काठमाडौं महानगरका विद्यालयमा एउटै पोशाक
काठमाडौं महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ ।
महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको हो ।
विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुने भएकाले यहाँ पनि त्यही नियम लागू गर्ने तयारी गरिएको जानकारी दिए ।
महानगरले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक, विद्यार्थी संगठन र अभिभावकसँग अन्तक्र्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्नेछ ।
यसैगरी महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ ।
आगामी शैक्षिक सत्रदेखि कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको छ ।
काठमाडौं महानगरभित्र ९१ सामुदायिक र ६४० संस्थागत विद्यालय छन् । रासस