टिप्पणीशनिबार, २२ मंसिर , २०७५

‘फिसिङ क्याट’ जोगाउने कसले?

हिमालखबर

कमल मादेन

बाघभन्दा न्यून संख्यामा रहेको फिसिङ क्याटलाई जोगाउन वन्यजन्तु संरक्षण ऐनले नै उपेक्षा गरेको छ।

स्तनधारी वर्गका स-साना जनावरका अनुसन्धानकर्ता सागर दाहाल खासगरी बिरालो समूहका जनावरहरूमा केन्द्रित छन्। माछा खाएर जीवन निर्वाह गर्ने बिरालोबारे उनले विशेष अध्ययन गर्दै आएका छन्। ‘फिसिङ क्याट’ भनिने यी बिरालोको वैज्ञानिक नाम ‘प्राइनैलुरस विवेरीनस्’ हो। यो प्रजातिको बिरालो नेपालका साथै भारत, बाङ्लादेश, श्रीलंका, कम्बोडिया, इन्डोनेसियाको जाभा टापु, थाइल्यान्ड, म्यान्मार र भियतनाममा भेटिएका छन्।

नेपालमा फिसिङ क्याट सर्वप्रथम सन् १८३६ मा अनुसन्धानकर्ता ब्रायन हड्सनले फेला पारेका थिए। त्यसले करीब तीन फिट लामो सर्प खाएको थियो। खप्परको लम्बाइ पाँच इन्च र चौडाइ तीन इन्च भएको फिसिङ क्याटको उक्त नमूना लण्डनको न्याचुरल हिस्ट्री म्युजियममा सुरक्षित छ।

फिसिङ क्याट घरपालुवा बिरालोभन्दा दोब्बर ठूलो हुन्छ। झट्ट हेर्दा बाघजस्तै देखिने यो अत्यन्त आक्रामक हुन्छ। खुट्टाका पञ्जा पानीमा तैरिन सघाउने किसिमका हुन्छन्।

गएको दशैं-तिहारको बीचमा दाहालसँगै काठमाडौंबाट तुम्लिङटार हुँदै अरुण-वरुण उपत्यकामा करीब १० दिन घुमघाम गरियो। यात्राका क्रममा बिरालो समूहका जनावरबारे दैनिकजसो कुराकानी हुन्थ्यो। भाइटीकाको दिन तेह्रथुमबाट विराटनगर झरेपछि म काठमाडौं फर्किएँ। उनी भने फिसिङ क्याटको सम्भाव्य अध्ययनस्थल निर्क्योल गर्न झापाको जलथल जंगलतर्फ लागे। केही दिनको अवलोकन र स्थानीय व्यक्तिहरूसँगको छलफलपछि त्यहाँ फिसिङ क्याट नरहेको संकेत उनले पाएछन्।

रातको शिकारी
फिसिङ क्याटको टाउकोबाट पुच्छरतर्फ खैरो पृष्ठभूमिमा काला धब्बाहरू ६ देखि ८ वटासम्म समानान्तर रूपमा हुन्छन्। भालेले एकभन्दा बढी पोथीसँग संसर्ग गर्छ। संसर्गको ६३ देखि ७० दिनमा बच्चा जन्मिन्छ। एकदेखि चार वटासम्म बच्चा जन्माएको पाइए पनि अक्सर दुई वटा जन्माउँछ। बच्चाले जन्मेको १६ दिनमा आँखा देख्छ।

चिडियाखानाहरूमा राखिएका भाले फिसिङ क्याटले बच्चा हुर्काउन पोथीलाई सहयोग गरेको देखिएको छ। तर, प्राकृतिक बासस्थानमा भालेले त्यस्तो सहयोग गर्छ या गर्दैन भन्ने जानकारी छैन। बच्चा १० महीनाको भएपछि माउबाट छुट्टिन्छ। बच्चा हुर्किएसँगै भाले र पोथी पनि छुट्टिएर बस्छन्। पोथीले ४ देखि ६ वर्ग किलोमिटर आफ्नो विचरण क्षेत्र बनाउँछे भने भालेले १६ देखि २२ वर्ग किलोमिटर।

फिसिङ क्याट रातमा शिकार गर्न निस्कन्छ। गाउँघर नजिकका नदी, नाला, पोखरी र विशेषतः झाडी भएको ठाउँ यसको वासस्थान हो। पानीमा पौडिन सक्ने भएकाले यसले माछाको शिकार सजिलै गर्छ। मुख्य आहार माछा भए पनि यसले भ्यागुता, गँगटा, शंखेकीरा, सर्प, चरा, कुकुर तथा गाईवस्तुको मासु पनि खाने विभिन्न अनुसन्धानले देखाएका छन्।

अध्ययनको इतिहास
फिसिङ क्याटबारे सबैभन्दा पहिले जे.एम. हेथले सन् १८३३ को जूलोजिकल सोसाइटी अफ लण्डनको एक बैठकमा मौखिक रूपमा कुरा उठाएका थिए। सोही वर्ष यसबारे लिखित दस्तावेज छापियो। नेपालमा भने फिसिङ क्याट फेला पार्ने पहिलो अन्वेषक ब्रायन हड्सन हुन्, जुन समयमा यसको वैज्ञानिक नाम ‘फेलिस हिमालयन्स्’ लेखिएको थियो।

यसबारे धेरै अन्वेषकहरूले अध्ययन गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९० ताका फिसिङ क्याटमा रेडियो टेलेमेट्री अध्ययन गरिएको थियो। उक्त अध्ययनले यसको विचरण क्षेत्रको दायरा पत्ता लागेको थियो। पछिल्लो समय फिसिङ क्याट चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षलगायत क्षेत्रमा पाइएका छन्।

सन् २०१० मा प्रकाशित दामोदर थापा क्षत्री र जे. पाल लिखित ‘डाइभर्सिटी अफ म्यामल्स इन एन्ड एराउन्ड अफ कोशी टप्पु वाइल्डलाइफ रिजन’ शीर्षक लेखमा कोशी टप्पुको सिमसारमा फिसिङ क्याट आक्कलझुक्कल भेटिने उल्लेख छ। अर्को अनुसन्धानात्मक लेखमा जनाएअनुसार फिसिङ क्याट अनुसन्धान परियोजना सन् २०११ मा पहिलो पटक कोशी टप्पु वन्यजन्तु आरक्षमा केन्द्रित भएर गरिएको थियो।

उक्त परियोजनामा ‘क्यामेरा ट्रयाप’ प्रयोग गरिएको थियो। सन् २०१२ मा रमा मिश्र र अरूहरूले चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती र नारायणी नदी आसपासका करीब १६० वर्ग किलोमिटरमा अनुसन्धान गरेका थिए।

एस.आर. ज्ञवाली र अरूहरू लिखित पुस्तक ‘द स्टेट्स अफ नेपाल्स् म्यामल्स्ः द नेशनल रेडलिस्ट सेरिज’ (सन् २०११) अनुसार नेपालमा १५० देखि २०० वटा फिसिङ क्याट हुनसक्छन्। सन् २०१० ताका अनुसन्धानकर्ता सागर दाहालले चितवनमा फिसिङ क्याट पासोमा पारेपछि उनले आफ्नो अनुसन्धान यसमै केन्द्रित गर्न थाले।

तराईमा प्रशस्त सिमसार क्षेत्र भए पनि केहीमा मात्र फिसिङ क्याट पाइने उनको भनाइ छ। दाहाल सन् २०१६ देखि सञ्चालन भएको ‘कन्जरभेसन इनिसिएटिभ अफ फिसिङ क्याट इन द ह्युमन डोमिनेटेड ल्यान्डस्केप अफ सेन्ट्रल तराई’ नामक अनुसन्धानात्मक परियोजनाका मुख्य अनुसन्धानकर्ता हुन्। उनका अनुसार नेपालमा फिसिङ क्याटको संख्या ज्ञवाली र अरूहरूले उल्लेख गरेकै हाराहारीमा हुनुपर्छ।

संरक्षणमा बेवास्ता
अध्येताहरूले बताएको संख्याका आधारमा नेपालमा पाइने स्तनधारी जन्तुहरूमध्ये फिसिङ क्याट अत्यन्तै दुर्लभ हो भन्ने स्पष्ट छ। बढ्दो सिमसार विनाश, मानव बस्ती तथा सडक विस्तार आदिका कारण यसको अस्तित्व संरक्षित क्षेत्र र त्यस आसपासका क्षेत्रमा खुम्चिएको छ।

तर, यथार्थ कस्तो छ भने हामीकहाँ फिसिङ क्याटलाई संरक्षित सूचीमा राख्ने आवश्यकतासमेत महशूस गरिएको छैन। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले फिसिङ क्याटभन्दा पनि लेपर्ड क्याट (चरी बाघ) लाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। जसको संख्या फिसिङ क्याटको जस्तो न्यून छैन, पहाडी तथा हिमाली भेगमा प्रशस्त भेटिन्छ।

अनुसन्धानले देखाएअनुसार नेपालमा बाघभन्दा फिसिङ क्याटको संख्या कम छ। तर, बाघ अनुसन्धान र संरक्षणमा प्राथमिकता दिइरहँदा फिसिङ क्याटलाई बेवास्ता गरिएको छ। छिमेकी देश भारतमा भने बाघ संरक्षणको हैसियतमै फिसिङ क्याटलाई राखिएको छ। नेपालको वन्यजन्तु संरक्षण ऐन लगभग भारतको ऐन जारी भएकै बेला आएको हो। त्यहाँ बाघ र फिसिङ क्याटको संख्या वृद्धि गर्न उत्तिकै ध्यान दिइएको छ। तर, नेपालमा संरक्षणको प्रयास त परको कुरा, ठूला वन्यजन्तुमा केन्द्रित हुने सरकारी कार्यक्रमका कारण यस जनावरप्रति आम नेपाली बेखबर छन्।

स्थानीय बासिन्दाको नजरमा फिसिङ क्याट र वन बिरालो उही दर्जामा पर्छन्। अझ माछा मारेर गुजारा चलाउने तराईका मलाहा समुदायले फिसिङ क्याटलाई दुश्मन ठान्छन्। यसैले उनीहरूमा फिसिङ क्याटबारे चेतना जगाउने अभियान आवश्यक छ।

प्रतिकृया दिनुहोस