कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि छलफल हुने
२८ मंसीरदेखि काठमाडौंमा शुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकमा ५ वटा दस्तावेजमाथि छलफल हुने तय भएको छ ।
उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशांक कोइरालाले सांगठिनक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्दैछन् ।
राजनीतिक प्रस्तावमा मुलुकको समसामयिक राजनीतिको विश्लेषणसहित पार्टीको आगामी राजनीतिक विचार र दृष्टिकोण समेटिएको छ । सांगठिनक प्रस्तावमा पार्टीका समग्र गतिविधि, विधान संशोधनमा संघीय संरचनाअनुसार पार्टीका संरचना प्रस्तावित छन् । यस्तै, आर्थिक प्रस्तावमा बदलिँदो परिवेशमा पार्टीको आर्थिक नीति र आन्तरिक आर्थिक प्रतिवेदनमा पार्टीको आय-व्यय उल्लेख छ।
प्रतिवेदनहरूमाथि विस्तृत छलफल गर्न महासमिति सदस्यहरूलाई प्रदेशस्तरीय ७ वटा समूहमा विभाजन गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । १ देखि ३ पुससम्म बन्द सत्र चल्नेछ।
कांग्रेसमा एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशनको बीचमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनका सबै काम महासमितिले गर्ने गर्छ । हरेक वर्ष महासमिति आयोजना गर्नुपर्ने विधानमा व्यवस्था भए पनि १३ औं महाधिवेशनपछि हुन लागेको यो पहिलो बैठक हो।
नयाँ संविधानअनुसार मुलुक संघीय संरचनामा गइसकेपछि हुन लागेको कांग्रेसको यो महासमिति बैठकलाई सबैतिरबाट निकै चासो र महत्वका साथ हेरिएको छ। जसले संघीय संरचनाअनुसार पार्टीको विधान पारित र आगामी नीति तथा दृष्टिकोणसमेत तय गर्ने भएकाले सर्बत्र चासोका साथ हेरिएको हो ।
यस्ता बैठक र सम्मेलनले गरेका निर्णय पार्टी र मुलुकका लागि दुरगामी प्रभाव पार्ने कांग्रेस नेता तथा इतिहासकार पुरुषोत्तम बस्नेत बताउँछन् । ३ पुससम्म चल्ने बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी करीब एक हजार ६०० प्रतिनिधि सहभागी छन्। रासस