टिप्पणीबिहिवार, पौष १२, २०७५

जन्ती स्वागतमा गाली

चन्द्रकिशोर

जन्ती स्वागतमा बेहुला पक्षलाई गाली गर्दै डहकन गाउने र बेहुला पक्षले त्यसमै रमाइलो मान्ने देहातको लोक परम्परा कम हुँदै गएको छ।

२६ मंसीरमा जनकपुरमा विवाह पञ्चमी मनाइँदै । तस्वीरः घनश्याम मिश्र

स्वागतमें गाली गाव सखिया, सम्धी दुअरा पर आयल हो ।

छोराको जन्ती लिएर आइपुगेको सम्धीलाई गालीसहितको गीतले स्वागत गर्ने चलन छ, देहातमा । डहकन भनिने यस्तो लोकगीत गाउने महिलाहरूको निशानामा सम्धी मात्र होइन, बेहुला, उनका अरू आफन्त र गाउँले समेत पर्छन् ।

विवाहमा बेहुली पक्षका महिलाले गाउने गालीमिश्रित यस्तो गीत बेहुला पक्ष बडो रुचिपूर्वक सुन्छन् । धेरैजसोले त गीतको फर्माइस नै गरिरहेका हुन्छन् । दुई नितान्त अपरिचित परिवारबीच खुलापन र आत्मीयता विकसित गर्ने सोचका साथ परिहासपूर्ण गीत गाउने गरिएकोे लोकधारणा छ ।

निश्चित मर्यादा राखेर बेहुला पक्षलाई गीतमार्फत गाली गरिए पनि अन्तर्निहित आशय भने दुवै परिवारको सुख र समृद्धिको कामना नै हुन्छ । पछिल्ला वर्षहरूमा भने यस्ता गीतहरूमा अश्लीलताको प्रयोग बढ्न थालेपछि धेरैले यी गीतमा रोक लगाउन थालेका छन् ।

मैथिली, भोजपुरी वा अवधी भाषिक समूहमा लोकगीतको निकै फराकिलो परम्परा छ । श्रमसँग जोडिएको जीवनपद्धतिका कारण पनि हुनुपर्छ, गीत–संगीत देहाती जीवनको अभिन्न पाटो हुनपुगेको ।

प्रत्येक उत्सव, पर्व वा सांस्कृतिक अनुष्ठानहरूमा त्यसै अनुसारका गीत–संगीतले वातावरण उल्लासमय बनिरहेको हुन्छ । श्रुति परम्पराबाटै एउटा पिंढीबाट अर्को पिंढीमा हस्तान्तरण हुँदै आएका यी लोकगीतहरूका आफ्नै लय हुन्छन् र सामान्यतया महिलाहरू समवेत स्वरमा गाउँछन् ।

जन्म, मुण्डन, व्रतबन्ध, विवाह, गौना जस्ता उत्सवहरूमा यस्ता गीत सामूहिक रूपमा गाइन्छ । उसो त ऋतु र श्रम अनुसारको गीत गाउने चलन पनि छँदैछ ।

भर्खरै जनकपुरमा विवाह पञ्चमी मेला तामझमका साथ सम्पन्न भएको छ । बेहुलाका रूपमा राम र बेहुलीका रूपमा सीतालाई आदर्श मान्ने परम्परा छ– मैथिल, भोजपुरी र अवधी समुदायमा । अरू बेला मर्यादा पुरुषोत्तमका रूपमा पुजिने राममाथि नै पनि परिहासको तीर चलाइहाल्छन् विवाहका उत्साही महिलाहरू । र, यसलाई सहज मनोरञ्जनका रूपमा स्वीकारिन्छ ।

एक बात कनी पुछि सजनी गे, बाजव कनी विचारी हे ।
गोरे दशरथ, गोरी कौशल्या, राम भरत कियक कारी हे ।
अर्थात् राजा दशरथ गोरा, गोरी छन् कौशल्या तर, राम र भरत किन श्याम वर्णका ?

सप्तरीका दलित अधिकारकर्मी भोला पासवान गाउँघरका विवाहमा अझै पनि ‘गाली–गीत’ गुञ्जिने गरेको बताउँछन् । अवधी संस्कृतिकर्मी विक्रममणि त्रिपाठी पनि अवध क्षेत्रमा राम र सीतालाई आदर्श बेहुला–बेहुली मानेर विवाह गीतमा उनीहरूलाई प्रतीकका रूपमा लिइने परम्परा रहेको बताउँछन् । यसबाहेक देहातका विवाह–गीतमा पाहुनाको प्रशंसा र विनयशीलता, महिला हृदयको निश्छलता र प्रेम विह्वलता समेत झ्ल्किन्छ । पाहुनालाई भगवान भनिएको एउटा पंक्ति –

मधुमिसरी पकवान रे, कलजोरी करु समधान रे ।
थार भरल पकवान रे, भोजन करथि भगवान रे ।

डहकनको परम्परा कहिलेदेखि शुरू भयो, यकिन साथ भन्न नसकिए पनि अवधी भाषामा तुलसीदासद्वारा लेखिएको रामचरित मानसमा राजा दशरथलाई जनकपुरमा यस्तै गाली गरिएको प्रसंग उल्लेख छ–

छरस रुचिर बिंजन बहु जाती । एक एक रस अगनित भाँती ।।
जेवँत देहिं मधुर धुनि गारी । लै लै नाम पुरुष अरु नारी ।।
समय सुहावनि गारि बिराजा । हँसत राउ सुनि सहित समाजा ।।

एउटा प्रचलित भोजपुरी लोकगीत–
देसहि हम नेवता पेठाइले, नेवता निहार सरमाये जी
जब बरियतिया गोएड भीरि आएल, समधी के घोडा अगुवाइल जी
मैथिली डहकनको एक पंक्ति–
चन्दा छिप गेल लाल कोठरियामे
फला रसिया चढि चढि कए भअ गेल नेहाल

विशेषगरी जन्तीको भोजनका बेला गाइने हास–परिहासयुक्त डहकनले पस्किइएका व्यञ्जनमा थप स्वाद थप्छ । तर पछिल्ला वर्षहरूमा यी गीतहरूको चलन कम हुँदै गएको छ । फिल्मी गीतकोे बढ्दो प्रभाव र आधुनिक पिंढीमा पारम्परिक लोकगीत निर्वहन गर्न नचाहने मनोविज्ञानले पनि यस्ता गीतको प्रचलन कम हुन पुगेको हो ।

विवाह अनुष्ठानको समय छोटिंदै जाँदा पनि यस्तो ठट्यौलीका लागि समय अपुग भइदिन्छ । त्यसमाथि कतिपय यस्ता गीतहरूमा महिलालक्षित यौन अभिप्राय निहित भएको हुँदा त्यसलाई अहिलेको प्रगतिशील चेतले अस्वीकार गर्दै लगेको छ ।

गाली सुन्दै–सुनाउँदै रमाइलो गर्ने लोक परम्परा कम हुँदै गए पनि गाउँ देहातमा अझैं डहकनको भाका गुञ्जिएको सुनिन्छ । र, गालीकै फर्माइस गरिरहेका जन्ती पनि भेटिन्छन् ।

प्रतिकृया दिनुहोस