रोहित चन्दले इन्डोनेसियामा पाए सर्वोत्कृष्ट खेलाडीको अवार्ड
नेपाली मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको ‘लिग वान’ फूटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् ।
चन्द आवद्ध क्लब पर्सिजा जकार्ता लिग प्रतियोगिताको च्याम्पियन भएसँगै उनले ‘गोल्डेन बल’ जितेका हुन् ।
गोल्डेन बलको साथमा उनले १५ करोड इन्डोनेसियन रुपियाँ अर्थात् ११ लाख ६५ हजार नेपाली रुपैयाँ पनि प्राप्त गरेका छन् ।
यो सिजनमा सेन्ट्रल मिडफिल्ड, राइट र लेफ्ट पोजिसनमा उत्कृष्ट प्रदर्शन गरेका चन्दले ३ गोल र ५ एसिस्ट गरेका थिए । लिगमा रोहितले ३४ मध्ये ३२ खेल खेले । पर्सिजाले १८ जित, ८ बराबरी र ८ हारसहित ६२ अंक जोड्दै उत्कृष्ट बन्यो ।
लिग च्याम्पियन भएसँगै पर्सिजा एशियाली क्लब फूटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिग २०१९ छनोटमा पुगेको छ ।