आत्महत्याबाट बचाउन खोज्दा दुई जनाको मृत्यु
दैलेखको नारायण नगरपालिका-३ भूर्तिमा आत्महत्या गर्न खोजेका व्यक्तिलाई जोगाउन खोज्दा २ पुसमा दुई महिलाको मृत्यु भएको छ।
आत्महत्या गर्न हिँडेका बालाराम नेपाली (२६)लाई रोक्न खोज्दा कोदालोले हिर्काएर आमा पार्वती नेपाली (४७) को हत्या गरेका थिए। सोही क्रममा घाइते भएकी बालारामकी हजुरआमा जुवारा नेपाली (७०) को उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बालारामले छिमेकी २ महिलालाई समेत घाइते बनाएका छन्। मनधरा नेपाली (६४) र कौशिला नेपाली (२४) सामान्य उपचारपछि घर फर्किएका छन्। डोरीको पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न सम्झाउन खोज्दा उल्टै कोदालो प्रहार गरेका थिए।
प्रहरीले बालारामलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको छ। उनले गएको वर्ष पनि आफैंले ब्लेडले घाँटी रेटेका थिए।
भक्तबहादुर शाही, दैलेख