टिप्पणीआइतवार, पौष ८, २०७५

डा. तुलसीरमण गिरीः राजाभन्दा ठूला राजतन्त्रवादी

विष्णु रिजाल

२०४७ सालको संविधान कायम राखेर ‘कु’ गर्दा सफल हुँदैन भन्ने सोच राखेका डा. गिरीले राजा ज्ञानेन्द्रको उपाध्यक्ष पद किन स्वीकार गरे ? उनको जवाफ थियो– ‘हुकुम कसरी अस्वीकार गर्ने ?’

डा. तुलसी गिरी । (१० असोज १९८३ – २ पुस २०७५) तस्वीर: gittyimages

नेपाली राजनीतिका एक फरक पात्र डा. तुलसीरमण गिरी (तुलसी गिरी) लाई छुटाएर हाम्रो राजनीतिक इतिहास पूरा हुँदैन । इतिहासका विभिन्न मोडमा कैयौं विरोधाभास, रहस्य र विपरीत धार खेपेर बाँचेका डा. गिरीले तिनलाई आधिकारिक रूपमा सार्वजनिक नगरी विदा भए पनि इतिहासको सन्दर्भ सामग्रीका लागि तिनको जानकारी अनिवार्य छ ।

बहुदलीय व्यवस्थाका लागि संघर्षरत नेपाली कांग्रेसबाट राजनीति थालेर त्यसको महामन्त्री बनेका डा. गिरीमा बीजारोपण भएको निर्दलीय विचारले उनलाई पञ्चायतकालभरि सत्ता र आलोचना दुवैको केन्द्रमा राख्यो । १ पुस २०१७ मा राजा महेन्द्रलाई बहुदलमाथि ‘कु’ गरेर निर्दलीय व्यवस्था ल्याउन उक्साउने डा. गिरीको तर्क थियो, “राजा र बहुदलीय व्यवस्था एकसाथ जान सक्दैनन् ।” उनले ‘सार्वभौमसत्ता विभाजित हुनसक्दैन’ भन्ने सिद्धान्त अघि सारेका थिए ।

डा. गिरी विदेशिएको बेला राजा वीरेन्द्र भारतको तिरुपति दर्शन गर्न जाँदा बेङ्लोर पुगेर भेटेका रहेछन् । उनले सोधेछन्, “डा. गिरी, यस्तो एउटा व्यवस्था ल्याउन सकिंदैन, जहाँ शक्ति राजाको हातमा होस्, साथै दलहरूले पनि काम गर्न सकून् ?”

गिरीले भनेछन्, “सरकार, मैले आजसम्मका कुनै सिद्धान्तमा यस्तो व्यवस्थाबारे पढेको छैन, कुनै किताब भेटेको छैन, त्यस्तो कुनै ठाउँ देखेको छैन । यस्तो त हुनै सक्दैन । तर, दलहरूसँग मिलेर काम गर्न चाहिं सकिन्छ ।”

रमाइलो कुरा, पछि राजा ज्ञानेन्द्रले पहिलो भेटमा उनीसँग त्यही कुरा सोधेछन् । गिरी भन्थे, “मैले भनें– सरकार मौसूफको दाजुबाट पनि मलाई यही प्रश्न सोधिबक्सेको थियो । मैले यही उत्तर दिएको थिएँ– यो सम्भव छैन ।”

सैद्धान्तिक रूपमा डा. गिरी बेठीक थिएनन् । उनको कुरा प्रमाणित हुन ५० वर्ष लाग्यो । संविधानले अभिभावक र राष्ट्रिय एकताका प्रतीक भनेर सम्मानित स्थान दिए पनि नेपालको राजतन्त्र चूप बस्न सकेन र उसले बहुदलीय व्यवस्थामाथि दागा धर्न छाडेन । त्यही भएर जनताका प्रतिनिधि दलहरूसँगको संघर्षमा राजतन्त्र पराजित भएर सधैंका लागि विदा भयो ।

२०३६ सालमा राजा वीरेन्द्रले बहुदल कि निर्दल भनेर जनमतसंग्रहमा जाने घोषणा गरेपछि असन्तुष्ट बनेका डा. गिरी अब पञ्चायत टिक्दैन भनेर विदेशिएका थिए । त्यसको १० वर्षपछि पञ्चायत अन्त्य हुँदा उनी स्वदेशमा नभए पनि १९ माघ २०६१ मा बहुदलमाथि ‘कु’ हुँदा भने उनकै भनाइमा ‘संयोग’ ले नेपाल आइपुगेका थिए ।

त्यसबेला राजा ज्ञानेन्द्रले सत्ता हातमा लिंदैछन् भन्ने थाहा भएर नभई एक मित्रकी छोरीको विवाहमा आएको बेला त्यस्तो संयोग परेको उनी बताउँथे । एक दिनको भेटमा उनले पंक्तिकारलाई बताए अनुसार, होटल सोल्टीमा बसिरहेको बेला १८ माघमा उनलाई कसैले राजा ज्ञानेन्द्रको सम्भावित कदमबारे बताएपछि उनले पत्रकार विजयकुमार पाण्डेलाई यसबारे सोधेका थिए ।

शुरूमा पाण्डेले आफूलाई त्यसबारे थाहा नभएको र त्यस्तो होला जस्तो पनि नलागेको जवाफ दिए पनि एकछिनमा बुझेर ‘डाक्टरसा’ब, केही त हुँदै रहेछ’ भनेपछि बल्ल त्यसबारे थाहा पाएका थिए ।

तीन दशकदेखि राजनीतिबाट टाढा रहेर परिवार र धर्ममा सीमित उनलाई १९ माघको ‘शाही कु’ पछि मन्त्रिपरिषद्को उपाध्यक्ष बनाइयो । २०४७ सालको संविधान कायम राखेर राजाले त्यस्तो कदम चाल्दा सफल हुँदैन भन्ने सुझव उनको रहेछ । “त्यस्तो लाग्दालाग्दै उनकै उपाध्यक्ष पद किन स्वीकार गर्नुभयो त ?” भन्दा उनले यस पंक्तिकारसँग सीधा जवाफ दिएका थिए, “हुकुम कसरी अस्वीकार गर्ने ?” पहिला पञ्चायतको मलामी बन्न सक्दिनँ भनेर विदेशिएका गिरी २०६५ सालमा राजतन्त्रकै मलामी हुँदा भने नेपालमै थिए ।

अंग्रेजीमा एउटा पंक्ति छ– ‘मोर रोयलिस्ट देन द किङ’ अर्थात् राजाभन्दा ठूला राजतन्त्रवादी । नेपालमा कोही त्यस्ता व्यक्ति थिए भने ती डा. तुलसी गिरी नै थिए ।

२०१७ सालमा भारतीय नेता जयप्रकाशनारायणको निर्दलीय ग्राम पञ्चायतको अवधारणा भन्दै राजा महेन्द्रलाई निर्दलीय व्यवस्थाका लागि उकासेर, वीरेन्द्रलाई जनमतसंग्रहमा जानुहुन्न भनेर र ज्ञानेन्द्रको निरंकुश कदममा काँध थापेर डा. गिरीले यसलाई प्रमाणित गरेका थिए । शायद नेपाली कांग्रेसलाई धोका दिएर निर्दलका पक्षमा लागेकाले होला, बहुदलीय व्यवस्था स्थापना नहोस् भन्नेमा अरू पञ्चभन्दा गिरी निकै कठोर थिए ।

डा. गिरी दरबारसँग आफ्नो मतभेद भएको भनेर जीवनको अन्तिम समयसम्म पनि बताउँथे । गएको १ जेठमा पंक्तिकारसँगको लामो कुराकानीमा उनले राजासँगका केही अन्तरंग पाटो खोलेका थिए । जनताको छोरो शक्तिशाली भएको दरबारले कुनै पनि रूपमा रुचाउँदैनथ्यो भन्ने उनको निष्कर्ष थियो । राजा महेन्द्र र बीपी कोइराला एउटै गलत समयमा जन्मिएका ठूला राजनीतिज्ञ भएको ठान्ने गिरीले आफूले काम गरेका तीनै राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र) मा समान खालको अहम् (इगो) देखेको बताएका थिए ।

राजा महेन्द्रले आफ्नो मन्त्रिमण्डलका सदस्य डा. नागेश्वरप्रसाद सिंहलाई मन्त्रीबाट हटाउन भन्दा आफूले नमानेकाले प्रधानमन्त्रीबाट राजीनामा दिएको कुरालाई यसको एउटा उदाहरण बताउँथे । “किन हटाउने सरकार ?” भन्दा महेन्द्रले जवाफ दिएछन्, “त्यसको सिङले घोच्यो !” अर्थात्, ती मन्त्री बढी साम्प्रदायिक भए भन्ने महेन्द्रको ठम्याइ रहेछ ।

जवाफमा गिरीले भनेछन्, “मधेशीको सुविधा मधेशीले पाउँछ, अरूले पाउँदैन । कोही अरूले पाउनुपर्ने सुविधा खोसेर मधेशीलाई दिएको छ भने म अहिल्यै निकाल्दिन्छु, अन्यथा उसलाई हामीले मधेशी भनेरै मन्त्रिपरिषद्‌मा राखेको हो ।” राजालाई उनको कुरा चित्त बुझ्ेनछ । गिरीले “त्यसलाई हटाउनुभन्दा मै राजीनामा दिन्छु” भन्दा राजाको प्रतिक्रिया आएछ, “अहिल्यै दिन्छौ ?” गिरीले घर गएर हस्तलिखित राजीनामा पठाएपछि उनकै मन्त्रिपरिषद्का सदस्य सूर्यबहादुर थापा नयाँ प्रधानमन्त्री नियुक्त भएका थिए ।

डा. तुलसी गिरीकोमा म बारम्बार पुग्नुको कारण २०६२/६३ को जनआन्दोलन र राजतन्त्रको समाप्तिबारे उनको विश्लेषण बुझनु थियो । किनभने, राजतन्त्रइतर पक्षका रणनीति, कार्ययोजना, आन्दोलन र दुःखबारे बुझन बाँकी नभए पनि राजा र उनको मन्त्रिपरिषद्को विश्लेषणको पाटोविना त्यो पूर्ण हुँदैन । राजापछिको स्थानमा बसेका कारण पक्कै पनि डा. गिरी यस्तो सूचना र विश्लेषणका लागि आधिकारिक व्यक्ति थिए ।

राजा ज्ञानेन्द्र राजतन्त्र नै समाप्त पार्ने गरी किन उद्यत भए त ? आफू कमजोर भएको महसूस गरेको भए बीचैमा पनि उनले दलहरूसँग सम्झाैता गर्न सक्थे, त्यसमा किन चुके ? डा. गिरीको विश्लेषण थियो– ‘राजा सेनामा धेरै भर परे । राजनीतिक दलभित्रै पनि राजालाई सघाउन चाहने नेताहरूको पंक्ति थियो । उनले न तिनलाई समाउन सके, न त विदेशी मित्रहरूलाई फकाउन सके । माओवादी पनि राजालाई साथ दिन तयार थिए, त्यो पनि लिन सकेनन् ।’

राजाले दिनहुँजसो तत्कालीन सेना प्रमुख प्यारजंग थापा, प्रहरी प्रमुख श्यामभक्त थापा, सशस्त्र प्रहरी प्रमुख सहवीर थापा र गुप्तचर प्रमुख देवीराम शर्मासँग बैठक गरिरहने उल्लेख गर्दै डा. गिरीले भनेका थिए, “मैले एकदिन सरकारमा जाहेर गरें, सरकारले सीधै यी कर्मचारीहरूसँग दिनदिनै लन्च वा डिनर गर्ने हो भने हाम्रो के काम ? हामीलाई विदा गरिबक्सियोस् ।”

तर, राजाले आफ्नो कुरा नसुनेको र पछि सुरक्षा फौजले साथ छाडेकाले नै राजतन्त्र समाप्त भएको उनको विश्लेषण थियो । आफूले राजालाई सेनाबारे सुनाएको कुरा उद्धृत गर्दै उनले पछिल्लो भेटमा पंक्तिकारसँग भनेका थिए– पछि राजाले २०६३ वैशाखमा छाड्ने विचार गरेको बुझें । मैले सोधें, “के कारणले छाड्न लागिबक्सेको ?” राजाले भने, “मलाई प्यारजंगले साथ दिएन ।”

आफूले ‘कु’ गर्न भन्दा सेनाले नमानेको भन्दै डा. गिरीले भनेका थिए, “मैले रुक्मांगद कटवाललाई फोन गरेर कु गर भनें । उनले सक्दिनँ भने । किन भनेर सोध्दा सस्टेन गर्न सकिन्न भने । कति समय सस्टेन गर्न सक्छौ भन्दा ६ महीनाभन्दा बढी सकिन्न भने ।

मैले त्यसो भए टेकओभर गर, ६ महीनासम्म हातमा लेऊ, त्यसपछि सकेनौ भने मलाई देऊ भनें । तर, उनले मानेनन् ।” नेपाली सेनामा बेलायती, अमेरिकी र भारतीयहरूले प्रभाव जमाइसकेको र ती राष्ट्र राजाको कदमको विपक्षमा रहेकाले राजाले चलाउन खोज्दा पनि सेना नचलेको उनको निष्कर्ष थियो ।

जीवनको पूर्वाद्र्धमा बीपी कोइरालासँग अतिरिक्त अन्तरंग सम्बन्धमा रहेका गिरी सम्भवतः कुनै व्यक्तिगत कारणले उनीबाट टाढिएका थिए । राजधानी बाहिरबाट काठमाडौं भित्रिएका ती दुवै युवा धेरैका लागि आकर्षणका केन्द्र थिए, राजनीतिमा मात्र नभई अरू विषयमा पनि । व्यक्तिगत रूपमा रंगीन मिजासका ती दुवैबीच केही त्यस्तै विषयमा परेको खटपटले राजनीतिमा दुई किनारामा पुर्‍याइदिएको अनुमान गर्ने उनका समकालीनहरूको संख्या ठूलो छ । कुलीन परिवारका किशोरीसँगको विवाह प्रकरणदेखि घरानियाँ महिलाहरूसँगको सम्बन्धमा दुवैका सम्बन्ध जटिल रहेको मानिन्थ्यो ।

यिनै अनेक विरोधाभास र कट्टर विचारका डा. तुलसी गिरी ९२ वर्षको उमेरमा सधैंका लागि विदा भएका छन् । राजनीतिमा जस्तै व्यक्तिगत जीवनमा पनि उनी विरोधाभासमै बाँचे भन्दा फरक पर्दैन ।

२०१९ सालको संविधानमा नेपाललाई हिन्दू राष्ट्र लेख्न लगाउने डा. गिरी आफैं भने हिन्दू रहेनन्, नन्ट्रिनिटेरियन क्रिश्चियन (जेहोभा’ज विटनेश) बने । तर, अन्त्येष्टि चाहिं हिन्दूले झैं ‘पशुपतिमा गर्नू’ भनेर लेखेर छाडेछन् । २ पुसमा बूढानीलकण्ठस्थित निवासमा क्रिश्चियन परम्परा अनुसार राखिएको उनको शवको छेउमा उभिएकी जीवनसँगिनी सहारा योञ्जनले भनिन्, “डाक्टरसा’ब आफ्नो पूरा जीवन बाँचेर विदा हुनुभयो । जीवनभर शान्तपूर्वक बाँच्नुभयो, आज पनि शान्तपूर्वक नै जानुभयो ।”
हार्दिक श्रद्धाञ्जली डा. गिरी !

प्रतिकृया दिनुहोस