अन्तत: पुनर्बहाली भए श्रीलंकाका अपदस्थ प्रधानमन्त्री विक्रमासिंघे
श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकट शुरु भएको ५१ दिनपछि विक्रमासिंघेलाई पुनर्बहाली गरेका हुन् ।
गत २६ अक्टोबरमा राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । राजापाक्षेले १५ डिसेम्बरमा पदबाट राजिनामा दिएका थिए । राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई १६ डिसेम्बरमा पद तथा गोपनीयताको सपथ पनि गराएका छन् ।
संसद् र अदालतले राजापाक्षेको प्रधानमन्त्रीमा नियुक्ति अवैध भएको निर्णय दिएका थिए । र, विक्रमासिंघेलाई नै बहुमतप्राप्त प्रधानमन्त्रीका रूपमा काम गर्न आदेश दिएका थिए ।
विक्रमासिंघे नेतृत्वको युनाइटेड नेसनल पार्टीले ट्विटमार्फत् राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न सहयोग गरेका सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । एएफपी-रासस