चुहावट नियन्त्रण र बक्यौता असुलीमा कर्मचारीलाई प्रोत्साहन
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ ।
प्राधिकरणले विद्युत् माग बढाउन, चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता भए असुली गर्न देशव्यापी रुपमा कार्य सम्पादन करार सम्झौता शुरु गरेको हो ।
उक्त सम्झौताअनुसार चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको लक्ष्य कम्तीमा ५० प्रतिशत पूरा गरे थप भत्ता उपलब्ध गराइने छ ।
तोकिएको लक्ष्य पूरा गर्नेलाई बढुवामा थप नम्बर दिने, विदेशमा हुने तालीम तथा अन्य अवसरमा समावेश गर्ने, उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गर्ने प्राधिकरणले कार्ययोजना बनाएको छ ।
कार्यसम्पादन करार सम्झौतामार्फत क्षेत्रीय, जिल्ला कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जिम्मेवार बनाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
प्रोत्साहनसहितको कार्य सम्पादन करार सम्झौताले सम्बन्धित कार्यालयका प्रमुखलाई थप जिम्मेवार बनाउने, काम गर्न प्रोत्साहन गर्ने र उपभोक्तालाई थप जिम्मेवार भएर सेवा दिने वातावरण बनाउने विश्वास प्राधिकरणले गरेको छ ।
प्राधिकरणले तयार पारेको कार्ययोजनामा ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गर्ने क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखको कार्यक्षमता कमजोर रहेको मानिने छ ।
त्यस्ता कार्यालयका प्रमुखलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोहीअनुसार नम्बर दिने र नगद तथा गैर नगद प्रोत्साहन नपाउनेलगायतको व्यवस्था गरिएको छ ।
गत असारसम्म प्राधिकरणको प्रणालीमा औसत २०.४५ प्रतिशत विद्युत् चुहावट छ । रासस