अफगान युवती नरगिसको संघर्ष कथा, जसलाई क्रिकेट हेर्दा देहव्यापारको बात लाग्यो
अफगानिस्तानको रुढिवादी ग्रामीण समाजमा लैंगिक विभेदको चरम उदाहरण पाइन्छ। त्यहाँ छोराको चाहनामा पुरुषले दोस्रो वा तेस्रो विवाह गर्नु कुनै अनौठो कुरा होइन। नरगिस तराकी (२१) त्यही समाजमा हुर्किइन् र आफैं पनि यो विभेदको रापमा परिन्।
जब उनी परिवारमा पाँचौं छोरीका रूपमा जन्मिइन्, उनका आमा-बाबुलाई आफन्तजनले सल्लाह दिए- 'गाउँमा कतै यसलाई साटेर छोरा ल्याऊ।'
नरगिसले उक्त प्रसंग थाहा पाएदेखि आफूलाई अब्बल साबित गर्ने जिन्दगीको लक्ष्य नै बनाएकी छन्, ताकि आमा-बाबुले आफूलाई नसाटेर एकदम सही गरेका थिए भन्ने पुष्टि होस्। उनी अफगानिस्तानमा महिलाहरूको शिक्षा र सशक्तिकरणका लागि अभियान चलाइरहेकी छन्। सन् २०१८ का लागि बीबीसीको संसारका १०० प्रभावशाली र प्रेरक महिलाहरूको सूचीमा परेकी उनले आफ्नो कथा यसरी बताइन्:
मेरो जन्म सन् १९९७ मा अभिभावकको पाँचौं सन्तानका रूपमा भएको हो। मभन्दा अगाडि जन्मिएका सबै छोरी नै थिए। पाँचौं सन्तान पनि छोरी नै भएपछि मेरो बुवाका आफन्तहरूलाई सह्य भएन। खासगरी मेरो फुपू र अन्य नातेदारहरूले बुवाको दोस्रो विवाहका लागि राजी हुन तत्कालै मेरी आमालाई दबाब दिए। तर, आमाले मान्नुभएन।
त्यसपछि ती नातेदारहरुले बुवालाई सल्लाह दिए- छोरी साटेर छोरा ल्याउनू। उनीहरूले गाउँमा एउटा परिवार पनि खोजिसकेका थिए, जो मलाई आफ्नो छोरासँग साट्न तयार थियो।
बुवाको अलग सोच
बच्चा साट्नु हाम्रो संस्कृतिभित्र पर्दैन। यस्तो भएको मैले पहिले कहिल्यै सुनेको पनि छैन। तर, परम्परागत रूपमा अफगान समाजमा केटाहरूको महत्व धेरै छ।
मानिसहरू जानीबुझी मेरी आमालाई निराश पार्न अनेक कुरा भन्थे र छोरा नभएका कारण खिन्न महसूस गराउँथे। मलाई साट्ने कुरामा बुवा असहमत भइसक्दा पनि अग्रज व्यक्तिहरूले दबाब दिने क्रम जारी नै थियो। तर, बुवाको सोच एकदम अलग थियो। उहाँले ती मानिससँग मलाई माया गर्ने र छोराबाट अपेक्षा गरिने काम छोरीले पनि गर्न सक्छे भनेर एकदिन साबित गर्ने जवाफ दिनुभयो।
तर, बुवाका लागि त्यो साबित गर्नु सजिलो काम थिएन। उहाँ फौजमा हुनुहुन्थ्यो। उहाँले सोभियत संघ समर्थित सरकारलाई त्यो समयमा आफ्नो सेवा दिनुभएको थियो, जुन समयमा हाम्रो मुख्य जिल्लामा धार्मिक र कट्टरपन्थी सोच भएका मानिसको हालीमुहाली थियो। यसै कारण गाउँका केही मानिस उहाँलाई घृणा गर्थे र हामीलाई सामाजिक बहिष्कार गर्थे। त्यति हुँदाहुँदै पनि बुवालाई आफूले भनेको कुरामा भरोसा थियो। यद्यपि, मेरो परिवारमाथि मलाई कतै लगेर साट्न दबाब आइरह्यो किनकि म केटी थिएँ।
देश छोडेर भाग्दा
तालिबान लडाकुहरूले हाम्रो जिल्लामा कब्जा गरेपछि हाम्रो हालत खराब भयो। अवस्था बिग्रिंदै गएपछि १९९८ मा बुवा भागेर पाकिस्तान जानुभयो, लगत्तै हामी पनि त्यहाँ पुग्यौं।
त्यहाँको जिन्दगी असाध्यै कठिन थियो। तर, बुवाले जुत्ता कारखानामा काम पाउनुभयो। पाकिस्तानमा बुवा-आमाका लागि सबैभन्दा सुखद कुरा के भयो भने उहाँहरूको एउटा छोरा र अर्की छोरी जन्मिए।
तालिबानको शासन पतन भएपछि २००१ मा हामी सपरिवार काबुल फर्कियौं। तर, हाम्रो आफ्नो घर थिएन। हामी काकाको घरमा बस्न थाल्यौं। समाजको संकुचित सोच कस्तो थियो भने अधिकांशको मान्यता छोरीलाई पढाउनु हुन्न भन्ने थियो। तर, म र मेरा दिदीबहिनी विद्यालय गएर पढ्न थाल्यौं।
मैले काबुल विश्वविद्यालयमा लोक नीति र प्रशासनको विषयमा अध्ययन गरें र दुई वर्षअघि उत्कृष्ट अंकसहित स्नातक उत्तीर्ण गरें। यस क्रममा मैले बुवाको साथ-सहयोग लगातार पाइरहें।
केही वर्षअघि म काबुलमा आफ्नो बहिनीसँग क्रिकेट म्याच हेर्न गएको थिएँ। स्टेडियममा महिलाको संख्या न्यून थियो। हाम्रो तस्वीर र भिडियो खिचेर सोशल मिडियामा राखिएछ। त्यसपछि मानिसहरूले हाम्रो आलोचना गर्न थाले। स्टेडियममा निर्लज्जतापूर्वक पुरुषहरूसँग बसेको भन्दै हाम्रो निन्दा गरियो। केही व्यक्तिले हामीलाई देहव्यापार गरेको भन्ने बातसमेत लगाए।
जब बुवाले फेसबुकमा केही टिप्पणी देख्नुभयो, तब मलाई हेर्दै भन्नुभयो, 'प्यारी छोरी, तिमीले जे गर्यौ सही गर्यौ। म खुशी छु, तिमीले यस्ता निकृष्ट मानिसहरूलाई ठेस पुर्यायौ। जिन्दगी छोटो छ, यसको आनन्द चाहेजति उठाऊ।'
यसै वर्षको शुरुवातमा क्यान्सरको कारण बुवा बित्नुभयो। मैले यस्तो व्यक्तिलाई गुमाएँ, जसले मलाई त्यो ठाउँमा पुग्न हरेक हिसाबले सहारा दियो, जुन ठाउँमा आज म छु। उहाँको साथ मैले सधैं पाइरहनेछु भन्ने मलाई थाहा छ।
अक्सफोर्डमा पढ्ने सपना
तीन वर्षअघि मैले गजनीस्थित आफ्नो मूल गाउँमा केटीहरूका लागि एक विद्यालय खोल्ने प्रयास गरें। यसका लागि मैले मेरो बुवासँग सल्लाह गरें। उहाँले सामाजिक सोचाइ र सीमाका कारण त्यस्तो विद्यालय खोल्न लगभग असम्भव रहेको बताउनुभयो।
उहाँले केटाहरूका लागि विद्यालय खोल्ने कुरासमेत सुरक्षाका कारण सजिलो नभएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयलाई धार्मिक मदरसाको नाम दिँदा हाम्रो चाहना पूरा हुने सोच सुनाउनुभयो।
तर, म गाउँसम्म पुग्न सकिनँ। किनकि, सुरक्षाका कारण त्यो अत्यन्त खतरनाक थियो। म र मेरी एक दिदीलाई भरोसा छ, हामी कुनै दिन विद्यालय स्थापनाको लक्ष्य पूरा गरिछाड्छौं।
यस बीचमा मैले एक गैरसरकारी संगठनमा जोडिएर महिलाहरूको शिक्षा, स्वास्थ्य र सशक्तिकरणका लागि काम गरिरहें। मैले युवतीहरूको पढ्ने र रोजगारीको अधिकारबारे एक व्याख्यान पनि सुनाएँ।
मेरो सपना छ, एक दिन यूनिभर्सिटी अफ अक्सफोर्डमा पढ्ने।
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको र्याङ्किङ हेर्दा सधैंजसो अक्सफोर्ड पहिलो या दोस्रो स्थानमा देखिन्छ। आफूले पढेको काबुल यूनिभर्सिटीसँग यसको तुलना गर्दा उदास हुन्छु। यसको मतलब पढेको ठाउँप्रति म आभारी छैन भन्ने होइन।
मलाई फुर्सदको समयमा पढ्न मन पर्छ। हरेक साता औसतमा दुईदेखि तीन वटा किताब पढ्छु। पाउलो कोएलो प्रिय लेखक हुन्।
जीवनमा कुनै सम्झौता हुन्न
विवाहको कुरा गर्दा, म आफ्नो जीवनसाथी आफैं छनोट गर्नेछु। परिवारले पनि मलाई आफ्नो मर्जीअनुसार विवाह गर्न अनुमति दिइसकेको छ। मेरो बुवाको गुण भएको श्रीमान् पाएमा आफूलाई अहोभाग्य सम्झिनेछु। जिन्दगीको बाँकी हिस्सा यस्तो व्यक्तिसँग गुजार्न रुचाउँछु, जोसँग सोच मिलोस्, जो मलाई सहारा देओस् र मेरो रुचिलाई आत्मसात् गरोस्।
श्रीमानसँगै उसको परिवार पनि समझदार हुनु आवश्यक छ। कतिपयको जीवनमा कस्तो भइदिन्छ भने आफूले मन पराएको असल व्यक्तिसँग विवाह भए पनि उसको परिवार सोचेजस्तो हुँदैन।
म जिन्दगीमा जे गर्न चाहन्छु, त्यसमा जीवनसाथीले साथ र सहयोग दिनुपर्छ। यदि उसले विरोध गरेमा म उसको सोच बदल्न प्रयास गर्नेछु। जिन्दगीमा आफूले हासिल गर्ने कुरामाथि मलाई विश्वास छ, त्यो कुरामा कुनै सम्झौता गर्न चाहन्नँ।
बिबिसी हिन्दीबाट