टिप्पणीमंगलवार, मंसिर १८, २०७५

पार्कमा ढलेको धरोहर

मिलन बगाले

२०७२ सालको भूकम्पमा भत्किएको त्रिभुवन पार्कको शालिकलाई पुनर्निर्माण अभियानले समेट्न नसक्नु इतिहास बिर्सनु हो।

थानकोटस्थित त्रिभुवन पार्कमा राजा त्रिभुवनको ढलेको शालिक।

देशमा विभिन्न कालखण्डमा धेरै पात्रका शालिक ठडिए। इतिहास सम्झाउने केही सत्पात्र तथा सत्ता र शक्तिको आडमा अग्ल्याइएका विभिन्न पात्रका शालिक हामीले हेर्दाहेर्दै दोबाटो र चौबाटोबाट एकपछि अर्को गर्दै विलाए।

बगैंचा, पार्क, संग्रहालय परिसर र सडकका चोक-चोकमा भएका अर्धकद र पूर्णकदका शालिक फोर्ने उन्मादी लहर बितेको १०-१५ वर्षमा निकै चल्यो। मूर्तिकलाको इतिहास मेटाउने त्यो कालखण्डमा धेरै मूर्तिकारले आफूले कठोर परिश्रम खन्याएर बनाएका कला धूलोपीठो भएको टुलुटुलु हेरिरहे।

भलै शालिक बनेर उभिएका पात्रको इतिहास र छवि एकनाश छैन। वास्तुकला र मूर्तिकला शासन व्यवस्था फेरिएसँगै फोर्न मिल्ने र हुने वस्तु होइनन्। शासन व्यवस्था फेरिएसँगै शासकीय विधि र पद्धति फेरिन्छन्, संविधान र नियम-कानून फेरिन्छन्। तर, ललितकला र वास्तुकलाका कीर्ति तथा तिनका इतिहासका पाना च्यातेर ती दिनबाट समाज मुक्त हुन सक्दैन।

ती कीर्तिहरू देशको इतिहास सम्झाउने र तत्कालीन समाज र व्यवस्थाको आफ्नोपन बताउने प्रतिविम्ब हुन्। इतिहासले सत्पात्र र खराब पात्र तथा सुदिन र दुर्दिन दुवैको लगत यथोचित तरिकाले राख्छ नै।

२०४६ सालको जनआन्दोलनमा रुकुमका तारा खड्काले दरबारमार्गमा रहेको राजा महेन्द्रको शालिकबाट राजदण्ड उखेलेको तस्वीरबाट असाध्यै रोमाञ्चित युवा वर्गले सडकमा आक्रोश र आवेग पोख्ने माध्यम शालिकलाई बनायो। हामीले देख्दादेख्दै देशभरमा पृथ्वीनारायण शाह, महेन्द्र, वीरेन्द्र, सेतु विक, बीपी कोइरालादेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका शालिक फोरिए।

शालिकलाई हरेक आक्रोश र आवेगको तारो बनाइँदा मूर्तिकलाको ऐतिहासिक पाटो मेटिँदै गएकोतिर कसैको चासो र चिन्ता झल्किएन।

१२ वैशाख २०७२ को भूकम्पमा त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकलाई ओत दिन बनाइएको मण्डप तासको घरझैं ढल्यो। शालिक जसोतसो जोगियो। तर, थानकोटस्थित त्रिभुवन पार्कमा अवस्थित शालिक भूकम्पमा जोगिएन। राणाशासन ढलेको दिनकै याद गराउने गरी राजा त्रिभुवन दिल्लीबाट डकोटा विमान चढेर गौचर हवाई अड्डामा उत्रेर नेपाली जनतालाई अभिवादन गर्दै गरेको तस्वीरमा आधारित विशाल शालिक थियो, त्यो। भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि त्यो शालिक पार्कमै बेवारिसे अवस्थामा छ।

धूलाम्य काठमाडौंसँग हरियो फोक्सो अर्थात् पार्कहरूको असाध्यै अभाव छ। पार्कहरू थपिनु त कता कता, भएका पार्कहरूलाई यथा स्वरूपमा संरक्षण गरी अतिक्रमणबाट जोगाउने कामसमेत हुनसकेको छैन। त्रिभुवन पार्क अहिले पस्दै नपसौंजस्तो लाग्ने गरी उजाडिँदै गएको छ। जीर्ण पिकनिक स्थल र भान्साघर, दुर्गन्धित शौचालय, धूलोले ढाकिएका रूखपातसँगै ढलेको शालिकले यो पार्कमाथि भएको हेलाहोचोको कथा बताइरहेको छ।

बनेपा र नेपालगञ्जमा रहेका त्रिभुवनका शालिकलाई उन्मादी हूलले फोरेको थियो। शहीदगेटका त्रिभुवनलाई तत्कालीन सरकारले नै उखेल्न खोजेथ्यो। फागुन २०७१ मा प्रजातन्त्र दिवसको अघिल्लो दिन सर्वोच्चले उक्त कदमलाई रोकिदियो। इतिहास ढलाएरै राखिराख्ने त्रिभुवन पार्कको यो अनर्थचाहिँ कसले रोकिदिने हो ?

हाल पार्क रहेको ठाउँमा ७ फागुन २०२७ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले स्मारकको शिलान्यास गरेका थिए। पछि ८ फागुन २०२८ मा राजा वीरेन्द्रबाट ढुंगे स्मारकमाथि उभिएका राजा त्रिभुवनको पूर्णकदको शालिकको अनावरण गरिएको थियो। ११२ रोपनी क्षेत्रफलमा फैलिएको जमुना चौर भनिने सो ठाउँलाई पार्क बनाउने काम २०२८ फागुनमै शुरू भएको हो।

पहिले जसरी विशाल ढुंगे स्मारकमाथि यो शालिक राख्नु अब त्यति उपयुक्त नहोला। १२ वैशाखको भूकम्पमा शालिक ढल्दा एक बालकको ज्यान गएको थियो। यसै कारण ढुंगे स्मारकलाई मर्मत गरी ढलेको इतिहास झल्कने एउटा शिलालेख राखेर भविष्यका विपतले असर नपार्ने गरी सानो स्मारकमाथि शालिक उभ्याउने तारतम्य मिलाउनु उचित हुन्छ।

राजादेखि कवि-लेखकसम्मका शालिक फोर्दै हिँड्नेहरूले पाएको स्वतन्त्रताको जग राजा त्रिभुवनले नै हालिदिएका हुन्। जगको जतन गर्दै ढलेको शालिक उभ्याउन कस्सिनेहरूको जय होस् !

प्रतिकृया दिनुहोस