राम-जानकी विवाह महोत्सवको पहिलो दिन ‘नगर दर्शन’
राम-जानकी विवाह महोत्सवको पहिलो दिन २१ मंसीरमा जनकपुरमा ‘नगर दर्शन’ गरिएको छ।
त्रेता युगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा नगर भ्रमण गरिएको हो। तीन बालकलाई गुरु विश्वामित्र, श्रीराम र लक्ष्मणको पहिरन र साजसज्जा गरी मिथिला भ्रमण गराइयो।
नगर दर्शनका लागि जानकी मन्दिर प्रांगणको उत्तरपश्चिम कुनामा पसल र फूलबारीको स्टल लगाइएको थियो। राम र लक्ष्मणको चरित्र धारण गरेका बालकहरूलाई राम चरित्रमानस र रामायणका श्लोकलाई संगीतबद्ध गरी मन्दिरका पूजारीले मिथिलाको वर्णन गरेका थिए।
रामजानकी विवाह महोत्सवअन्तर्गत दोस्रो दिन २२ मंसीरमा फूलबारी लीलाको कार्यक्रम छ।