नोभेम्बरमा अमेरिकासँग चीनको व्यापार नाफा उच्च
चीनको अमेरिकासँगको ब्यापार नाफा गत नोभेम्बरमा उच्च देखिएको छ।
चिनियाँ भन्सार प्रशासनका अनुसार नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन भएको हो।
“नोभेम्बरमा चिनियाँ सामानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,” तथ्यांकमा उल्लेख छ।
अमेरिकासँगको व्यापारबाट भएको नाफा गत अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो। चीन र अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भएपनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको भनाइ छ।
सन् २०१८ का ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर देखिएको छ। सन् २०१७ को सोही अवधिमा व्यापार नाफा २ खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारी जनाएका छन्। एएफपी-रासस