१४ अंक घट्यो नेप्से
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.६१ अंक (१.२४ प्रतिशत) घटेको छ। हिजो १५ अंक बढेर ११८२ अंकमा पुगेको नेप्से ३ पुसमा भने लगभग त्यति नै घटेर ११६८.१७ अंकमा झरेको छ।
बूलिश र बियरिश दुवै प्रवृत्तीमा पनि बजारमा बेलाबेला यस्ता ‘करेक्सन’हरू देखापर्छन्। यस्ता घटनाले रेखाचित्रमा खुड्किलाहरू तयार पार्छ। जुन खुड्किलामा बजार अलमलिँदा लगानीकर्ताले बजार छिर्ने वा बाहिरिने मौका पाउँछन्। अहिले घट्दो बजारमा त्यस्तै एउटा करेक्सन सकिएजस्तो देखिएको छ। १९ मंसीरपछि बढ्दो क्रममा रहेको बजार सूचक त्यसयता पहिलो पटक दोहोरो अंकमा घटेको हो।
३ पुसमा नेप्सेमा उत्पादन तथा प्रशोधन र ‘अन्य’ बाहेकका सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्सेलाई नकारात्मक बनाएको हो। यस दिन नेप्सेमा १५९ कम्पनीका १४ लाख ७८ हजार ७२४ कित्ता शेयर रु. ५३ करोड २३ लाख २५ हजार ६४६ मा कारोबार भयो। यस दिन नेपाल ब्यांकको शेयर सर्वाधिक ५ करोड ९ लाख ८० हजारको कारोबार भयो। यस्तै, समिट माइक्रोफाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत महँगियो भने विजय लघुवित्तको शेयर सर्वाधिक ७.३८ प्रतिशत सस्तियो।