टिप्पणीसोमवार, पौष १६, २०७५

बीपीको मेलमिलापः साहस कि पलायन ?

सन्दर्भः पुस–१६

विष्णु रिजाल

बीपी थाकेर फर्के पनि, अपमानित भएर फर्के पनि त्यो नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि फाइदाको कुरा थियो। तर, यही कारण राजतन्त्रप्रति उनको धारणामा आएको परिवर्तन चाहिं स्वाभाविक लाग्दैन।

नेपालको प्रजातान्त्रिक आन्दोलनका पर्यायका रूपमा रहेका विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वासन त्यागेर स्वदेश फर्किएको दिन (१६ पुस, २०३३) लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । अदालतमा आफूमाथि मुद्दा चलिरहेको, पञ्चहरूले षड्यन्त्रका तानाबानाहरू बुनिरहेको र प्रजातन्त्र दिन राजा तयार नरहेको थाहा पाउँदापाउँदै पनि आठ वर्ष लामो निर्वासन त्यागेर बीपी कोइराला नेपाल किन फर्किए ? यसबारे अध्ययनका लागि सबै पाटा अझ्ै सकिएका छैनन् ।

नेपालको सन्दर्भमा राजाले राष्ट्रियताको हित गर्छन् र राष्ट्रियता खतरामा परेका बेला राजालाई सघाउनुपर्छ भन्ने मान्यतामा पुगेपछि बीपी स्वदेश फर्किएको विश्लेषण अधिक पाइन्छ । त्यसो भए, के बीपी ८ वर्षसम्म भारतमा बस्नु राष्ट्रियता विरुद्धको काम थियो ? वा उनी स्वेच्छाले भारत निर्वासनमा रहेका थिए ? राजालाई राष्ट्रियता प्रवद्र्धकको पगरी गुताउनुअघि हामीले यी प्रश्नहरूको उत्तर खोज्नुपर्छ ।

बीपीः २०३३ साल अघिका र पछिका

बीपी कोइरालाको व्यक्तित्वलाई मोटामोटी दुई भागमा बाँड्न सकिन्छ– २०३३ साल अघिका बीपी र त्यसपछिका बीपी । २०३३ सालअघिका बीपी कोइराला क्रान्तिकारी, संघर्षशील र राजनीतिमा हिंसाको प्रयोग अनुचित हुँदैन भन्ने मान्यता भएका नेताका रूपमा देखिन्छन् । २०१८ सालको असफल सशस्त्र संघर्षबाट उनी थाकेको देखिंदैन र सशस्त्र संघर्षबाटै नेपालमा राजतन्त्रलाई परास्त गर्न सकिन्छ भन्ने मान्यताबाट परिचालित भई बर्माबाट हतियार संकलन गर्नेदेखि युरोप पुगेर हतियारका लागि सहयोग माग्ने उत्साह उनमा देखिन्छ । आफूलाई गान्धीवादी भनेर प्रश्न गरिंदा १६ चैत, २०२५ को समीक्षा साप्ताहिकमा बीपीको उत्तर छ– ‘मलाई गान्धीवादी कसले भन्यो ? क्रान्ति हिंसात्मक र अहिंसात्मक दुवै हिसावबाट सम्पादित हुन सक्छन् । अहिंसात्मक क्रान्तिको यावत् द्वार अवरुद्ध भएको खण्डमा हिंसात्मक क्रान्तिको सम्भावना रहन्छ ।’

नेपाल फर्किनुअघिसम्म उनको यो धारणा कायमै थियो । ३ असोज २०२८ मा ‘द इन्डियन एक्सप्रेस’ लाई दिएको अन्तर्वार्तामा त बीपीले ‘मलाई पूर्ण विश्वास छ, सशस्त्र क्रान्तिबाट एक–दुई वर्षभित्रै सरकार स्थापना गर्न समर्थ हुनेछु’ समेत भनेका छन् । क्रान्तिमा हिंसाको स्थानबारे त्यसै अन्तर्वार्तामा उनले भनेका छन्, ‘जहाँ नैतिक मर्यादाको पालना गरिन्छ, त्यहाँ मात्र अहिंसात्मक क्रान्ति सम्भव हुन्छ । तसर्थ, अहिंसात्मक आन्दोलन नेपालमा सम्भव छैन । नेपाली जनता आफ्ना अधिकार लिनका लािग अहिंसात्मक संघर्षमा उत्रिन्छन् भने उनीहरू निर्ममतापूर्वक दबाइन्छन् ।’

त्यसबेलासम्म राजनीतिमा हिंसाको निरपेक्ष विरोध वा समर्थनमा बीपी रहेको नदेखिए पनि बढी जोड सशस्त्र संघर्षमै छ । बीपीले राजालाई यतिसम्म भनेका छन्, ‘शान्तिपूर्ण प्रक्रियाबाट परिवर्तन भयो भने राजालाई कुनै खतरा छैन तर सशस्त्र प्रक्रियाबाट परिवर्तन भयो भने त्यसको असर राजालाई पर्दछ ।’ अर्थात् सशस्त्र संघर्षले राजतन्त्र निर्मूल गर्छ भन्ने बीपीको विश्लेषण राजालाई धम्क्याउनका लागि मात्र नभएर यथार्थ थियो भन्ने कुरा राजतन्त्रले बुझन सकेन ।

२०३३ सालपछिका बीपीमा भने आमूल परिवर्तन देखिन्छ । ‘राष्ट्रियताका मामिलामा राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने उनको चेतना कुनै खास घटना विशेषले निर्माण गरेको थियो वा जीवनको उत्तराद्र्धमा पुग्दै गर्दाको थकानले उब्जाएको थियो ? आफू जेलमा छँदा सुवर्णशमशेरले राजासँग मिलेर जाने भन्दै ‘मौसूफबाट प्रजातन्त्र बक्सने’ आशासहितको वक्तव्य जारी गर्दा त्यसको कडा विरोधमा उत्रिएका बीपी पछि त्यही लाइनमा कसरी पुगे ? राजाले शान्तिपूर्ण तरिकाबाट प्रजातन्त्र दिन्छन् भन्ने आशा उनलाई कुन घटना र सन्दर्भले दिलायो होला ?

यसबारे बीपी आफैंले विस्तारमा उल्लेख पनि गरेको पाइन्छ । खासगरी, भारतले सिक्किम निलेपछि त्यसले उनको मनोविज्ञानमा नराम्रो असर पारेको देखिन्छ । भारतकै अग्रसरतामा सन् १९७१ मा पाकिस्तानबाट पूर्वी पाकिस्तानलाई टुक्र्याएर बाङ्लादेश बनाइएपछि भारतभित्रै ‘दुर्गा’ का रूपमा बढाइचढाइँ गरिएकी इन्दिरा गान्धीको रबैयाले बीपीलाई स्वदेश फर्किन सबैभन्दा बढी प्रेरित गरेको देखिन्छ । पिता जवाहरलाल नेहरूका मित्र बीपीसँग इन्दिराले गरेको उपेक्षापूर्ण व्यवहारले पनि उनी स्वदेश फर्किने वातावरण बनायो । नत्रभने, बीपीमा हिन्दुस्तानप्रति अत्यधिक विश्वास पाइन्छ ।

२०३३ सालअघिका उनका अन्तर्वार्ता, लेख–रचना र भाषणहरू हेर्दा बीपीले राजामाथि लगाएको एउटा मुख्य आरोप नै चीनतिर ढल्किए अर्थात् भारतलाई महŒव दिएनन् भन्ने छ । ६२ वर्षको उमेरमा बीपी आफैंले गरेको हिसाब अनुसार ३८ वर्ष त भारतमै बिताएका थिए । भारतप्रति यति ठूलो भरोसा राख्ने बीपीलाई आखिर भारतप्रति किन विश्वास भएन र विमानस्थलबाट सोझ्ै जेल लगिन्छु भन्ने थाहा हुँदाहुँदै उनी नेपाल फर्किए ?

बीपीमाथि अदालतमा मुद्दा थिए, मृत्युदण्डको फैसला हुन सक्थ्यो । उनको स्वास्थ्य कमजोर थियो । यस्तो जोखिम मोलेर बीपीले राजाप्रति विश्वास गर्नुका पछाडि भारतले सहयोग नगर्नु नै कारण देखिन्छ । हुँदाहुँदा बीपी कोइराला पछि त यति निरीह देखिन्छन्, कांग्रेसको सशस्त्र क्रान्तिका योद्धा क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिंदा पनि विरोध गर्न सकेनन् ।

भारतका कारण नेपालको राष्ट्रियता खतरामा पर्न थालेको भन्दै नेपाल फर्किने निर्णय गरेको बताए पनि बीपी कोइरालाको स्वदेश फिर्तीका पछाडि भारतकै सहयोगी हात रहेको तथ्य भेटिन्छ । नेपाल फर्किनासाथ बीपीमाथिका सबै मुद्दाहरू एकाएक सकारात्मक रूपमा सल्टिनु, उपचारका लागि राज्यका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराइनु र २०३६ सालमा शान्तिपूर्ण समाधानका लागि जनमतसंग्रहमा जान राजा मञ्जुर हुनुपछाडि भारत र राजा वीरेन्द्रबीचको सहमतिले काम गरेको छैन भन्न सकिन्न ।

त्यतिबेलाका नेपालस्थित भारतीय राजदूत महाराजकृष्ण रसगोत्राले आफ्नो पुस्तक अ लाइफ इन डिप्लोम्यासी मा यस कुराको खुलासा गरेका छन् । उनका अनुुसार, भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले बीपीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउने जिम्मेवारी रसगोत्रालाई दिएकी थिइन् । सोही अनुसार उनले राजा वीरेन्द्रलाई बीपी स्वदेश फर्किंदा राजालाई हुने फाइदाका बारेमा व्याख्या गरेका थिए । ‘यस कदमले मौसूफको प्रजातान्त्रिक र सहिष्णु व्यक्तित्व उजागर हुने’ र ‘भारतको सहयोग रहने’ मा रसगोत्राले आश्वस्त पारेपछि राजा बीपीलाई नेपाल फर्काउन सहमत भएको र सोही अनुसार बाँकी कामहरू अघि बढेको खुलासा रसगोत्राले गरेका छन् ।

यसबाट के देखिन्छ भने एकातिर आफ्ना लागि भार महसूस गरेर इन्दिराले बीपीलाई स्वदेश फर्काउन राजालाई मनाएकी थिइन् भने अर्कातिर कृष्णप्रसाद भट्टराईलगायतका आफ्नै सहयोद्धाहरू स्वदेशमै रहेको कुराबाट भित्रभित्रै उकुसमुकुस भएका बीपीलाई त्यस सहजीकरणले सहयोग गरेको थियो ।

प्रजातन्त्रलाई बल

जेसुकै कारणले बीपी कोइराला स्वदेश फर्किएको भए पनि त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रक्रियालाई भने सहज बनाइदिएको थियो । बीपी स्वदेश नफर्किएको भए शायद २०३६ सालमा जनमतसंग्रहको घोषणा र बहुदलका पक्षमा २० लाख मानिस उभिएको प्रमाण उजागर हुने थिएन । देशभित्रै बीपी जेलमा बस्दा प्रजातन्त्रका पक्षमा जनतामा आएको उत्साह भारतबाट पर्चा छापेर नेपाल पठाउँदैमा आउने थिएन ।

बीपी कोइराला स्वदेश फर्किनु आफैंमा प्रजातन्त्रका लागि सबैभन्दा ठूलो हलचल थियो । तर, त्यही कारण राजतन्त्रबारे उनमा आएको परिवर्तन चाहिं स्वाभाविक लाग्दैन । निःसन्देह, प्रजातन्त्रका बारेमा बीपीमाथि कसैले औंला ठड्याउन सक्दैन, आजीवन प्रजातन्त्रका लागि यति कठोर संघर्ष गर्ने अविचलित अर्को नेता नेपालमा छैन । संवैधानिक राजतन्त्र स्वीकार गर्नु र राजासँग घाँटी जोडिनु एउटै कुरा होइन । बीपी आफैंले व्याख्या गरेको र जीवन अर्पण गरेको विचारधाराले पनि राजतन्त्र अकाट्य सत्य हो भन्ने कुरा मान्दैन ।

प्रधानमन्त्री भइसकेको व्यक्ति भएका कारण बीपी कोइराला भारतमा भूमिगत बस्न सक्दैनथे । स्वदेश फर्किएपछि देशभित्र हिंडडुल गर्नमा उनलाई सहजता चाहिन्थ्यो । राजाले यो कुरा बुझ्ेका थिए र त्यही कारण उनले जनमतसंग्रह घोषणा गरे । त्यसैले बीपीले पनि जनमतसंग्रहको परिणाम स्वीकार गरे, जुन उनकै कतिपय सहयोद्धाका लागि अस्वीकार्य थियो ।
यति हुँदाहुँदै पनि बीपीको सम्झैता गर्ने इच्छालाई राजाले स्वीकार गरेनन् । यस अर्थमा बीपीको विचार सही सावित भएन । त्यसैले, २०४६ सालमा राजालाई घुँडा टेकाउन विशाल जनआन्दोलन आवश्यक प¥यो, जसको महŒव र सञ्चालन दुवै बीपीका विचारमा सम्भव थिएन ।

देशभित्र भूमिगत रूपमा कम्युनिष्टहरू बढ्दै गएको कुराले पनि बीपी कोइरालालाई चिन्ता थपेको हुनुपर्छ । किनभने, बेलाबेलामा भारतलाई तर्साउन उनी नेपालमा ‘चीनवादी कम्युनिष्टहरूको तीव्र गतिमा विस्तार भइरहेको’ सम्झइरहन्थे । राजालाई पनि ‘कम्युनिष्टहरू बढे भने राजतन्त्रलाई खतरा हुन्छ’ भन्दै आफ्नो उपादेयताका बारेमा बीपी झ्क्झ्क्याइरहन्थे । तर, उनले जति आशा गरे पनि न भारतले त्यस अनुरूप पत्यायो, न राजाको मन पग्लियो न त कम्युनिष्टहरूकै विकास रोकियो ।

अन्ततः जनताको आन्दोलनका अगाडि राजतन्त्र टिक्न सकेन र २०६५ सालमा सधैंका लागि विदा भयो । तर, प्रजातन्त्रका बारेमा बीपीको अविचलित निष्ठा र समर्पण चाहिं हामी सबैका लागि सदैव प्रेरणाको विषय रहिरहनेछ ।

(रिजाल नेकपाका केन्द्रीय सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस