, पिप्लेबाट वार्षिक रु.१० करोडभन्दा बढीको तरकारी काठमाडौं जान्छ । सहकारीले कृषिका लागि रु.५० हजारसम्म ऋण दिने र यस्तो ऋण ३०० किसानलाई उपलब्ध गराएको उनी बताउँछिन् । कृषिबाट स्थानीयको आर्थिक अवस्था सबल बन्दै गएको छ । गाउँमा खरको छाना विस्थापित भएका छन् भने ट्याक्टर किन्नेहरूको संख्या पनि बढ्दो छ । १० वर्षअघिसम्म तीन वटा मात्र रहेको ट्याक्टर अहिले पिप्लेमा ११५ परिवारसँग छ ।

स्थानीय रामजी कँडेल गाउँमा आयआर्जन बढेर आर्थिक क्रियाकलाप विस्तार भएसँगै सहकारी संस्थाको संख्या पनि बढेको बताउँछन् । उनका अनुसार, पिप्लेमा अहिले कृषि सहकारी दुई, दुग्ध सहकारी एक, बचत तथा ऋण सहकारी ६ गरी ९ वटा सहकारी छन् । “यहाँ कोही मान्छे फुर्सदिला छैनन्, सबैले कुनै न कुनै इलम गरेकै छन्”, कँडेल भन्छन् ।

सहकारीले सहुलियत ब्याजमा दिने ऋण, अनुदानमा उपलब्ध गराउने दाना तथा घाँसको बीउले पनि पशुपालन व्यवसाय फस्टाएको स्थानीय किसानको अनुभव छ । त्यस्तै, कृषिसम्बन्धी सहकारीले किसानलाई सहुलियतमा मल र बीउ उपलब्ध गराउँछन् ।

सहकारीले अनुदानमा बीउबिजन र मल उपलब्ध गराउने मात्र होइन, पशु किन्न नगद जुटाउनुपर्ने किसानको झञ्झट पनि दूर गरेको छ । डण्डराज पाण्डेले यस वर्ष रु.१ लाखमा एउटा गाई किने । सहकारीमार्फत नै रकमको भुक्तानी भयो । सहकारीलाई उनले बिक्री गर्ने दूधबाट उक्त रकम कटौती हुँदै जान्छ । पाण्डे भन्छन्, “एक वर्ष दूध बेच्दा पैसा चुक्ता हुन्छ, सहकारीले दिने अनुदानले सजिलो बनाएको छ ।”

परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाले गाउँमा पशु बीमा कार्यक्रम सञ्चालन गरेको छ । अहिलेसम्म एक हजार गाई–भैंसीको बीमा गरिएको छ । रु.५० हजारको बीमा गर्न किसानले वार्षिक रु.६ हजार तिर्नुपर्छ । सहकारीले यस वर्ष आफू जमानी बसेर लक्ष्मी ब्याङ्कबाट रु.८० लाख ऋण लिई ७ प्रतिशत सहुलियत ब्याजदरमा ३२ जना किसानलाई वितरण गरेको छ ।

घाँसखेती गर्न पनि ५० प्रतिशत अनुदान दिने यो सहकारीले यस वर्ष ३२ क्वीन्टल जई घाँसको बीउ अनुदानमा वितरण गरेको अध्यक्ष परमेश्वर ओली बताउँछन् । “शहरको पैसा गाउँ ल्याउने माध्यम दूध रहेछ, त्यसैले पशुपालनमा जोड दिएका हौं”, ओली भन्छन् ।

प्रतिकृया दिनुहोस