प्रहरीसँगको मुठभेडमा डाँका समूहका १ मारिए
२३ मंसीर राति सुनसरीको कोशी गाउँपालिका-७ मुसहरि टोलनजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक डाँकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली र भारतीय नाकाबाट करीब ५ जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा १ को मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।
मृतकको सनाखत हुन सकेको छैन । शंकास्पद समूहलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरूले गोली फायर गरेका थिए । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गरेको थियो । नाम, थर र ठेगाना खुल्न नसकेका करीब ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
अन्य व्यक्ति भारततर्फ फरार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोली लोड भएका कटुवा पेस्तोल २ र मृतकको पाइन्टको खल्तीबाट ५ वटा गोलीसमेत बरामद भएको छ । रासस