राष्ट्रसंघमा 'युक्रेन प्रस्ताव' पारित
संयुक्त राष्ट्रसंघ महासभाको दुई तिहाइ बहुमतबाट कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अवरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ।
युक्रेनको प्रस्तावमा ६६ राष्ट्रले पक्षमा र १९ राष्ट्रले विपक्षमा मतदान गरेका थिए भने ७२ राष्ट्र अनुपस्थित रहे। राष्ट्रसंघका अनुसार युक्रेनले राष्ट्रसंघमा प्रस्तुत गरेको “क्रिमिया स्वायत्त गणतन्त्र र सेभास्टोपोल नगरका साथै कृष्ण सागर र अजोभ सागरमा सैनिकीकरण” दस्तावेजमा मतदान भएको थियो।
उक्त प्रस्ताव कर्च स्ट्रेट घटनापछि युक्रेनले राष्ट्रसंघमा दर्ता गरेको हो। कर्च स्ट्रेटमा प्रवेश गरेका युक्रेनी पानीजहाजको रुसले खानतलासी गर्नुका साथै जहाजमा रहेका युक्रेनी सैनिकहरूलाई जबर्जस्ती नियन्त्रणमा लिएपछि दुर्इ देशबीच तनाव उत्पन्न भएको थियो।
अमेरिका र युरोपेली युनियनले उक्त प्रस्तावमा युक्रेनको पक्ष लिएका थिए। उनीहरूले युक्रेनी सैनिकको तत्काल रिहाइ र कर्च स्ट्रेटमा निर्वाध आवागमनको सुनिश्चितता गर्न आग्रह गरेका थिए। एएनआई-रासस