क. सम्पादकीय आचारसंहिता
प्रेस स्वतन्त्रता र सम्पादकीय सामग्रीको प्रसारण लोकतन्त्रको आधारस्तम्भ हो। पत्रकारिताको स्वभाव नै समाजमा लुकेका बेथिति, व्यभिचार र अन्यायलाई उजागर गर्नु हो। हामीलाई थाहा छ, हामीले गरेका सबै कामहरू हरेक ठाउँमा लोकप्रिय वा स्वागतयोग्य हुँदैनन्। यो जान्दाजान्दै पनि हामी आफ्नो काम र कर्तव्य निरन्तर रूपमा निडरतापूर्वक निर्वाह गर्दछौं।
पत्रकारिता निष्पक्ष, यथार्थपरक, वस्तुपरक र सन्तुलित छ भन्ने कुराको सुनिश्चितता गर्ने महत्त्वपूर्ण जिम्मेवारी पनि हाम्रै रहनेछ। हाम्रो कार्यसञ्चालन, प्रस्तुति र आचरण सबैमा निष्ठा, इमानदारी र जवाफदेही कायम रहन सके मात्र हामी विश्वसनीय र विश्वस्तरीय पत्रकारिताको संवाहक बन्न सक्दछौं भन्ने हाम्रो प्रस्ट बुझाइ छ।
समाचारकक्ष सञ्चालनमा स्वतन्त्र र सहज वातावरणको निर्माण गर्न कटिबद्ध छौँ। हाम्रा व्यावसायिक व्यवस्थापनका निर्णयहरू, आर्थिक क्रियाकलाप र दिगोपनका उपायहरूले हाम्रो समाचार संकलन, सम्पादन र प्रसारण सम्बन्धी निर्णयहरूलाई कुनै खालका बाधा र व्यवधान नपुग्ने कुरामा सजग रहँदै सबैलाई विश्वस्त पार्न चाहन्छौं।
यो नीति हिमालमिडिया प्रा.लि. अन्तर्गत सञ्चालित हिमालखबर अनलाइनका प्रकाशक, पत्रकारहरू र यसका सबै कर्मचारीहरूमा लागू हुन्छ। कर्मचारीहरू भन्नाले हिमालखबरका पूर्णकालीन वा आंशिक कर्मचारी, अस्थायी वा करारमा खटिएका व्यक्ति, योगदानकर्ता, सल्लाहकार, प्रशिक्षार्थी र स्वयंसेवकहरू समेत बुझिन्छ।
यस नीतिको उद्देश्य पत्रकार तथा सञ्चारमाध्यमद्वारा समाचार प्रकाशनमा अपनाउनुपर्ने उच्च मापदण्ड, नैतिकता र अभ्यासहरूबारे स्पष्ट रूपेरखा, मार्गनिर्देशन प्रदान गर्नु रहेको छ। यो प्रकाशकहरूको दैनिक कार्यसञ्चालनमा बाधा पुर्याउने कुनै प्रयास होइन। यस आचारसंहिता तयार गर्दा नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत हक अधिकार जस्तैः सूचनाको हक, विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक, गोपनीयताको हक आदि र यससँग जोडिएर आउने दायित्व–जिम्मेवारीहरूलाई विशेष ध्यान दिइएको छ।
यसका साथै प्रेस काउन्सिल ऐन, २०४८, नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ लगायत विश्वजगत्मा स्थापित पत्रकारिता सम्बन्धी अभ्यास, सूचना प्रविधि र साइबर सुरक्षा, कपिराइट र सामाजिक सञ्जालको उचित प्रयोग जस्ता विषयवस्तुप्रतिको सतर्कता र सम्पादकीय मूल्यमान्यताहरूलाई आधार बनाइएको छ।
हिमालखबरको समाचारकक्ष सदस्यका रूपमा हामी यो आचारसंहिता पालना गर्न प्रतिबद्ध छौं, जस अनुरूप हाम्रो पत्रकारिता गुणस्तरीय हुन सकोस् र हामीले गरेका हरेक काममा पाठक, श्रोता र दर्शकहरूको विश्वास जित्न सकौं। हाम्रो प्रमुख जिम्मेवारी तथ्यप्रति हुनेछ र हाम्रो जवाफदेही राष्ट्र, समाज, समुदाय, पाठक, श्रोता र दर्शकहरूप्रति रहनेछ।
१. दायित्व
- नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति सदैव सत्य–तथ्य सूचना प्रवाह गर्दै नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि हामी सदैव सक्रिय एवं समर्पित रहनुपर्दछ।
- मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र र लिखतहरूले प्रत्याभूत गरेका अधिकार, सिद्धान्त र मान्यताहरूको सम्मान गर्दै लोकतन्त्र, न्याय, समानता, स्वतन्त्रता, समावेशिता, मानवीयता, शान्ति तथा अन्तर्राष्ट्रिय समझदारीको संरक्षण तथा संवद्र्धन गर्नुपर्ने विषयमा हामी सचेत हुनुपर्दछ।
२. मर्यादित र जिम्मेवार पत्रकारिता
- हामीले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता अवलम्बन गर्दै सूचना वा जानकारीको संकलन र सम्प्रेषण सभ्य र शिष्ट शैलीमा गर्नुपर्दछ।
- नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनता विरुद्ध एवं विभिन्न जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन।
- कसैलाई त्रस्त पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र अनुचित लाभ वा हानि पुर्याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादा प्रतिकूल कार्य गर्नु हुँदैन।
- अशक्त, असहाय तथा अन्य अल्पसंख्यक समुदायका बारेमा, महिला तथा ज्येष्ठ नागरिकका बारेमा, अपांगता भएका व्यक्तिका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्याउने हुँदैन।
- कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजीकका व्यक्तिको नाम असान्दर्भिक रूपमा जोडी कसैको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुनेगरी कुनै पनि सामग्री प्रस्तुत गर्नु हुँदैन।
- पत्रकार परिचयपत्र वा प्रेस प्रतिनिधि प्रमाणपत्र वा सञ्चारमाध्यमको अनुमतिपत्रलाई व्यक्तिगत स्वार्थ वा अवाञ्छित काममा प्रयोग गर्नु हुँदैन।
- हस्तक्षेपकारी रिपोर्टिङ अस्वीकार्य छ। स्थान, समय र सन्दर्भबारेमा शिष्टतापूर्वक आफ्नो व्यावसायिक मर्यादाको पालना गर्नुपर्दछ।
३. संवेदनशील विषय वा स्थानबारेको सजगता र सावधानी
- बालबालिका सम्बन्धी सामग्री संकलन तथा सम्प्रेषण गर्दा बाल संवेदनशीलतामा ध्यान पुर्याउनेपर्दछ। बालबालिकालाई तत्कालीन र दीर्घकालीन हानि हुने गरी समाचार संकलन तथा सम्प्रेषण गर्नु हुँदैन।
- सोह्र वर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तर्वार्ता वा तस्वीर अभिभावक, संरक्षक वा परिवारको अनुमति विना लिनु हुँदैन।
- कानून विपरीत कार्यमा संलग्न बालबालिका सम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्त विपरीत गोपनीयता खोल्नु हुँदैन।
- आपराधिक गतिविधिमा संलग्न बाबुआमा वा परिवारका सदस्यहरूको समाचार दिँदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछ्नु हुँदैन।
- व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार भएका विषय सम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नु हुँदैन।
- प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा सूचना संकलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भाव जस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ।
- कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्दछ। यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमि जस्ता विषयलाई यथासम्भव प्रस्तुत गर्नुपर्दछ। तर मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पर्नेगरी गरिने कुनै पनि प्रकारका मत सर्वेक्षण वा सामग्री प्रकाशन वा प्रसारण गर्नु हुँदैन।
- न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रिया वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्नु हुँदैन।
- हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन।
- विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्नेगरी कुनै पनि विवरण, चित्र, संकेत लगायत सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन।
- यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा मानवता विरोधी अपराधबाट प्रभावित वा पीडितलाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन। त्यस्तो अवस्थामा प्रभावित व्यक्तिको सचेत स्वीकृति विना र प्रभावको मूल्यांकन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुलाउनु हुँदैन।
- यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा सन्दर्भमा प्रभावितको सचेत स्वीकृति र त्यसले पार्नसक्ने प्रभावको मूल्यांकन विना नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्वीर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नु हुँदैन।
४. सत्यता, पारदर्शिता र प्रमाणीकरण
- समाचार र जानकारीहरू सही, पुष्टि गरिएको र एक हदसम्मको पूर्णता कायम गरिएको/अर्थपूर्ण हुनुपर्दछ । कुनै पनि जानकारी प्रकाशन गर्नुअघि यसको सत्यता जाँच गर्नुपर्दछ । (अलिकति विस्तृत रूपमा सम्पादकीय सामग्री सम्बन्धी निर्देशिका/मापदण्डमा पनि समावेश गरिएको छ ।)
- पत्रकार तथा सञ्चारमाध्यमले कुनै टिप्पणी वा स्पष्टता विना तस्वीर, भिडिओ दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने वा असान्दर्भिक हुनेगरी सामग्री प्रकाशन वा प्रसारण गर्नु हुँदैन ।
- पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी प्रचलित विश्वव्यापी मान्यता अनुसार समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नुपर्दछ ।
- समाचार वा समसामयिक विषयवस्तुहरूमा कुनै मुद्दामामिलाप्रति दृष्टिकोण प्रदान गर्न, वा त्यसको महत्त्व व्याख्या गर्न, वा रिपोर्ट गरिएको विषयमा उक्त प्रसारक वा टिप्पणीकारको राय/टिप्पणी/ दृष्टिकोण के हो भनेर दर्शकहरूलाई थाहा दिन/अवगत गराउन वाञ्छनीय/स्वीकार्य छ । यद्यपि यसले हामीलाई जानीजानी गलत वा भ्रामक जानकारी प्रस्तुत वा प्रसार गर्ने अनुमति दिँदैन। साथै तथ्यपरक सामग्रीको रिपोर्टिङलाई यस्तो खालको टिप्पणी वा विश्लेषणबाट छुट्याइनुपर्दछ ।
- सूचना कसरी संकलन गरिएको भन्ने बारेमा पारदर्शी हुनुपर्दछ । स्रोतहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ । बेनाम वा अमुक स्रोतहरू प्रयोग गर्दा पनि यसको विश्वसनीयता सुनिश्चित गर्नुपर्दछ ।
- गोपनीय पत्रकारिताको प्रावधान अनुरूप कुनै पनि प्रविधिको अदृश्य रूपमा प्रयोग गर्नु हुँदैन । सार्वजनिक हितका लागि प्रविधिको गोप्य रूपमा प्रयोग गर्नुपरेमा त्यसरी संकलित सामग्री प्रस्तुत गर्दा पाठक, श्रोता वा दर्शकलाई जानकारी दिनुपर्दछ ।
- हाम्रो समाचार संस्थाको प्रतिनिधित्व गर्दा पत्रकारहरूले झूटो पहिचान/विवरण प्रयोग गर्नु हुँदैन । पत्रकारहरूले परिचय लुकाएर कुनै पनि जानकारी, तस्वीर वा भिडिओ प्राप्त गर्ने प्रयास गर्नु हुँदैन । अपवादहरूका लागि सम्पादकको स्वीकृति आवश्यक रहन्छ । उदाहरणका लागि पत्रकारहरूद्वारा ‘स्टिङ अपरेशन’ जस्ता कार्यहरू गर्नुपर्दा सम्पादकको अग्रिम स्वीकृति लिनुपर्दछ । स्वीकृति तब मात्र दिइनेछ जब त्यस्ता सामग्री अन्य स्रोत वा माध्यमबाट प्राप्त गर्न सकिँदैन र त्यसरी गोप्य तवरले सूचना संकलन गर्ने कार्य सार्वजनिक हितका लागि आवश्यक देखिन्छ ।
- अन्तर्वार्ता लिने क्रममा पत्रकारले अन्तर्वार्ता दिने व्यक्तिलाई निजका भनाइहरू कुन सन्दर्भ, माध्यम र प्रयोजनका निम्ति प्रयोग गरिनेछ भन्ने विषयको पूर्व जानकारी दिएर मात्र अन्तर्वार्ता लिनुपर्दछ ।
- सम्पादकीय निर्णयहरूमा समेत पारदर्शिता कायम गर्दै पाठकहरूलाई त्यसको जानकारी गराइनुपर्नेछ ।
- पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपयोग गर्दा मूल स्रोत उद्धृत गरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नुपर्दछ ।
- विवाद वा द्वन्द्वहरूको बारेमा समाचार सामग्री तयार गर्दा विभिन्न पक्षहरूले गरेका बयान र दाबीहरूको तथ्य जाँच गर्नुपर्ने हुन्छ, ताकि रिपोर्टिङमा विश्वसनीयता स्थापित गर्न सकियोस् ।
- अनलाइन माध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन–प्रसारण वा बाह्य लिंकहरूलाई प्रकाशन गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्नेछ । साथै सम्पादकीय सामग्री सम्बन्धी निर्देशिकामा उल्लिखित मापदण्डहरूको ध्यान पु¥याई प्रकाशन–प्रसारण गर्नुपर्ने हुन्छ ।
- अनलाइन सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्नु हुँदैन र प्रकाशित वा प्रसारित भएका सामग्री अनलाइनमा रहिरहने व्यवस्था गर्नुपर्दछ ।
५. निष्पक्षता र सन्तुलन
- कुनै पनि व्यक्ति वा समुदायलाई अनैतिक रूपमा प्रभाव पार्ने खालको रिपोर्टिङबाट टाढा रहनुपर्दछ ।
- पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक तथा मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन ।
- कुनै पनि पक्षलाई अनुचित रूपमा प्राथमिकता नदिई निष्पक्ष रूपमा रिपोर्ट गर्नुपर्दछ । तटस्थ भाषा प्रयोग गर्नुपर्दछ । कुनै एकको पक्षमा पूर्वाग्रही नबनी रिपोर्टमा प्रयोग हुने टोन र शब्द चयनमा सन्तुलन कायम राख्नुपर्दछ ।
- विवाद वा द्वन्द्वहरूबारेमा समाचार सामग्री तयार गर्दा विषयवस्तुको सन्दर्भ/प्रसंगमा स्पष्टता झल्किने गरी त्यसको पृष्ठभूमि, इतिहास, घटनाको विकासक्रम र बृहत् सामाजिक प्रभावको दायरालाई चित्रण गर्नुपर्दछ । यसले स्थिति वा घटनासँग सम्बन्धित सबै पक्षहरूको दृष्टिकोण प्रस्तुत हुुनुपर्दछ ।
- प्रतिकूल रूपमा नाम उल्लेख गरिएका पक्षहरूलाई सम्पर्क गर्नुपर्दछ । कसैलाई हानि पुग्न सक्ने खालको संवेदनशील समाचार, जानकारी वा रिपोर्ट प्रकाशन–प्रसारण गर्नुअघि ती व्यक्ति वा पक्ष जसलाई त्यस रिपोर्टको प्रकाशन–प्रसारणले प्रतिकूल असर पर्न सक्छ, उनीहरूलाई सम्पर्क गर्ने प्रयास गर्नुपर्दछ । यसले उनीहरूलाई आफ्नो प्रतिक्रिया व्यक्त गर्ने अवसर दिन्छ र रिपोर्टिङको निष्पक्षतामा योगदान पु¥याउँछ ।
६. निस्वार्थ पत्रकारिता र स्वतन्त्र सम्पादकीय
- पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामग्री संकलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, प्रायोजक, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दबाब वा प्रलोभनमा पर्नु हुँदैन ।
- समाचार स्रोतसँग पेशागत मर्यादा विपरीत सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरुपयोग गर्नु हुँदैन ।
- पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्नेगरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनु हुँदैन ।
- पत्रकारहरूले आफ्नो स्वार्थ बाझिएर रिपोर्टिङमा सम्झौता गर्नुपर्ने अवस्था आउने किसिमको विषयवस्तुमा संलग्न हुनु हुँदैन । त्यस्तो अवस्था छ भने आफ्नो सम्पादकलाई जानकारी/खुलासा गराउनुपर्ने हुन्छ ।
- समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ । सम्पादकीय स्वतन्त्रताको यही सर्वमान्य सिद्धान्त बमोजिम कुनै प्रकारको दबाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना संकलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन–प्रसारण गर्नुपर्दछ ।
- सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापकले सम्पादकीय स्वतन्त्रताको सिद्धान्तलाई आत्मसात् गरी समाचार संकलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र संवद्र्धन गर्नुपर्दछ ।
७. गोपनीयता हकको सम्मान
- संविधानले गोपनीयताको हक सुनिश्चित गरेको छ । व्यक्तिहरूको निजी जीवन र गोपनीयताको हकको सम्मान गर्नुपर्दछ । कुनै पनि व्यक्तिको निजी जानकारी विना अनुमति प्रकाशन गर्नु हुँदैन । सार्वजनिक हितमा मात्र निजी जानकारी प्रकाशन गर्नु जायज ठहरिनेछ ।
- संवेदनशील जानकारी, जस्तै स्वास्थ्य, वित्तीय स्थिति, अपराध, दुर्घटना, न्यायिक प्रक्रियामा रहेका मुद्दामामिला वा व्यक्तिगत सम्बन्धबारे समाचार संकलन गर्दै गर्दा वा त्यसलाई प्रकाशन गर्नुपूर्व त्यसबारे के–कति हदसम्मको गोपनीयता कायम गर्नुपर्ने वा नपर्नेबारेमा सावधानी अपनाउनुपर्दछ ।
- पीडित वा प्रभावित व्यक्तिहरूको सम्मान र गोपनीयता कायम राख्नुपर्दछ । विशेषगरी शोक वा आघातको अवस्थामा।
- बालबालिका, असहाय र कमजोर व्यक्तिहरूको गोपनीयताको विशेष ख्याल पुर्याउनेपर्दछ ।
- स्थान, समय र सन्दर्भको प्रकृति अनुरूप आवश्यक ठहरिने व्यावसायिक गोपनीयताप्रति हस्तक्षेप गर्न नहुने कुरामा सचेत र सजग रहनुपर्दछ ।
८. विविधता र समावेशिता
- विभिन्न समुदाय, लिंग, शारीरिक अवस्था, जाति, धर्म र पृष्ठभूमिबाट आएका व्यक्तिहरूको आवाजलाई समावेश गर्नुपर्दछ ।
- समाचार रिपोर्टिङमा विविधतालाई प्रतिबिम्बित गर्नुपर्दछ र कुनै पनि प्रकारको भेदभावलाई टाढा राख्नुपर्दछ ।
- हामीले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपांगता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पुर्याउने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ ।
९. गल्ती सच्याउने तत्परता, पोस्ट डिलिट र स्पष्टीकरण
- समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा यदि गल्ती भएमा तत्काल सुधार गर्नुपर्दछ र स्पष्टीकरण दिनुपर्दछ । प्रभावित पक्षलाई आफ्नो कुरा राख्ने अवसर दिनुपर्दछ ।
- सामान्यतः हाम्रो सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित समाचारको खण्डन पीडित पक्षले हाम्रै सञ्चारमाध्यम मार्फत गर्नुपर्ने व्यवस्था छ ।तर सार्वजनिक स्वास्थ्य र सुरक्षा जस्ता संवेदनशील विषयमा तत्काल गम्भीर प्रतिकूल असर पार्ने अवस्थामा भने अर्को सञ्चारमाध्यम मार्फत खण्डन, टिप्पणी वा स्पष्ट गर्न सकिनेछ ।
- समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा सार्वजनिक सरोकार र संवेदनशील विषयवस्तु अन्तर्गतका सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नुपर्दछ ।त्रुटि एवं गल्ती भएको जानकारी हुनासाथ यथाशीघ्र सच्याउनुपर्दछ ।प्रकाशित वा प्रसारित सामग्री असत्य हो भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रस्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नुपर्दछ ।
- अनलाइनमा एकपटक प्रकाशित सामग्री प्रकाशनपश्चात् हटाउन (Post Delete) गर्नु हुँदैन । तर असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पुर्याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्दछ ।
- प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनु हुँदैन ।
१०. समीक्षा र अद्यावधिक
- हामीले बदलिँदो मिडिया क्षेत्रको परिदृश्यको आवश्यकता र चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गरेर हाम्रा आन्तरिक सम्पादकीय मापदण्ड र नीतिनियमहरूलाई नियमित रूपमा समीक्षा, परिवर्तन र सुधार गर्दै लैजानुपर्दछ ।
ख. सम्पादकीय सामग्री सम्बन्धी निर्देशिका/मापदण्ड
१. मौलिकता
- हामी मौलिक र सिर्जनात्मक सामग्री निर्माणमा विश्वास राख्छौं ।कुनै पनि लेख, फोटो, भिडिओ, अडिओ, ग्राफिक्स वा अन्य सामग्री प्रकाशन गर्दा यसको मौलिकता सुनिश्चित गर्नुपर्दछ ।
- अन्य स्रोतबाट सामग्री प्रयोग गर्दा उचित श्रेय दिनुपर्दछ ।
- प्लेजियरिज्मबाट मुक्त रहेर समाचार संकलन, निर्माण, सम्पादन र प्रसारण गर्नुपर्दछ ।
२. भाषा र शैली
- सरल, स्पष्ट, प्रभावकारी, सभ्य र शिष्ट भाषाको प्रयोग गर्नुपर्दछ ।
- भ्रम, संशय वा गलत भाष्य निर्माण गराउने उद्देश्य अनुरूपको नियोजित रूपमा अपूर्ण जानकारी वा अतिरञ्जित व्याख्याको प्रयोग गरिनु हुँदैन ।
- अश्लील, अपमानजनक र आपत्तिजनक भाषाको प्रयोगमा सचेत रहेर पूर्ण बन्देज/नियन्त्रण रहनुपर्नेछ ।
- व्याकरण र शब्द संरचना (हिज्जे) को सही प्रयोगमा ध्यान दिनुपर्दछ ।
३. फोटो र भिडिओ
- फोटो र भिडिओ प्रयोग गर्दा स्रोत स्पष्ट र सही हुनुपर्दछ ।
- फोटो र भिडिओमा कुनै पनि प्रकारको हेरफेर, छेडछाड वा भ्रम उत्पन्न गर्ने कार्य गर्नु हुँदैन।
- साजसज्जाका क्रममा वास्तविकताभन्दा अलग देखिने गरी नक्कली वा बनावटी किसिमले अलग–अलग फोटोहरू मिलाउन, छाँटकाँट वा तोडमोड गर्न हुँदैन ।मोडलिङ वा अभिनय वा रेखाचित्र वा कोलाज गरेर कुनै फोटो वा दृश्य तयार गरिएको खण्डमा पाठक, दर्शक वा श्रोता नझुक्किने गरी सो कुरा स्पष्ट उल्लेख गर्नुपर्दछ ।
- समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्वीरहरू सम्प्रेषण गर्नु हुँदैन ।त्यस्ता प्रकृतिका दृश्य सम्प्रेषण गर्नुपर्ने अवस्थामा पाठक वा दर्शक वर्गलाई सावधानीको सूचना सहित स्वविवेकपूर्ण मन्जुरी/स्वीकारोक्ति हुनुपर्ने किसिमको जानकारी समावेश गर्नुपर्दछ ।
- संवेदनशील विषयवस्तुको फोटो र भिडिओ प्रकाशन गर्दा पीडित व्यक्तिको गोपनीयता र सम्मानको ध्यान दिनुपर्दछ।
४. समाचार शीर्षक
- समाचार शीर्षक सही, स्पष्ट र समाचारको सारांशसँग मेल खाने हुनुपर्दछ ।
- भ्रम उत्पन्न गर्ने वा अतिशयोक्तियुक्त शीर्षक प्रयोग गर्नु हुँदैन ।
- शीर्षकमा कुनै पनि प्रकारको पक्षपात वा भेदभाव हुनु हुँदैन ।
५. क्याप्सन
- फोटो र भिडिओको क्याप्सन सही र स्पष्ट हुनुपर्दछ ।
- क्याप्सनमा कुनै पनि प्रकारको भ्रम वा गलत जानकारी दिनु हुँदैन ।
- क्याप्सनले फोटो वा भिडिओको सन्दर्भलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्नुपर्दछ ।
६. सन्दर्भ र आँकडा
- समाचार र लेखमा प्रयोग गरिएको सन्दर्भ र डेटा विश्वसनीय र प्रामाणिक हुनुपर्दछ ।
- तथ्य, आँकडा, विचारहरु र सन्दर्भ प्रयोग गर्दा स्रोत स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ ।
- डेटालाई उपयुक्त ढंगले प्रस्तुत गर्नुपर्दछ, जस्तै– चार्ट, ग्राफ वा तालिका ।
- गलत वा भ्रामक डेटा प्रकाशन गर्नु हुँदैन ।
- सन्दर्भ उल्लेख गर्दा एकरुपता कायम गर्नुपर्दछ ।
- अनावश्यक डेटा वा सन्दर्भको प्रयोगलाई स्थान दिनु हुँदैन ।
७. विज्ञापन र प्रायोजित सामग्री
- विज्ञापन र प्रायोजित सामग्रीलाई समाचारबाट स्पष्ट रूपमा छुट्याउनुपर्दछ ।
- विज्ञापनलाई समाचार, लेख वा अन्य कुनै सम्पादकीय सामग्रीका रूपमा र समाचारलाई विज्ञापनका रूपमा प्रस्तुत गर्नु हुँदैन ।
- विज्ञापन मार्फत समाचारको खण्डन गर्नु हुँदैन ।
- विज्ञापन सामग्री र यसको प्रसारण गर्दाको बखत सम्पादकीय आचारसंहिता र विज्ञापन निर्माण गर्ने ऐन, २०६७ का विनियमहरूलाई उचित ध्यान पुर्याइएको हुनुपर्दछ।
- कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याति, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ ।
- कुनै पनि प्रायोजित भ्रमण तथा लेखनवृत्ति ग्रहण गरी तयार पारिएका सामग्रीको प्रायोजक वा वृत्ति लिइएको बारेमा सोही सामग्रीमा स्पष्ट खुल्ने गरी प्रकाशन वा प्रसारण गर्नुपर्दछ ।
८. सामाजिक सञ्जाल स्रोत
- सामाजिक सञ्जालबाट प्राप्त जानकारी प्रकाशन गर्दा स्रोतको विश्वसनीयता जाँच गर्नुपर्दछ ।
- सामाजिक सञ्जालबाट प्राप्त जानकारीलाई प्राथमिक स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन, बरु अन्य स्रोतसँग पुष्टि गर्नुपर्दछ ।
- सामाजिक सञ्जालबाट प्राप्त जानकारी प्रकाशन गर्दा स्रोतको अनुमति लिनुपर्दछ ।
सामग्री साझा गर्दा
- सामाजिक सञ्जालमा साझा गरिएको सामग्री पनि सम्पादकीय मापदण्ड अनुसार हुनुपर्दछ ।
- भ्रामक सूचना र अफवाहबाट जोगिएर त्यस्ता स्रोत सामग्रीको प्रयोगलाई निषेध/नियन्त्रण गर्नुपर्दछ ।
- प्रतिक्रिया र टिप्पणीहरूप्रति उत्तरदायी रहनुपर्दछ।
पाठक संलग्नता
- पाठकहरूसँग सकारात्मक संलग्नता बढाउनुपर्दछ ।
- आलोचनात्मक टिप्पणीहरूलाई सम्मानपूर्वक सम्बोधन गर्नुपर्दछ ।
- घृणात्मक र आपत्तिजनक टिप्पणीहरू हटाउनुपर्दछ वा निषेध/नियन्त्रण गर्नुपर्दछ ।
९. बौद्धिक सम्पत्ति अधिकारको सम्मान र पालना
- मौलिक सामग्री निर्माण र प्रकाशनलाई प्रोत्साहन गरिनेछ ।अरूको कामलाई प्रेरणाका रूपमा प्रयोग गर्दा पनि यसलाई पूर्ण रूपमा पुनर्लेखन वा रूपान्तरण गर्नुपर्दछ ।
- कुनै पनि बाह्य स्रोतबाट लिइएको सामग्री प्रकाशन गर्दा स्रोतको सही उल्लेख गर्नुपर्दछ ।
- अन्य समाचार संस्था, लेखक वा कलाकारको काम प्रयोग गर्दा उनीहरूको अनुमति लिनुपर्दछ र क्रेडिट दिनुपर्दछ ।
- नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानूनको पालना गर्नुपर्दछ । कुनै पनि सामग्री प्रकाशन गर्दा यसले कपिराइट कानूनको उल्लंघन नगर्ने ख्याल राख्नुपर्दछ ।
- कुनै पनि सामग्री प्रयोग गर्नुअघि यसको कपिराइट स्थिति जाँच्नुपर्दछ र आवश्यक अनुमति लिनुपर्दछ ।
- लाइसेन्स वा अन्य अनुमतिप्राप्त सामग्री प्रयोग गर्दा पनि लाइसेन्सका शर्तहरूको पालना गर्नुपर्दछ ।
- साझा सामग्री प्रयोग गर्दा पनि स्रोत र लाइसेन्सको शर्त अनुसार क्रेडिट दिनुपर्दछ ।
- बौद्धिक सम्पत्ति अधिकार उल्लंघनले संस्थालाई कानूनी जोखिममा पार्न सक्ने भएमा त्यस्तो सामग्री तुरुन्त हटाउनुपर्दछ र आवश्यक कदम चाल्नुपर्दछ ।
१०. एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिको प्रयोगमा सावधानी
आधुनिक प्रविधिको प्रयोगले समाचार उत्पादन र प्रकाशन प्रक्रियालाई गतिशील बनाउँदै गएको छ। यसैक्रममा, कृत्रिम बुद्धिमत्ता ९आर्टिफिसियल इन्टेलिजेन्स– एआई० प्रविधिको प्रयोग गर्दा हामीले निम्न सावधानीहरू अपनाउनुपर्दछ:
- एआई सहयोगमा उत्पादित सामग्री प्रकाशित गर्दा पाठकलाई स्पष्ट जानकारी दिनुपर्छ।
- एआई प्रयोगले गलत, भ्रामक वा हानिकारक सूचना सिर्जना नगर्ने सुनिश्चित गर्नुपर्छ।
- अन्तिम निर्णय सम्पादक वा पत्रकारको हुनुपर्छ; एआई सामग्री परीक्षण बिना प्रकाशित गर्नुहुँदैन।
ग. प्रयोगकर्ता गोपनीयता र डेटा संरक्षण निर्देशिका
१. परिचय
हामी हाम्रो वेबसाइटमा तपाईंको व्यक्तिगत डाटा/जानकारीको सुरक्षाप्रति गम्भीर छौं र तपाईंको गोपनीयता संरक्षण हाम्रो प्राथमिकता रहनेछ। यो निर्देशिकाले हामी कसरी तपाईंको व्यक्तिगत जानकारी संकलन, प्रयोग, संरक्षण र साझेदारी गर्छौं भन्नेबारे जानकारी दिन्छ।
२. जानकारी संकलन
हामी निम्नलिखित जानकारी संकलन गर्न सक्छौं:
- तपाईंको नाम, ईमेल ठेगाना, फोन नम्बर जस्ता व्यक्तिगत जानकारी।
- तपाईंले हाम्रो वेबसाइटमा गर्नुभएका कार्यहरू, जस्तै दर्ता/लगइन/प्रविष्टि, पृष्ठहरू हेरेको, लेखहरू पढेको, विज्ञापनहरूमा क्लिक गरेको र अन्य गतिविधिहरू।
- तपाईंको डिभाइसको आईपी (IP) ठेगाना, ब्राउजर प्रकार र अवलोकन समय जस्ता प्राविधिक जानकारी।
३. जानकारीको प्रयोग
हामी तपाईंको जानकारी निम्नलिखित उद्देश्यहरूका लागि प्रयोग गर्न सक्छौं:
- तपाईंलाई सेवा प्रदान गर्न, महत्त्वपूर्ण समाचार, सूचना र अपडेटहरू पठाउन प्रयोग गर्नेछौं।
- हाम्रा सेवाहरूमा आवश्यक समयानुकूल परिवर्तन ल्याउन, व्यक्तिगत प्रयोगकर्ता अनुभवलाई सुधार गर्न र वेबसाइटको गुणस्तर बढाउन।
- कानूनी आवश्यकता पूरा गर्न।
- संकलित जानकारीलाई हामी हाम्रा आगन्तुकहरूले हाम्रो वेबसाइट कसरी प्रयोग गर्छन् भन्ने बुझ्न गुगल एनालिटिक्स (Google Analytics) पनि प्रयोग गर्छौं।
४. सूचना/जानकारी साझेदारी
हामी तपाईंको व्यक्तिगत जानकारी तेस्रो पक्षसँग साझेदारी गर्दैनौं, यद्यपि निम्न विशेष अवस्थामा जानकारी साझा गर्न सकिन्छः
- कानूनी आवश्यकता: यदि सरकारी निकाय वा कानूनी प्रक्रियाबाट जानकारी उपलब्ध गराउन माग गरिएमा।
- सेवा प्रदान गर्न आवश्यक परेमा: जस्तै भुक्तानी प्रक्रिया, डेटा होस्टिङ, प्रविधि सेवा प्रदायक वा तेस्रो पक्ष सेवा प्रदायकहरूसँग, जुन हाम्रो तर्फबाट सेवा प्रदान गर्न संलग्न छन्।
५. डाटा संरक्षण
हामी तपाईंको व्यक्तिगत जानकारीको सुरक्षाका लागि उपयुक्त प्राविधिक र प्रशासनिक उपायहरू अपनाउँछौं।
यी उपायहरूले डाटालाई अनधिकृत पहुँच, चुहावट, दुरुपयोग, परिवर्तन वा नष्ट हुनबाट जोगाउँछन्।
६. कुकीज र ट्र्याकिङ प्रविधि
हाम्रो वेबसाइटमा कुकीज र अन्य ट्र्याकिङ प्रविधिहरू प्रयोग हुन सक्छन्।
यी प्रविधिहरूले तपाईंको ब्राउजिङ अनुभवलाई सुधार गर्न, वेबसाइटको प्रदर्शन विश्लेषण गर्न र प्रयोगकर्ता व्यवहार बुझ्न सहयोग गर्छन्।
तपाईंले चाहनु भएमा आफ्नो ब्राउजर सेटिङमार्फत कुकीज निष्क्रिय गर्न सक्नुहुन्छ।
७. प्रयोगकर्ताका अधिकारहरू
तपाईंलाई तपाईंसँग सम्बन्धित व्यक्तिगत जानकारी प्राप्त गर्ने, सच्याउने, अद्यावधिक गर्ने वा मेटाउने अधिकार सुरक्षित छ।
यदि तपाईं यी अधिकारहरू प्रयोग गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
८. नीति परिवर्तन
हामी यो गोपनीयता नीतिमा समय–समयमा आवश्यकतानुसार संशोधन गर्न सक्छौं।
नीति परिवर्तन भएमा, अद्यावधिक जानकारी वेबसाइटमा प्रकाशित गरिनेछ।
९. सम्पर्क जानकारी
यदि तपाईंलाई यो गोपनीयता नीति सम्बन्धी कुनै प्रश्न वा चिन्ता छ भने, कृपया हाम्रो सम्पर्क पृष्ठमार्फत हामीलाई सिधा सम्पर्क गर्नुहोस्।
घ. कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारको रोकथाम र व्यवस्थापन सम्बन्धी नीति
कर्मचारीहरूको व्यावसायिक विकासका लागि सहयोग हुने गरी सुरक्षित, सम्मानपूर्वक र मर्यादित वातावरणमा काम गर्नका लागि कुनै पनि आधारमा हुने भेदभाव, हिंसा र यौनजन्य दुव्र्यवहार लगायतको कार्यस्थलमा हुने दुव्र्यवहारबाट मुक्ति सुनिश्चित गर्न आवश्यक कदमहरू चाल्नका लागि हिमालमिडिया प्रतिबद्ध छ । यसका लागि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारको रोकथाम र व्यवस्थापन सम्बन्धी नीति, २०२४ समेत अवलम्बन (तर्जुमा) गरिएको छ ।
हिमालमिडियाले कार्यस्थलमा कुनै पनि प्रकारको यौनजन्य दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीति सञ्चालन गर्दछ, सबै घटनाहरूलाई गम्भीर रूपमा लिई यौनजन्य दुव्र्यवहारका सबै आरोपहरूको तुरुन्त अनुसन्धान गर्दछ । कुनै पनि व्यक्तिले यौनजन्य दुव्र्यवहार गरेको प्रमाणित भएमा रोजगारबाट निष्कासनसम्मको अनुशासनात्मक कारबाही गर्न सक्दछ ।
कार्यस्थलमा विविधता, समानता र समावेशीकरण (डीईआई) सम्बन्धी नीति
हिमालमिडिया प्रा.लि. एक समावेशी, समतामूलक र विविधतापूर्ण कार्य वातावरण प्रवद्र्धन गर्न प्रतिबद्ध छ । हामी यस्तो वातावरण सिर्जना गर्न चाहन्छौं जहाँ हामी विविधतालाई प्रोत्साहन गर्दै प्रत्येक कर्मचारीलाई उनीहरूको भिन्नताको आधारमा निष्पक्ष रूपमा व्यवहार र सम्मान गर्न सकौं र जहाँ हरेकले हाम्रो कम्पनीको सफलतामा योगदान दिन र आफ्नो पूर्ण क्षमता उपभोग गर्न समान अवसर पाऊन् । हामी विश्वास गर्छौं कि विविध र समावेशी वातावरणले नवीनता (नवप्रवर्तन)लाई प्रेरित गर्छ, कर्मचारी संलग्नतालाई बढाउँछ, र हाम्रो सामूहिक सफलतालाई ऊर्जा दिन्छ ।
यसका लागि कार्यस्थलमा विविधता, समानता र समावेशिता (डीईआई) सम्बन्धी नीति, २०२५ समेत अवलम्बन (तर्जुमा)को तयारी भइरहेको छ । यस नीति अन्तर्गत हिमालमिडियाको एक विशेष उद्देश्य पाँच वर्षको अवधिभित्र संस्थामा लिंगको आधारमा समान अनुपात कायम गर्नु रहेको छ । साथै अन्य प्रकारको विविधता र समावेशिताको सन्तुलनलाई मध्यनजर गर्दै संस्थाको कार्यबल (संरचना) समान रूपमा निर्माण गर्दै लैजानु हो ।
हामीले यस नीति तयार गर्दा कार्यस्थलमा विविधतालाई अंगीकार गर्ने, समानता सुनिश्चित गर्ने, समावेशितालाई प्रोत्साहन गर्ने र सबै कर्मचारीहरूका लागि अपनत्वको भावना प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नका लागि आवश्यक उच्चतम नियमकानून, स्थापित मापदण्ड, नैतिक मान्यताहरूको पालना गर्दै उत्तम प्रथाहरू र सामाजिक परिवर्तनहरूलाई कायम गर्ने प्रयास गरेका छौं ।
हामी भेदभाव, उत्पीडन, दुव्र्यवहार वा हाम्रो डीईआई नीतिको उल्लंघनप्रति शून्य सहनशीलता राख्दै यस सम्बन्धी रिपोर्टहरूलाई गम्भीरतापूर्वक लिन्छौं ।