टिप्पणीबिहिबार, १२ पौष , २०७५

पुरानै पेशाको सुख

हिमालखबर

- फुर्पा तामाङ

आठ वर्ष विदेशमा काम गरेका फुर्पा दिन्डुप तामाङले त्यहाँबाट आर्जेको ज्ञान हो– आफूले जानेको पेशा आफ्नै गाउँठाउँमा गर्नु जस्तो सन्तोष अरूमा हुँदैन ।

तस्वीर: फुर्पा तामाङ

रसुवाको गोसाइँकुण्ड–५, ठूलोभार्खुका फुर्पा दिन्डुप तामाङ (५०) को पुख्र्यौली पेशा पशुपालन हो । फुर्पाका बाजे सिंगी झाँक्रीको ठूलो भेडीगोठ थियो । उनका बाबु दावा झाँक्री याक र चौंरी पाल्थे । अर्का बाजे तेन्जिन तामाङ चौंरी गोठकै कारण हेलम्बुसम्म तेन्जिन बरु (तेन्जिन धनी) नामले चिनिन्थे । 

सानैदेखि चौंरी स्याहारेका फुर्पा दिण्डुप चौंरी गाईको दूध बेचेर राम्रो आम्दानी हुन नसकेपछि २०६० सालमा कुवेततर्फ लागे । ८ वर्ष कुवेतमा सेक्युरिटी गार्डको काम गरेर फर्केका उनी भन्छन्, “आफ्नो देश र गाउँघरजस्तो अन्त हुँदो रहेनछ ।”

वैदेशिक रोजगारीका क्रममा थुप्रै देशका मानिससँग संगत गर्दा उनले बुझेको ज्ञान हो– आफ्नै देशमा आफूले जानेको काम गर्दा धन कमाउन नसके पनि जीवन चलाउन सजिलो हुन्छ । त्यसैले फुर्पा अचेल भार्खुमा पुरानै पेशामा फर्किएका छन् । भन्छन्, “दुग्ध विकास संस्थानले चौंरीको दूध ८० रुपैयाँ प्रति लिटर किनिदिन्छ, त्यसैमा चित्त बुझाउँदा पनि गुजारा चलेकै छ ।”

याक र चौंरी पाल्न अरूलाई गाह्रो लागे पनि आफूले सानैदेखि यही गरेकाले सहज भएको उनी बताउँछन् । उनका अनुसार नजान्नेका लागि त यही पेशा पनि जोखिमपूर्ण छ । चौंरीगोठ मौसम अनुसार सारिरहनुपर्छ ।

यसलाई तामाङ भाषामा ‘ह्यार्चा—म्हार्चा गोदी पोबा’ अर्थात् उभौली—उधौली गोठ सार्ने भनिन्छ । मौसम अनुसार चौंरी गाईलाई उपयुक्त चरन क्षेत्रमा नलगे ‘छेप्प’ अर्थात् गर्मी लागेर मर्छन् ।

चौरी पालन गर्नेले कुन वनमा कुन महीनामा प्रशस्त पानी र घाँस पाइन्छ, कुन जंगलको खोला वा सिमसारमा पानीजुका हुन्छ भन्ने थाहा पाइराख्नुपर्छ । विषालु झारपात हुने वन, भीर पहिरो भएको चरन क्षेत्रबाट होशियार रहन सिक्नुपर्छ ।

दलदले जमीन भएको जंगलमा चौंरी पस्यो भने त्यहीं पुरिन्छ । हिउँचितुवा र ब्वाँसोबाट चौंरीलाई बचाउने र बिरामी पर्दा खुवाउने जडीबुटीको ज्ञान पनि चौंरी गोठालोले जानेको हुनुपर्छ ।

उहिले याक–चौंरी, भेडा–बाख्रा पाल्ने व्यक्ति गाउँमा ‘बरु’ अर्थात् धनी मानिसमा दरिन्थे । दूध, नौनी, घिउ, छुर्पी, सेरकम्, जोब्रो (बाच्छी चौंरी), जोबो (बाच्छो चौंरी) र चिक्पे थक्पा (ऊनबाट बुनेको डोरी) बाट नगद आम्दानी हुन्थ्यो ।

गाउँमा अचेल चौंरीगोठ कम हुँदै गएका छन् । फुर्पा भन्छन्, “हामी हिमाली क्षेत्रमा बस्नेहरूका लागि जन्म, मृत्यु, विवाह र अन्य संस्कारमा घिउ, नौनी चाहिन्छ । त्यसैले अहिले दूधको मूल्य बढेको छ ।”

सानैदेखि गोठमा बस्नु परेकाले पढ्न नपाएका फुर्पा अन्य व्यापार व्यवसाय गर्न चाहिने लगानी र सीप दुवै आफूसँग नभएकाले पनि पुरानै पेशामा फर्किएको बताउँछन् । उनी भन्छन्, “कृषि मन्त्रालयको हिमाली आयोजनाले रु.५ लाख अनुदान सहयोग गरेपछि २०७१ सालदेखि चौंरीगोठ शुरू गरें ।”

अहिले ३२ वटा चौंरी पालिरहेका फुर्पाले वार्षिक रु.६ लाखदेखि रु.७ लाखसम्म आम्दानी गरिरहेका छन् । यही आम्दानीबाट उनले जेठो छोरालाई १० कक्षासम्म पढाए, जेठी छोरीले १० पास गरेपछि विवाह गरिन् । माहिली छोरीले कक्षा १२ पास गरेकी छन् ।

दुई वटा छोरी पढ्दै छन् । चौंरीगोठकै कमाइबाट गएको वर्ष उनकी श्रीमतीले चार तोलाको कानमा लगाउने सुनको बुट्टिल किनिन् । फुर्पा भन्छन्, “परिवारसँगै बसेर लेकबेंसी डुल्न पाएको छु । हिउँदमा केरुङ भोटेकोशीको बगरसम्म पुग्छु । वर्षायाममा लौरीविनाको लेकसम्म पुग्छु । अहिले गोठ भार्खुमा छ । पर्सि गोम भन्ने ठाउँमा सार्दैछु । यही पेशामा सन्तोष मानेको छु ।”

प्रतिकृया दिनुहोस