दाङमा जन्ती बोकेको जीप दुर्घटना, छ जनाको मृत्यु
दाङको लमही नगरपालिका–९ रिहारमा जन्ती बोकेको स्कारपियो जीप र बस ठोक्किँदा छ जना जन्तीको मृत्यु भएको छ ।
२६ मंसीर राती चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी जीपमा सवार दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेयकाअनुसार बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, पाँच वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको छ ।
घाइतेको कोहलपुरमा उपचार भइरहेको छ । बेहुला बेहुली भने अर्को गाडीमा रहेको प्रहरीले जनाएको छ । रासस