ब्लगशनिवार, पौष १४, २०७५

‘राजाले ड्रिङ्क नगरे कसले गर्छ ?’

भैरव रिसाल

राजा वीरेन्द्रले मदिरा पिएको टंकप्रसाद आचार्यलाई चित्त बुझेनछ। उनले ‘होशपूर्वक शासन गर्नुपर्ने मान्छेले बेहोशीमा पुर्‍याउने पेय खानुहुँदैन’ भनेर राजालाई सुझाएछन्।

स्वर्गीय टंकप्रसाद आचार्य ।

राजा-महाराजा भन्नेबित्तिकै भोगविलासको पर्यायका रूपमा हेरिन्छ। भोगविलासमा सुरापान अर्थात् मदिरा कतै न कतै जोडिएकै हुन्छ। यसैले होला, राजखलकलाई प्रायः मदिराप्रेमी मानिएको। शाह वंशका कतिपय राजालाई ‘बढी पियक्कड’ भनिन्थ्यो। यस्ता धेरै नाम सुनिए पनि पुष्टि गर्ने आधार छैन। तर, राजा वीरेन्द्रको एउटा प्रसंगले उनको मदिराप्रेमी व्यक्तित्वको परिचय मिल्छ।

वीरेन्द्रको प्रसंग त्यसबेला सुनाउने व्यक्ति पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य हुन्। टंकप्रसाद छक्कापञ्जा केही नजानेका गौप्राणी थिए। देखे/लागेका कुरा सीधै भन्ने। राजा वीरेन्द्र यदाकदा उनीसँग पनि राय-सल्लाह माग्दा रहेछन्। त्यस्तो भेट राजदरबारमा साँझपख हुँदोरहेछ। त्यस्तै एउटा भेटमा वीरेन्द्रले मदिरा पिएको टंकप्रसादलाई चित्त बुझेनछ र ठाडै भनेछन्, “राजाले धेरै जाँड खानुहुँदैन। राजाले त देश पो चलाउनुपर्छ।”

रानी ऐश्वर्य पनि त्यहीं रहिछन्, प्रतिवाद गर्दै भनिछन्, “राजाले ड्रिङ्क नगरे कसले गर्छ त ? फेरि यो जाँड होइन, ब्राण्डी हो।” टंकप्रसादले पनि तत्काल भनिहाले, “ब्राण्डी भने पनि ह्विस्की भने पनि असली नाम त जाँडै हो नि ! यसले पनि नशा दिने त हो।”

त्यति कुरा भएपछि राजा-रानीलाई दर्शन गरी उनी दरबारबाट निस्केछन्। मलाई थाहा भएसम्म टंकप्रसाद मदिरा पिउँदैनथे। उनी शिष्टाचार त राख्थे तर आफूलाई चित्त नबुझेका कुरा निर्भीकतासाथ प्रस्तुत गर्न पछि पर्दैनथे।

राजा-टंकप्रसादः न नजिक न टाढा
राणाशासन विरोधी आन्दोलनकै बेलादेखि सक्रिय प्रजातन्त्रवादी नेता टंकप्रसाद आचार्य राजा वीरेन्द्रअघि महेन्द्रका लागि पनि सम्मानित थिए। राजा महेन्द्रले उनलाई २०१२ माघमा प्रधानमन्त्री बनाए पनि ‘समयमा आम निर्वाचन गर्न नसकेको’ भनी २०१४ असारमा पदबाट हटाए। तर, महेन्द्रले बेलाबेलामा उनको राय लिने गर्थे। राजा र टंकप्रसादको सम्बन्ध अनौठो खालको थियो, कहिले नजिक, कहिले टाढाजस्तो।

नेपालमा भूमि समस्या पहिल्यैदेखि हो। पञ्चायतकालमा एकातिर राजपरिवारको बिर्ता जग्गाको समस्या थियो भने अर्कातिर रैकर, गुठी, उखडा, किपट, जिरायत आदि कुराले भूमिहीनको समस्या चर्को थियो। यो समस्या समाधानका लागि केही कदम नचाले पञ्चायत शासन नै धरमर हुने ठानिएछ। पहिले प्रधानमन्त्रीबाट हटाइएका टंकप्रसाद त्यस क्रममा उपयुक्त व्यक्ति ठहरिए। राजा महेन्द्रले उनको अध्यक्षतामा २५ जेठ २०१८ मा १३ सदस्यीय भूमिसुधार कमिशन बनाए। कमिशनका सदस्यहरूमा दुर्गानन्दप्रसाद सिंह, अर्थ र कृषि मन्त्रालयका प्रतिनिधि, वासु पासा, टेकबहादुर पन्थी, दयानिधि शर्मा, खड्गबहादुर सिंह, बीबी सुब्बा, पीयूषराज, गजेन्द्रनारायण सिंह, महेशचन्द्र रेग्मी, नरबहादुर थापालगायत थिए। यीमध्ये केही त स्वयं धेरै जग्गा भएका व्यक्ति थिए।

जुद्धशमशेरको घोडाको मूल्य
टंकप्रसादले भनेजस्तै ब्राण्डी, ह्विस्की, रक्सी जे जे नामले सम्बोधन गरे पनि, ‘होली वाइन’ भन्दै ‘पवित्र’ विशेषण लगाए पनि आखिर मदिराकै प्रकार हो। मदिराले लट्ठिएको मान्छे के के भन्छ के के !

उहिले जुद्धशमशेर पाल्पा जाँदा उनी चढेको घोडा देखाउँदै एउटा जँड्याहाले सोधेछ, “यो घोडाको मोल कति ?” श्री ३ जुद्ध रिसाएर जँड्याहालाई थुन्न लगाएछन्। भोलिपल्ट बिहान त्यो व्यक्तिलाई हाजिर गराएर सोधेछन्, “हिजो राति घोडाको मूल्य सोधेको होइन ? किन्ने हो घोडा ?” त्यो जँड्याहाले जुद्धलाई सलाम ठोक्दै भनेछ, “सरकार, घोडा किन्ने मान्छे त राति नै गइसक्यो।” जुद्धशमशेर हाँसेछन् र आइन्दा बढी रक्सी नखानू भनेर थुनामुक्त गरे रे !

राजा वीरेन्द्रलाई पनि राजा भएपछि राज्य सञ्चालन गर्दा अनेक थोक आइपर्छ, त्यसैले बढी मदिरा नखानू भनेर टंकप्रसाद आचार्यले सम्झाएका थिए रे ! अन्ततः पारिवारिक भोजको मादक माहोलमा १९ जेठ २०५८ मा राजा वीरेन्द्र र उनको वंश विनाशै भयो।

प्रतिकृया दिनुहोस