‘पदाधिकारी’ विवादले कांग्रेस महासमिति बैठक प्रभावित
नेपाली कांग्रेसको विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति जुट्न नसक्दा जारी महासमिति बैठक प्रभावित भएको छ।
बैठकको चौथो दिनसमेत विधान मस्यौदामा पदाधिकारीको संख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुनसकेको छैन। महासमिति सदस्यहरूले प्रतिवेदनमा सहमति कायम गरी बैठकमा छिटो पेश हुनुपर्ने माग गरेका छन्।
संस्थापन (देउवा) पक्ष पदाधिकारी संख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ। संस्थापन इतर पक्ष भने केन्द्रीय कार्यसमितिको संख्या बढाएसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा छ। दुवै पक्षबीच ११ जना पदाधिकारी बनाउने सम्बन्धमा लगभग सहमति भए पनि चयन प्रक्रियाका बारेमा भने विवाद कायम छ।
पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विधान मस्यौदामा पदाधिकारीको संख्या र चयन प्रक्रियाका बारेमा भएको विवादले महासमिति बैठक प्रभावित भएको छ। बैठकमा यसअघि नै पेश भएका राजनीतिक, सांगठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ।
कांग्रेसले संविधानको संघीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो। समितिले हालको विधानअनुसारको पदाधिकारीको व्यवस्था र १४१ सदस्यीय केन्द्रीय समिति रहने फरक मतसहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेको थियो। उक्त प्रतिवदेनको पदाधिकारीको संख्या र चयन प्रक्रियाको व्यवस्थाका सम्बन्धमा केन्द्रीय समितिमा सहमति हुनसकेको छैन।
हाल कांग्रेसको विधानमा कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ।
विधान मस्यौदा प्रतिवेदन पारित गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने बताउँदै २ पुसमा महासमिति बैठक तीन घण्टा स्थगन गरिएको थियो। तर, पार्टी शीर्ष नेतृत्वबीच उक्त विषयमा कुनै सहमति नभएपछि केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन। ३ पुसमा पनि बैठक बस्न सकेको छैन।
विधान मस्यौदा प्रतिवेदन उपलब्ध नभएपछि अहिले महासमिति बैठक स्थगन छ। महासमिति बैठकस्थल परिसरमा महासमिति सदस्य रनभुल्लमा छन् भने शीर्ष नेताहरू कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विवादित विषयमा सहमति खोज्न प्रयासरत छन्।
यसअघि १३-२२ मंसीरमा सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिमा विधान मस्यौदाबारेमा छलफल भए पनि प्रतिवेदन पारित हुनसकेको थिएन। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विधान मस्यौदा प्रतिवेदनका अधिकांश विषयमा सहमति भइसकेको बताए। सहमति हुन बाँकी विषयलाई चाँडो टुंग्यार्इ ३ पुसमै महासमिति बैठकमा पेश हुने उनको दाबी छ।
बैठकमा हालसम्म ७७ भन्दा बढी महासमिति सदस्यले पार्टी संगठन, प्रस्तुत प्रतिवेदन र सरकारका काम कारवाहीलगायत विषयमा धारणा राखेका छन्। रासस