तेह्रथुमका ६ स्थानीय तह, गाडी खरीदमा सात करोड खर्च
तेह्रथुमका छ स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरीदमा सात करोड रुपैयाँ खर्च गरेका छन् ।
कार्य सम्पादनमा सहजता ल्याउने नाममा ६ वटा स्थानीय तहको रु. ६ करोड ९० लाख ३९ हजार ७०० रकम गाडी खरीदमा खर्च भएको छ ।
म्याङ्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५५ लाखमा स्कार्पियो जीप खरीद गरेको छ । त्यस्तै रु २९ लाखमा १० वटा मोटरसाइकल खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले जानकारी दिए ।
गाडी नगर प्रमुखका लागि खरीद गरिएको र मोटरसाइकल नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका लागि खरीद गरिएको नगरपालिकाले जनाएको छ । कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । म्याङ्लुङमा यसअघि ३० लाखमा किनिएको पिकअप गाडी चालू अवस्थामा छ । अरु छ वटा मोटरसाइकल र एउटा स्कूटर पनि चलिरहेका छन् ।
लालीगुराँस नगरपालिकाले रु ३३ लाखमा पिकअप गाडी र १५ वटा मोटरसाइकल खरीद गरेको छ । नौ वटा मोटरसाइकल रु दुई लाख १७ हजारका दरले, तीन वटा रु दुई लाख ६० हजारका दरले र बाँकी तीन वटा दुई लाख तीन हजार, चार लाख ८० हजार र चार लाख ८४ हजारका दरले खरीद गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताएका छन् ।
यसका साथै लालीगुराँस नगरपालिकाले रु ३० लाखको एउटा ट्रयाक्टर, ९५ लाखको स्काभेटर र ३८ लाखको जेसिवीसमेत खरीद गरेको छ । चालू आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरीदका लागि रु १० लाख र नगर बस खरीदका लागि रु ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताए ।
छथर गाउँपालिकाले रु ६५ लाखमा पिकअप गाडी खरीद गरेको छ । चार वटा मोटरसाइकल रु दुई लाख १७ हजारका दरले र रु दुई लाख ६० हजारमा थप एउटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताए । साविकका गाविसले खरीद गरेका तीन वटा मोटरसाइकल हाल वडाध्यक्षले प्रयोग गर्दै आएका छन् ।
मेन्छ्यायेम गाउँपालिकाले रु ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरीद गरेको छ । रु दुई लाख १७ हजारका दरले छ वटा मोटरसाइकल पनि खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले जनाएका छन् ।
फेदाप गाउँपालिकाले रु ५४ लाख १५ हजारको स्कार्पियो गाडी र रु पाँच लाख ९४ हजार ९०० का दरले तीन वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले जानकारी दिए । उनले तीन लाखका दरले थप तीन वटा मोटरसाइकल पनि चाँडै खरीद गरिने बताए ।
आठराई गाउँपालिकाले रु ५२ लाखमा एउटा स्कार्पियो गाडी र रु दुई लाख १५ हजारका दरले चार वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताएका छन् । रासस