जुम्ला जान पाउँ भन्दै १५० विशेषज्ञ चिकित्सकले दिए निवेदन
दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन्। गए पनि लामो समय टिक्दैनन् भन्ने आम बुझाइ छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय यो बुझाइलाई गलत सावित गरिदिएको छ। प्रतिष्ठानले आफ्ना ४ जना विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाएको छ।
सरकारी सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव भएपछि प्रतिष्ठानले फरक-फरक विधाका चिकित्सकहरू मंगल रावल, हरिहर देवकोटा, रमेश भट्टराई र राजीव शाहलाई जुम्लाबाट सुर्खेत अस्पताल पठाएको हो।
स्वास्थ्य मन्त्रालयले सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउँदा पनि गएको देखिँदैन। “सुर्खेत अस्पतालको मागअनुसार प्रतिष्ठानले आफ्ना विशेषज्ञ चिकित्सक पठाएका हौं,” प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले भन्छन्।
हाल प्रतिष्ठान (जुम्ला अस्पताल)मा नेपालबाटै मेडिकल शिक्षा पूरा गरेका ४५ चिकित्सक कार्यरत छन्। छिट्टै प्रतिष्ठानले एमबीबीएस र एमडीजीपी तह अध्यापन शुरु गर्दैछ। त्यसका लागि १५० विशेषज्ञ चिकित्सकले जुम्ला जान निवेदन दिएका छन्।
प्रतिष्ठानका एमडीजीपी कार्यक्रमका संयोजक डा तरुण पौडेल भन्छन्, “अब नेपाल मेडिकल काउन्सिलको स्वीकृति र अनुमतिपत्रको पर्खाइमा छौं, पाठ्यक्रम, शिक्षकलगायत सबै पूर्वाधार तयारी अवस्थामा छन्।”
अहिले प्रतिष्ठानमा नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्री तथा स्वास्थ्य र ऐनेस्थसिया सहायक अध्यापन हुन्छ। रासस