रिपोर्टबिहिबार, २७ मंसिर , २०७५

शेयर बजार लगातार ओरालो, मध्यमवर्गीय लगानीकर्तालाई बढी नोक्सानी

विनय बञ्जारा

एकातिर ब्याङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अभाव बढ्ने, अर्कातिर सरकार र नेपाल राष्ट्र ब्याङ्कले शेयर बजारलाई ‘अनुत्पादक’ भनेर त्यसतर्फ जाने ऋणलाई निरुत्साहित गर्दा लगानीकर्ताको मनोबल खस्किएको छ ।

तस्वीरः बिक्रम राई

पछिल्लो एक दशकमा नेपाली शेयर बजार करीब १७०० अंकको फराकिलो बाटो बनाएर अघि बढ्यो । शेयर बजारको सूचकांक २०० देखि २००० अंकबीच दगुर्दै गर्दा अहिले यो दशकको दोस्रो ‘वियरिश प्रवृत्ति’ (बजारको घट्दो अवस्था) देखिएको छ ।

१५ भदौ २०६५ मा ११७५ अंकमा पुगेर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार वियरिश प्रवृत्तिमा देखिंदा १ असार २०६८ मा २९२ अंकमा झरेकाे थियो ।

त्यसपछि ‘बुलिश प्रवृत्ति’ (बजारको बढ्दो अवस्था) समातेको शेयर बजार पाँच वर्ष लगाएर १२ साउन २०७३ मा १८८१ अंकको उँचाइ चुम्दै पुनः वियरिश प्रवृत्तिमा फर्केको छ । यसरी अघिल्लो वियरिश बजारमा ३३ महीना १५ दिन बजार घट्दा नेप्से परिसूचक ८८५ अंक (७५ प्रतिशत) घटेको थियो । अहिले १७ मंसीरको सूचकांकलाई आधार मान्दा २८ महीनामा ७५० अंक (४० प्रतिशत) घटेको छ ।

पछिल्लो पटक २९ चैत २०७३ बाट लगातार ओरालो लागेको नेप्से त्यसयता ५८० अंक (३४ प्रतिशत) घटिसकेको छ । जसलाई नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष एवम् प्रमुख लगानीकर्ता कम्पनी हाथ्वे इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत अम्बिकाप्रसाद पौडेल ‘डिप्रेस्ड बजार’ भन्छन् ।

“आम लगानीकर्ताहरू अब कुनै सुधार हुँदैन कि भनेर आत्तिएका छन्” उनी भन्छन्, “त्यो (डिप्रेस्ड) अवस्थालाई सहयोग गरिराख्ने सरकारी नीतिले लगानी मनोबललाई झ्नै कमजोर पारेको छ ।”

खस्किएको मनोबल
एकातिर ब्याङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अभाव बढ्ने, अर्कातिर सरकार र नेपाल राष्ट्र ब्याङ्कले शेयर बजारलाई ‘अनुत्पादक’ भनेर त्यसतर्फ जाने ऋणलाई निरुत्साहित गर्दा लगानीको मनोबल खस्किएको पौडेल बताउँछन् ।

शेयर ब्रोकरहरू पनि अहिले अर्थ मन्त्रालयले पूँजी बजारका विषयहरूलाई नकारात्मक रूपमा चित्रण गर्न खोज्दा लगानीकर्ताहरू हतोत्साही भएको बताउँछन् । “अहिले ठूला लगानीकर्ताले शेयर बेचेर अन्य विकल्प खोज्दै लगानी डाइभर्ट गरिरहेका छन्” एक शेयर ब्रोकर भन्छन्, “ब्याङ्कको ब्याजदर बढ्ने र कम्पनीहरूको प्रतिफल घट्ने अवस्थाले बचतकर्ताको ध्यान पनि शेयर बजारबाट निक्षेप र त्यस्तै अन्य क्षेत्रतर्फ मोडिन थालेको छ ।”

यस्तो बेला सरकारले आफ्ना नीति–कार्यक्रमहरूमार्फत शेयर बजारलाई सुधारको बाटोमा लैजानुपर्ने माग लगानीकर्ता सम्बद्ध संघसंस्थाले गर्दै आएका छन् । सात वर्षअघि शेयर बजार लगातार ओरालो लागेपछि शेयर धितोमा प्रवाह हुने कर्जालाई खुकुलो बनाइएको थियो ।

त्यसबेला सरकारले नै शेयर बजारलाई प्रविधिमैत्री बनाउने र आम मानिसको पहुँचमा पुर्‍याउने गरी दायरा विस्तार गर्ने भन्दै लगानीकर्ताको मनोबल उकास्न प्रयास गरेको थियो । यद्यपि अहिले त्यस्तो ‘मनोवैज्ञानिक हस्तक्षेप’ गर्ने बेला भए/नभएकोबारे नियामक निकाय र लगानीकर्ताबीच मतभेद छ ।

इन्भेष्टर्स फोरमका अध्यक्ष पौडेल सरकारले शेयर बजारको मनोबल बढाउने किसिमले तत्काल केही कदम नचाले बजार खस्किने क्रम अझैं लम्बिनसक्ने बताउँछन् ।

तर, नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता निरज गिरी भने आफूहरू बजारप्रति संवेदनशील रहे पनि नीतिगत हस्तक्षेप गर्ने बेला नभएको बताउँछन् । “हामीले लगानीकर्ताका चासोलाई सम्बोधन गरिरहेका छौं” उनी भन्छन्, “तर अहिले बजारको स्वतन्त्रता मिच्नुभन्दा चलिरहन दिनु उचित हुन्छ ।”

भुङ्ग्रोमा मध्यमवर्गीय लगानीकर्ता
अहिले धेरैजसो लगानीकर्ता शेयर बजारमा लगानी गरेको रकम फिर्ता लिन खोजिरहेका छन् । शेयर दलालहरूका अनुसार धेरै ठूलो लगानी गर्ने व्यापारिक वर्गका लगानीकर्ताले अहिले पनि शेयर बेचिरहेका छन् ।

जसको दबाब स–सानो बचतलाई शेयरमा लगानी गर्ने मध्यम वर्गमाथि बढी परेको छ । शेयर लगानीकर्ता पौडेलको बुझाइमा पनि बजारको अध्ययन गरेर लगानी गर्ने सचेत र ठूला लगानीकर्ता अहिले आत्तिएका छैनन् । “उनीहरू बजार चुलिएको बेलामा शेयर बेचेर ठूलो घाटाबाट निस्किसकेका छन्” पौडेल भन्छन्, “तर आफूसँग बचत भएको ५/१० लाख रुपैयाँ लगानी गर्ने मध्यम वर्गका लगानीकर्ताले ठूलो नोक्सानी भोग्नुपरेको छ ।”

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार, शेयर कारोबारका लागि १८ मंसीरसम्म १४ लाख १ हजार ६९ हितग्राही खाता खुलेका छन् । यो संख्यालाई आधार मान्दा १० लाखभन्दा बढी शेयर लगानीकर्ता छन् । तीमध्ये ९० प्रतिशत सक्रिय लगानीकर्ता मध्यम वर्गका मानिस रहेको शेयर दलालहरूको आकलन छ ।

खासगरी मध्यमवर्गका कामकाजी मानिसहरू आफ्नो सीमित बचत रकमलाई शेयर बजारमार्फत चाँडै ‘दोब्बर’ पार्ने अभिलाषामा रहने र अहिले उनीहरू नै बढी मर्कामा परेको शेयर विश्लेषकहरू बताउँछन् ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी शेयर बजारमा लगानी गर्दा जोखिम वहन गर्ने क्षमता राख्नुपर्छ भनेर चेतना बढाउन अझैं आवश्यक रहेको स्वीकार्छन् । “अब झन् हामी देशभर स्थानीय तहसम्म शेयर कारोबारको दायरा विस्तार गर्ने भन्दैछौैं, त्यो अवस्थामा सचेतना फैलाउन नियामक निकायले मात्र नसक्ने भएकाले सबैको सहयोग लिन्छौं”, उनी भन्छन् ।

कति घट्ला नेप्से ?
१० मंसीरमा शेयर लगानीकर्ता सम्बन्धी विभिन्न संघसंस्थाले ‘बजार लगातार घटेको’ विरोधमा नेप्सेको कार्यालय परिसरमा धर्ना दिए । नेपाल इन्भेष्टर्स फोरम, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता संघले आयोजना गरेको धर्नामा केही लगानीकर्ताले शेयर विश्लेषक विष्णु बस्याललाई हातपात गरेका थिए । ‘शेयर बजार ९०० अंकमा झ्र्छ’ भनेर विश्लेषण गरेको आरोपमा लगानीकर्ताहरूले उनीमाथि आक्रमण गरेका थिए ।

सामाजिक सञ्जालहरूमा पनि शेयर लगानीकर्ताको प्रतिक्रिया उत्तिकै अराजक हुने गरेको शेयर विश्लेषकहरू बताउँछन् । “अहिले त बजार घट्छ, लगानीकर्ता सचेत हुनुपर्छ भनेर बोल्न र लेख्नै हुँदैन”, नेप्सेका एक अधिकृत भन्छन् ।

अराजकताको राप कतिसम्म छ भने, शेयर विश्लेषक, लगानीकर्ताका संघसंस्थाका पदाधिकारी, नेप्से र शेयर बजार सम्बन्धी अन्य निकायका कर्मचारी मात्र होइन, नियामक निकायका अधिकृतहरू समेत सार्वजनिक रूपमा शेयर बजारको नकारात्मक टिप्पणी गर्न सक्ने अवस्थामा छैनन् ।

“अल्पकालीन व्यापारबाट बढी नाफा कमाउन पल्केका लगानीकर्ताहरू आफ्नो क्षमताभन्दा बढी ऋण लिएर शेयर किनेका कारण अहिले ठूलो समस्यामा परेका छन्”, एक शेयर लगानीकर्ता भन्छन्, “तिनै लगानीकर्ताको आक्रोश अहिले अराजक व्यवहारमा पोखिन थालेको छ ।”

केही प्राविधिक विश्लेषण अनुसार, नेप्से परिसूचक ९५० देखि १००० अंकसम्म झर्न सक्छ । अहिले वियरिश बजारसँग तुलना गर्दा पनि ९५० देखि ९९० अंकमा नेप्से अडिन सक्ने देखिएको छ । अघिल्लो पटक बजार ३४ प्रतिशत घटेर पुनः उकालो लागेपछि वियरिश प्रवृत्ति शुरू भएको थियो । यसपालि पनि बजार सूचक ३३ प्रतिशत घटेपछि उकालो लागेर पुनः वियरिश बाटो समातेको छ ।

सात वर्षअघि त्यसबेलाको कीर्तिमानी उँचाइबाट ४८ प्रतिशत घटिसकेपछि बजार केही समय स्थिर भएको थियो । त्यसपछि थप ओरालो लागेको बजार ७५ प्रतिशत घटेको थियो । अहिले उच्चतम विन्दुबाट नेप्से ४० प्रतिशत घटेको छ । त्यही आधारमा थप आठ प्रतिशत घट्यो भने बजार ९७५ अंकमा पुग्छ । तर, पहिलेजस्तै ७५ प्रतिशतको ‘डाउनफल’ सहनुपरेमा नेप्सेको सूचकांक ४७० अंकसम्म पनि झर्न सक्छ ।

नेप्सेको १४ दिने ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’ (आरएसआई) सूचकले भने अहिले शेयर बजार बिक्रेताको नियन्त्रणमा रहेको देखाउँछ । सामान्य अवस्थामा आरएसआई ३० स्केलभन्दा कम हुनुलाई लगानी गर्ने ‘मौका’ को रूपमा लिइन्छ, जुन १८ मंसीरमा २०.५३ अंकमा झरेको छ ।

तर, अहिले वियरिश अर्थात् बजारको घट्दो प्रवृत्तिका कारण यसलाई ‘मौका’ को रूपमा व्याख्या गर्न भने मिल्दैन । नेप्सेको ‘मुभिङ एभरेज’ विश्लेषणले पनि तत्कालै शेयर बजार उकालो लाग्ने सम्भावना इंगित गर्दैन । नेप्से १००० अंकमा झर्दा नेप्सेको रेखाचित्रमा झण्डा आकृतिले पनि पूर्णता पाउने देखिन्छ । यस्तो आकृति पूरा भए नेप्सेले बाटो बदल्न सक्छ ।

प्रतिकृया दिनुहोस