ब्लगमंगलबार, १७ पौष , २०७५

दिव्यन्द्र विक्रम शाह परिहार

कनकमणि दीक्षित

एक अनुसन्धानकर्ताले बिर्सिएका जुझारु राजनीतिज्ञ, पत्रकार र फिल्मकर्मी हाम्रोसामु ल्याइदिएका छन्।

धेरै वर्षअघि, पञ्चायतकालमै, मैले मदन पुरस्कार पुस्तकालयको थोरै पुस्तक रहेका अंग्रेजी खण्डमा ‘नेपाल टुडे’ नाम गरेको राजनीतिक बुलेटिनको संग्रह भेटें। यो प्रवासमा रहेको नेपाली कांग्रेसको मुखपत्र रहेछ, नेपालका गतिविधिबारे खबर र टिप्पणी बोक्ने।

उतिबेलै लागेको थियो, कति सशक्त अंग्रेजी रहेछ, सम्पादकको। को, के, कसो सोधिएन; तर अहिले आएर ‘नेपाल टुडे’ को अंग्रेजीबाज को हुन्, पत्ता लागेजस्तो भएको छ।

अन्वेषक शंकर तिवारीले नयाँदिल्लीस्थित नेहरू मेमोरियल संग्रहालयमा नेपाली कांग्रेस समर्थक बंगाली बौद्धिक र पत्रकार तथा बीपी कोइरालाका मित्र भोला च्याटर्जीको कागजात खोतल्दैथिए। खातमध्ये उनले एउटा ६० पानाको ‘लङ्गह्याण्ड’ अंग्रेजीमा च्याटर्जीलाई सम्बोधन गरेको पत्र जब फेला पारे, तिवारीको चासो एक्कासी बढ्यो। यो नेपाली कांग्रेस तथा नेपाली लोकतन्त्रको इतिहासमै लगभग विस्मृतिमा गएका एक पात्रको लिखत रहेछ।

४ अप्रिल १९८६ मा दुई महीना लगाएर तयार पारिएको यो पत्र नेपाली कांग्रेसका संस्थापक नेता डीबी परिहारको संस्मरण र जीवनीको रूपमा छ। विनाकेरकार सरसर्ती लेखिएको यो लिखतको अंग्रेजी प्रयोग उच्चतम छ।

पत्र पढ्दै जाँदा थाहा पाइन्छ कि नेपाली र अंग्रेजीमा राम्रो पकड हुँदाहुँदै ‘दलित’ पृष्ठभूमिको भएकोले डीबी परिहारलाई सम्पादकै भनिहाल्न केही कांग्रेसी अग्रजहरू तयार भएनन्। यही कारण नेपालीमा निस्कने ‘नेपाल पुकार’ को सम्पादक हुनबाट उनी वञ्चित भए। र, ‘नेपाल टुडे’ को वास्तविक सम्पादक पनि उनी रहेछन्, तर ‘जातिवादी सोचका कारण’, उनी लेख्दछन्, ‘अंग्रेजीमा एक वाक्य ठीक लेख्न नसक्ने डी.के. शाहीलाई सम्पादक भनेर राखियो।’

परिहारको पत्र तथा शंकर तिवारीको टिप्पणी रहेको ‘फ्रम इंडियाज् फ्रिडम टू नेपालस् डेमोक्रेसी’ नामक पुस्तकमा भारतको स्वतन्त्रता संग्रामको बेला नेपालीभाषीको योगदान र यिनले झेलेका खतरा तथा परिहारको आफ्नै ‘ऐतिहासिक’ अनुभवहरू समेटिएका छन्।

तिवारीले यो दस्तावेज फेला पार्नु आफैंमा ठूलो उपलब्धि हो, जसले ऐतिहासिक सामग्री, संग्रहकर्ता तथा संग्रहालयको महत्व दर्शाउँछ। अब अन्य अनुसन्धानकर्ताले यो दस्तावेजको आधारमा अझै गहिरो खोतल्नुपर्दछ।

परिहारको युवाकालका संस्मरण उमेर पुगिसक्दा लेखिएका छन्, र कति घटना त पत्याउन गाह्रै पर्ने पनि छन्। तर, फेरि उनले घटनाक्रमसँग सम्बन्धित भूगोल, मिति तथा सहयात्रीको नाम नबिर्सी राखेका पनि छन्।

परिहार राजनीतिक जुझारु मात्र थिएनन्, पहिलो नेपाली चलचित्र ‘राजा हरिश्चन्द्र’ को निर्देशक, पटकथा र डायलग लेखक अनि एक अभिनेतासमेत थिए। उनले भारतका सिने संसार सम्बन्धित अनेकन् लेख रचे भने उनका आधा दर्जनभन्दा बढी उपन्यास र पटकथा अप्रकाशित छन्।

पुस्तकमा प्रष्ट्याइएको छैन, तर आफूलाई कहिले देवव्रत परिहार लेख्ने त कहिले दिव्यन्द्र विक्रम शाह परिहार भनी चिनाउने डीबी परिहार ‘दमाई’ समुदायका रहेको र ‘परियार’ बाट ‘परिहार’ चिनारी बदलिएको अनुमान थियो।

तर, उनी भन्छन्- परिहार खलक सन् १२०० तिर राजस्थानमा मुगलको राप छल्न तितरवितर भएकामध्ये उनका पूर्वज कर्णाली क्षेत्र भित्रिए। र, पृथ्वीनारायण शाहको फौजमा महत्वपूर्ण योगदान पुर्‍याए, जंगबहादुरसँग लखनौंको चढाइमा भाग लिए र यस्तै सन् १८५४ को नेपाल-तिब्बत युद्धमा पनि। फेरि परिहार लेख्छन्, उनका जिजुबाजे मेजर भुवन विक्रम शाह परिहारले अवधकी वेगम हजरत महललाई नेपाल छिर्न मद्दत गरेका थिए।

डीबी फेरि लेख्दछन् कि चन्द्रशमशेरको बेलामा उनका हजुरबुवा पुरन्दर विक्रम शाह परिहारलाई भारतमा रहेका बेलायती शासकको विरोध गरेकोले पूरै खलकसहित दार्जीलिङ निर्वासनमा जानु पर्‍यो। कुनै समय यो परिवार ‘दलित’ मा परिणत भयो, यो पनि किताबमा छ। उनको आफ्नो जन्मचाहिँ काठमाडौंको वसन्तपुरमा १ मे १९३३ मा भयो, बुवा थिए धनप्रताप विक्रम परिहार, आमा मनमाया परिहार।

ठाउँ-ठाउँमा भारतको स्वतन्त्रता संग्रामका पात्र तथा खलनायक समेतसँग भेट र जम्काभेट हुन्छ परिहारको। शुरुमै रोचक प्रसंग छ, जब ठिटो डीबी कालिङपोङमा नजरबन्दमा राखिएका सुभाषचन्द्र वोसलाई पाउरोटी पुर्‍याउने निहुँमा उनको निवास आउने जाने गर्छन् र स्वतन्त्रता योद्धाहरूको सन्देश पुर्‍याउँछन्। भारतको बँटवाराको बेला उनले कलकत्ताको भीषण दंगामाझ नेपाली तथा मुसलमानको सुरक्षामा योगदान गरेकोमा महात्मा गान्धीले उनलाई स्याबासी दिएका थिए, उनी लेख्छन्।

कलकत्ताकै दंगाको बेला बंगालका मुख्यमन्त्री एच्.एस्. सुहरावर्दीले ब्रिटिश शासकले जनतालाई दमन गर्न गोरखा सिपाही प्रयोग गरेको र नेपाली युवाले मुसलमान मारेको भन्दै प्रचार गरे। यसले नेपाली मोहल्लामा सन्त्रास छायो, र फेरि पनि डीबी प्रतिरक्षामा उत्रनुपर्‍यो।

नेपालको प्रजातान्त्रिक अभियानमा परिहारलाई कांग्रेसी नेताहरूले पर्चा बाँड्न काठमाडौं पठाए। दुइटा पिस्तोल र बिटा-बिटा राणाविरोधी पर्चा बोकेर उनी वीरगञ्ज पुगेर अमलेखगञ्जको रेल समात्छन्, अनि पैदल चिसापानीगढी हुँदै ‘नेपाल खाल्डो’ झर्छन्। यात्रामा आउँदा जाँदा ‘राहदानी’ प्रयोगको प्रसङ्गले उसबेलाको राज्यको चरित्र दर्शाउँछ।

उपत्यका आएर राणाविरोधी जुझारुहरू भेट्छन्, डीबी र भोलिपल्टै उनले बोकेका पर्चा टोलटोलका भित्तामा देखिन्छन् र उनको खोजी तीव्र हुन्छ। मोहनशमशेरको विशालनगर दरबारको गेट बाहिर उनी टहल्छन्, पिस्तोलले प्रधानमन्त्रीको हत्या गरी देशभरि क्रान्ति सल्काउन सकिन्छ कि भनी- तर मोटर गाडीमा पर्दा राखिँदोरहेछ र योजना अगाडि बढ्दैन।

यो प्रसङ्ग थियो मार्च १९४७ को, र यस्तै रोचक कुराले यो सानो पुस्तक भरिपूर्ण छ, जसले अनुसन्धानकर्तालाई ‘क्रस-चेक’ गर्न तथा थप जान्न प्रेरित गर्छ। तर, सन् १९८६ मा आइसक्दा डीबी परिहारलाई ‘इतिहास’ ले पछाडि पारिसकेको हुन्छ। उनी अब ‘सर्भाइभल’ को खोजीमा छन्। ६० पानाको आफ्नो संस्मरण अकस्मात् र मार्मिक तरिकाले टुंगिन्छ, भोला च्याटर्जीलाई यसरी सम्बोधन गर्दै-

यो सब गन्थनको उद्देश्य चाहिं तपाईंले मलाई यो निरन्तर ‘फ्रस्ट्रेशन्’ को दलदलबाट मुक्ति दिलाइदिनुस् भन्ने हो। या त काम खोजिदिनुस् प्रुफरिडरको या पूर्वोत्तर भारतका नेपालीभाषीको संवाददाताको। १२०० देखि १४०० रुपियाँको तलब भए मेरो, मेरी श्रीमती र चार बालबच्चाको हातमुख जोर्न पुग्छ। रातिको ड्यूटी भए दिनमा आफ्नो अनुसन्धान जारी राख्नेथिएँ।
आशावादी रही, धन्यवाद सहित,

प्रतिकृया दिनुहोस