दोस्रो टेस्टमा अष्ट्रेलियाले भारतलाई १४६ रनले हरायो
अष्ट्रेलियाले प्रतिद्वन्द्वी भारतमाथि दोस्रो टेस्टमा १४६ रनको जित हात पारेको छ। यो जितसँगै चार म्याचको टेस्ट श्रृंखला १-१ को बराबरीमा पुगेको छ।
यसअघि एडिलेडको रोचक मोडमा पुगेको पहिलो टेस्ट भारतले ३१ रनले आफ्नो पक्षमा पारेको थियो।
पर्थमा भएको दोस्रो टेस्टमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा ३२६ रन जोडेको थियो। मार्कस ह्यारिसले ७०, ट्राबिस हेडले ५८ र अरोन फिन्चले ५० रन जोडे। बलिङतर्फ भारतका इशान्त शर्माले चार विकेट लिए।
पहिलो इनिङ्समा कप्तान विराट कोहलीले शानदार शतक प्रहार गर्दै १२३ रन बनाए पनि भारत २८३ रनमा अलआउट भएको थियो। अष्ट्रेलियाका नाथन लायनले ५ विकेट लिए। दोस्रो इनिङ्समा अष्ट्रेलियाले अलआउट हुँदै २४३ रन जोड्यो। उस्मान खवाजाले सर्वाधिक ७२ रन बनाए। भारतका मोहम्मद शामीले ६ विकेट लिए।
२८७ रनको लक्ष्य पाएको भारत दोस्रो इनिङ्समा भने १४० रनमै समेटियो। कूल ८ विकेट लिएका लायन प्लेयर अफ दी म्याच चुनिए।