राष्ट्र ब्यांकको परिपत्रले शेयर बजारमा ३०.२६ अंकको वृद्धि
११ पुसमा शेयर बजार ३०.२६ अंकले उकालो लागेको छ। नेपाल राष्ट्र ब्यांकले शेयर कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याएपछि त्यसको असर शेयर बजारमा देखिएको हो।
राष्ट्र ब्यांकले परिपत्र जारी गर्दै लगानीकर्ताको मागअनुसार बोनस र हकप्रद शेयर सूचीकरण नभए मार्जिन कल गर्ने व्यवस्था पनि हटाएको छ। अर्थ मन्त्रालयले पूँजी बजारका समस्या समाधान गर्न गठन गरेको समितिले उल्लेखित व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएको थियो।
११ पुसमा बजार खुलेदेखि उच्च अंकमा बढेको नेप्से परिसूचक १२१६.२७ अंकमा पुगेको छ। बढेको बजारमा १७३ कम्पनीको रु.६९ लाख ६५ हजार बराबरको शेयर खरिद-बिक्री भएको छ। लाइफ इन्स्योरेन्स उपसूचक ७.७९ प्रतिशतले उकालो लागेपछि समग्र उपसूचक माथि चढेको हो।
यस्तै, ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स २.५४ प्रतिशतले उकालो लागेको छ। ११ पुसमा रु. ४ अर्ब ३६ करोड शेयर खरिद-बिक्री भएको नेपाल ब्यांक लिमिटेड धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।