टिप्पणीआइतबार, १५ पौष , २०७५

आमाको गाउँमा ४५ वर्षमा पनि नफेरिएकाे आतिथ्य

ब्रोटन कोबर्नकाे अनुभूति

हिमालखबर

“गोरा मामा, गाउँ अब पहिलेजस्तो छैन”, मलाई सुनाउन गाउँको कुनै समाचार खोजेजस्तै गरी मैताले भनिन्।

– ब्रोटन कोबर्न

सन् १९७७ मा आफ्नो बारी हेर्दै स्याङ्जा कोल्मा गाउँकी आमा ।

काठमाडौंको एउटा कफी शपमा मैले ४४ वर्षअघि पढाएको विद्यार्थी रेशमसँग भेट भयो। एउटा गैरसरकारी संस्थामा काम गरिरहेका उनी ८ वर्षदेखि गाउँ गएका छैनन्।

“गाउँ अब पहिले जस्तो छैन” रेशमले भने, “खै के–के नभएजस्तो, खल्लो !” मैले चिनेका धेरै गाउँले र आमाका सन्तानहरू गाउँमा छैनन्। आमाको नाति ठगु पनि भारतीय प्रहरीको जागिरे रहेछन्, उनको छोरो समेत भारतीय सेनामा भर्ती भइसकेछ। आमाकी जेठी नातिनी मैताले पनि धेरै अगाडि पोखरामा घरबार गरिसकेकी रहिछन्। उनलाई सानी छँदा देखेको थिएँ।

पोखराको पार्दी बजारको एउटा शान्त गल्लीछेउ टीनको गेट भएको दुईतले पक्की घर छ। मैताको घर यही हो। त्यहाँ पुग्दा उनले चिया र सेलरोटीसहित स्वागत गरिन्। आफ्ना श्रीमान्, छोरी, नन्दका अगाडि उनले पुराना दिनको केही कुरा गरिन्। “गोरा मामा, गाउँ अब पहिलेजस्तो छैन”, मलाई सुनाउन गाउँको कुनै समाचार खोजेजस्तै गरी मैताले भनिन्।

हामी सबै लस्करै उभियौं र स्मार्टफोनबाट तस्वीरहरू खिच्यौं। भलाकुसारीपछि मैताले बाटो देखाइन्, “स्याङ्जा बजार बेलैमा पुग्नुभो भने त्यहाँबाट कोल्मा गाउँ जाने जीप पाइन्छ।”

“मलाई त बजारबाट पैदलै उक्लने मन छ”, मैले भनें।

“तपाईं सक्नुहुन्न गोरा मामा”, उनले केही नसोची भनिन्।

“किन र मैता ?” मैले सोधें।

“त्यहाँको गोरेटो मासिइसकेको छ।”

सन् १९७७ मा आमा आफ्नो घरमा छिमेकीसँग र सन् २०१८ मा उनकोे घरको भग्नावशेष (दायाँ) ।

आमाको घर

गाउँमा रहेका आमाका नातिनीहरू साहिंली र कान्छीको पाइला पछ्याउँदै आमाको घर पुगें। हामीले घर भएको ठाउँको घाँसपात र बुट्यान पन्छायौं। साँझको छायामा आमाको घरको भत्केको भित्ता र जग देखिए। मैले केही तस्वीर खिचें, दशकौंअघिको रङ, चहलपहल, आवाज र गन्ध सम्झँदै।

साहिंली र कान्छी चूपचाप उभिइरहे, मेरो गतिविधि नियाल्दै। मेरो अलमल र दुःख उनीहरूले महसूस गरेछन्। कान्छीले सुस्तरी भनिन्, “गोरा मामा, तपाईं गाउँमै बसिरहेको भए यस्तो हुँदैनथ्यो।”

मेरा आँखा रसाए। आफ्नो ध्यान पुराना कुरातर्फ मोड्न खोजें। तर, यो गाउँ छोड्ने म मात्र एक्लो थिइनँ। साहिंली र कान्छीका दाजुभाइ र धेरै आफन्तले पनि गाउँ छोडिसकेका छन्। हामी सबै आफ्नो जीवनभन्दा पनि विशाल अरू नै कुरामा हेलिएका छौं।

यो ४५ वर्षमा आमाको गाउँमा नफेरिएको एउटै कुरा थियो, गाउँलेको न्यानो आतिथ्य। साहिंली र कान्छीले मलाई त्यहीं बस्न अनुरोध गरिरहे।

“उता परिवारले पर्खिरहेका छन्” दुःखपूर्वक मैले भनें।

“उसो भए अर्को पटक आउँदा श्रीमती, छोराछोरी सबैलाई लिएर आउनु” मलाई माला लगाइदिंदै उनीहरूले भने।

मैले वाचा गरें, “पक्कै आउँछु।”

 कोल्माको यात्रा

बसको छतमा बसेर डाँडाकाँडा हेर्दै यात्रा गर्दा मलाई आनन्द लाग्छ। स्याङ्जाको पहाडमा ताजा पहिरो देखियो, हरियो क्यानभासमा मसी पोखिए जस्तै। स–साना बस्तीसम्म पनि कच्ची सडकहरू पुगेका।

सडकमा हिंड्दै कोल्मा डाँडा उक्लने गोरेटो खोजिरहेको थिएँ। पहाडमा गोरेटो थिएन, थुप्रै धर्सा यताउता तन्किएका थिए। मैताले ठीक भनेकी रहिछन्। पुरानो गोरेटोको केही निशानी मात्रै बाँकी भेटिए।

सन् १९७७ मा ब्रोटन कोबर्नले आमालाई मोटरसाइकलमा राखेर काठमाडौं उपत्यकाको सयर गराएका थिए । 
सन् १९८७ ताका ब्रोटन कोबर्नले ले आमालाई अमेरिकाको यात्रा गराए ।

आमाका नातिनीहरू साहिंली र कान्छीको फोन नम्बर लिएको थिएँ, उनीहरूलाई फोन गरें। उनीहरूले भने अनुसार धुलाम्मे सडकै सडक अघि बढेर भेट भएपछि आमाको घरतर्फ लाग्यौं। गाउँमा मुखियाले उत्साहपूर्वक हाम्रो स्वागत गरे। “गाउँमा बिजुली आइपुगेको छ” पोलमा तन्किएका तार देखाउँदै उनले भने, “पाइपबाट पानी आउँछ। तपाईंले पहिले आमाका लागि दुःख गरेजस्तो डोको र नाम्लो भिरेर तलको झरनामा पानी थाप्न जानुपर्दैन।”

आमाको गाउँबाट आधा घण्टाको दूरीमा रहेको स्कूल नजिकैबाट प्रत्येक दिन बिहान एउटा जीप सदरमुकाम जान्छ। सदरमुकाममा गाउँलेले रेमिटेन्सको रकम बुझ्छन् र अधिकांश भारतबाट आयात गरिएका मालसामान र खाद्य सामग्री किन्छन्। गाउँ अहिले पनि गाउँ जस्तै देखिन्छ तर, केही नपुगेजस्तो अलि खल्लो, मेरो विद्यार्थी रेशमले काठमाडौंमा भने जस्तै।

सन् १९७४ मा मैले पढाउँदा ५०० विद्यार्थी रहेको विद्यालयमा अहिले त्यसको आधा संख्यामा मात्र विद्यार्थी छन्, तीमध्ये पनि अधिकांश दलित। गुरुङहरूले आफ्ना छोराछोरी पोखरा र अन्य शहरमा पढाउँछन्।

गाउँमा मैले भेटेका (बढीजसो महिला, अधबैंसे र वृद्धवृद्धा) आफ्नो दिनचर्यामा अभ्यस्त देखिन्छन्। उनीहरूको रेखदेख गर्ने केही युवा छन्। खेती गर्ने पर्याप्त जनशक्ति छैन। त्यसो त मानिसहरूको संख्या नै कम भएर खाने मुख घटेपछि पहिलेजस्तो मलखाद र बस्तुभाउ पनि चाहिएन। खेतबारी घाँस र बुट्यानले ढाकिएका छन्।

केही गाउँलेले कफी, ओखर जस्ता नगदेबालीको संभावना रहेको सुनाए। कुनै दिन पहाडी खेतीलाई यान्त्रिकीकरण गरियो भने यहाँको जमीन व्यावसायिक कृषिमा रूपान्तरित गर्न सकिएला ! अहिलेको अवस्थाबारे गणेश गुरुङले मलाई सुनाएका थिए, “नेपालले दैनिक करीब रु.१ अर्ब बराबरको खाद्यपदार्थ आयात गर्छ।”

सन् १९७० ताकाका मेरा विद्यार्थी रेशमले भनेको सम्झना छ, “पहिले पहाडका मानिसहरू सदरमुकाममा कसैले चामल किनेको देख्दा अचम्म मान्थे। आफूलाई आवश्यक अन्न आफैं उब्जाउन नसक्नु पराजयको संकेत मानिन्थ्यो। अचेल त्यो भावना उल्टो भएको छ। अहिले कुनै गाउँलेले खेतबारीमा डल्ला फोर्दैछ भने उसका लागि विदेशबाट पैसा पठाउने कोही नभएको ठानिन्छ र यसलाई असफलता मानिन्छ।

 

शायद मेरो आफ्नै नोस्टाल्जिया (अतीतमोह) वा अति आशाले हुनसक्छ, मैले रेशम, मैता, साहिंली, कान्छीमा गाउँको पुनरुत्थानको चाहना देखिरहेको छु। उत्सव, पर्वका साथै दुःखमा समेत एकै ठाउँमा भेला हुने उनीहरूको संस्कृति र भावनाका कारण।


 ब्रोटन कोबर्न

ब्रोटन कोबर्न

सन् १९७४ मा ब्रोटन कोबर्न पदयात्रा गर्दै स्याङ्जाको पूर्वी छेउमा रहेको विकट गुरुङ गाउँ कोल्मा पुगे। गाउँको माध्यमिक विद्यालयमा पढाउन पिस कर्पबाट खटिएका उनको बसोबासको प्रबन्ध गाउँका मुखियाले ७० वर्षीया एकल महिलाको घरमा गरिदिए। आमा आफ्नो घरमा बस्न आएको विदेशी देखेर विस्मातमा थिइन्, उता ब्रोटन अचम्म। फरक परिवेश र संस्कृतिका कारण एकअर्काबीच छाएको असहजता हटाउने क्रममा ब्रोटनले आमाको दैनिक काममा सघाउन थाले।

आमाका छोरा थिएनन् र ब्रोटनकी आमा तीन वर्षअघि नै बितेकी थिइन्। विस्तारै यी दुईबीच आमा–छोराको सम्बन्ध झांगिंदै गयो। फलस्वरूप ब्रोटनले दुई पुस्तक तयार पारे– आमाको दिनचर्याका तस्वीरहरूको संग्रह ‘नेपाली आमाः लाइफ लेसन्स् अफ हिमालयन वुमन’ र आमा–छोराको अमेरिका यात्राको कथा, ‘आमा इन अमेरिकाः अ पिलग्रिमेज अफ द हार्ट’।

यी आमाको सन् १९९१ मा ८७ वर्षको उमेरमा निधन भइसकेको छ। उनकी एक मात्र छोरी सुनमायाको पनि दुई वर्षअघि निधन भयो। कोबर्न ३१ वर्षपछि भर्खरै आमाको गाउँ कोल्मा पुगेर फर्केका छन्।

प्रतिकृया दिनुहोस