कला/साहित्यशनिवार, कार्तिक २७, २०७३

पहरामाथिको पोथ्रो

हिमालखबर

 

गण्डकी अञ्चलको सेरोफेरोमा विछट्टै लोकप्रिय 'ठाडो भाका' पतनको सँघारमा छ। लमजुङे, कर्पुटारे, दुरा भाका आदि नामले परिचित ठाडो भाका गायकद्वय देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको सांगीतिक विरासत मानिन्छ।

पश्चिम लमजुङको करापुटार 'ठाडो भाका' को उर्वरभूमि मानिन्छ। भनिन्छ, करापुटारमा लाग्ने शिवरात्रि र फागुपूर्णिमा मेलामा देउबहादुर र पञ्चसुब्बाका गीत सुन्न गोरखा, लमजुङ, तनहूँ, कास्कीलगायतका जिल्लाबाट प्रशस्त मानिस ओइरिन्थे। अहिले भने औंलामा गन्न सकिने पारखीहरूले मात्र ठाडो भाकामा सवाल–जवाफ गर्न सक्छन्। 

नन्दमाया दुरा (६४) यस्तै दुर्लभ प्रतिभा हुन्। उनीबारे कमैलाई थाहा भए पनि स्थानीयमाझ नन्दमायाको नाउँ ठूलो छ। निरक्षर भएरै पनि उनको शब्दचयन र सुमधुर स्वरमा 'ठाडो भाका' गुञ्जिंदा अनुरागीहरू मुग्ध हुने गर्छन्।

नन्दमायाले बालखैदेखि ठाडो भाका गुन्गुनाउन शुरु गरिन्। भारतीय सेनामा कार्यरत देवबहादुर दुरासँग १६ वर्षको उमेरमै उनको लगनगाँठो कसियो। विवाहपछि एकपटक मात्र छुट्टीमा घर आएका उनी कहिल्यै फर्केनन्। सन् १९७१ को बंगलादेशको स्वतन्त्रता आन्दोलनमा श्रीमान्ले ज्यान गुमाएको कुरा नन्दमायाले घरै बसेर सुनिन्। जुन आन्दोलनमा उनका जेठाजु पनि बिते।

आरोह–अवरोह
१९ वर्षमै विधवा बनेकी नन्दमायालाई उनकै निःसन्तान दिदीले 'कान्छी' बनाइन्। भिनाजुसँगै दोस्रो घरबार जोडिएपछि छोरो पनि जन्मियो। अहिले उनी पाँच जना नातिनातिनाबाट घेरिएकी छिन्।

जिन्दगीमा थुप्रै कहालीलाग्दा मोड आए पनि नन्दमायाले 'मुखको सरस्वती' अर्थात् ठाडो भाका आराधना गर्न छाडिनन्। जमघट र मेलापातहरूमा आफ्नो कला र गलाको परिचय दिइरहिन्। दीर्घराज अधिकारी (भेडीखर्के साहिंला) लगायतका नामूद गायकहरूसँग डटेर सवाल–जवाफ गरिन्। निम्तालुको मन राख्नै नसकिने गरी उनलाई निम्ता पनि आउँथ्यो।

लमजुङको घना दुरा बस्ती ठूलोस्वाँराका पूर्वशिक्षक लोकबहादुर दुराका दृष्टिमा नन्दमाया विलक्षण प्रतिभा भएकी गायिका हुन्। “नन्दमायाको गीतमा माटोको सुवास भेटिन्छ, स्थानीय जीवनशैली र संस्कृतिका झलकहरू भेटिन्छन्”, उनी भन्छन्।

यतिबेला गाउँघरमा आधुनिकताका नाममा मौलिक गीत विस्थापित हुँदो छ। आयातीत गीत र 'रेकर्डेड म्यूजिक' को बाढी पसेको छ। यो बाढीमा 'ठाडो भाका' पनि बिलाउँदै गएको छ।

बुढ्यौलीले ङ्याक्न थाले पनि नन्दमाया भाका हाल्न छाडेकी छैनन्। बेलाबेलाका निमन्त्रणामा उनी जान्छिन् र बिर्सन लागेका गीतका फाँकी र फुँदा सम्झने प्रयत्न गर्छिन्। तर, गाउँघरका सामाजिक जमघटहरूमा ठाडो भाका जम्न छाडेको छ। कला र गलाले भरिपूर्ण भएर पनि नन्दमायाको सांगीतिक 'करिअर' पहरोमाथिको पोथ्रो झै निरन्तर टाक्सिंदै गएको छ।

यमबहादुर दुरा

प्रतिकृया दिनुहोस