ओपेकबाट बाहिरिँदै कतार
एसोसिएटेड प्रेस
कतारले पेट्रोलियम निर्यातक मुलुकहरूको संगठन ओपेकबाट आगामी जनवरीदेखि बाहिरिने घोषणा गरेको छ।
पश्चिम एसियाली खाडी मुलुक कतार विश्वको तेस्रो ठूलो प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको खानी भएको मुलुक हो।
जुन २०१७ देखि छिमेकी मुलुकहरूबाट नाकाबन्दी झेलिरहेको कतारको साहसी निर्णय सार्वजनिक भएको हो। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी लगाएका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार कतारका ऊर्जा मन्त्री साद सेरिदा अल-काबीले सोमवार ओपेकबाट बाहिरिने सरकारको निर्णय सार्वजनिक गरेका हुन्। सन् १९६१ मा कतार ओपेकको सदस्य बनेको थियो। प्राकृतिक ग्यास उत्खनन र बिक्रीमा केन्द्रित हुने उद्देश्यले ओपेकबाट बाहिरिने निर्णय भएको मन्त्री अल-काबीको भनाइ छ।
थोरै तेल उत्पादन गरिरहेको भए पनि संसारकै सबैभन्दा धेरै तरल प्राकृतिक ग्यास निर्यात गर्ने मुलुक हो, कतार। मन्त्री अल-काबीले यो निर्णय कतारलाई छिमेकी मुलुकहरूले लगाएको राजनीतिक र आर्थिक नाकाबन्दीसँग सम्बन्धित नभएको बताएका छन्।
साउदी अरेबियालाई ओपेकको छाया नेतृत्व मुलुक मानिन्छ। ओपेकको सदस्यता त्याग गरेको कतारले गैरओपेक देश रुसलगायतसँग मिलेर तेल उत्पादनको नीतिमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। अहिले तेल उत्पादन र निर्यातमा ओपेकको एकाधिकार छ, जसको नीतिका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा असर पर्छ।