आयोजनाको अनुगमन र मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न ‘एक्सन रुम’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमनका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया शुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न एक्सन रुम बनाउने लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार त्यसका लागि २ वटा कम्पनीले प्रस्ताव ल्याएका छन् ।
प्रस्तावको प्राविधिक पक्षबारे अध्ययन भइरहेको कुँवरले जानकारी दिए। कम्पनी छनोटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ । एक साताभित्र कम्पनी छनोट गरेर ४ साताभित्र रुम बनाइसक्ने तयारी भएको कुँवरले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा उक्त कक्ष बनाइनेछ । आयोजना स्थल र मुख्यमन्त्रीहरूका कार्यालयलार्इ 'एक्सन रुम'मा जोडिनेछ । त्यसमार्फत प्रधानमन्त्री ओलीले सीधै राष्ट्रिय गौरवका ११ आयोजनाको अनलाइन अनुगमन गर्ने कुँवरले जानकारी दिए। प्रदेश सरकारसँग समन्वय गर्न प्रधानमन्त्री ओलीले उक्त एक्सन रुमबाटै मुख्यमन्त्रीहरूसँग भिडियो संवाद गर्नेछन्। रासस