‘ए’ डिभिजन लिग- संकटाद्वारा पुलिस क्लब पराजित
नेपाल पुलिस क्लबलाई पराजित गर्दै संकटा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।
१८ मंसीरमा एन्फा मैदान सातदोबाटोमा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै संकटा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
पुलिस क्लबविरुद्ध खेलको २९औं मिनटमा लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले हेडमार्फत गोल गर्दै संकटालाई शुरुआती अग्रता दिलाए। ३७औं मिनटमा दिपेश आलेमगरले गोल गरेपछि संकटाले २-० को अग्रता बनायो। ३९औं मिनटमा रवी पासवानले गोल गर्दै पुलिस क्लबलाई २-१ को स्थितिमा ल्याए।
पहिलो हाफमा २-१ गोलमा सकिएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन र संकटाले खेल आफ्नो पक्षमा पार्यो। खेलमा संकटाका सरोज दाहालले म्यान अफ दी म्याच हुँदै रु १० हजार प्राप्त गरे।
संकटाको यो पाँचौं जित हो। जितसँगै संकटाले ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानको मनाङ मर्याङ्दीसँग अंक बराबर गरेको छ। मनाङले भने पाँच खेल मात्र खेलेको छ। लिगमा १० अंक जोडेको पुलिस क्लब पाँचौं स्थानमा छ।
छैटौं चरणका खेलअन्तर्गत १९ मंसीरमा तीन खेल हुनेछन्। पहिलो खेल मनाङमर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब, दोस्रो च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच तेस्रो खेल हुनेछन्। रासस