प्रदेश–५ को हिउँदे अधिवेशन शुरु, सिफारिस समितिको म्याद थप हुँदै
प्रदेश–५ को प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ ।
अघिल्लो अधिवेशन सकिएको करीब चार महीनापछि हिउँदे अधिवेशन शुरु भएको हो ।
कानून निर्माणमा केन्द्रित हुने यो अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने चारवटा विधेयक प्रदेश सभामा दर्ता गरेको छ ।
आजको बैठकमा प्रदेश–५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश–५ मा संघसस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने कार्यसूची रहेको छ ।
त्यस्तै प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिस गर्ने विशेष समितिको संयोजक चयन गरेको तथा विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सम्बन्धमा पनि सभामुखले प्रदेशसभालाई जानकारी गराउने छन् ।
दीपक ज्ञवाली, बुटवल