पोखराबाट काठमाडौं जोड्ने सडकको कन्तविजोग (तस्वीर कथा)
राजधानी काठमाडौंका सडकका खाल्डाखुल्डी र धुँवा-धुलो चर्चा हुने गर्छ। तर, मुलुकका अन्य सडक र राजमार्गहरूको हालत पनि त्यसभन्दा फरक छैन। त्यसको एउटा उदाहरण हो, पृथ्वी राजमार्गको दमौली-पोखरा खण्ड।
एक वर्ष अघिसम्म दमौली-पोखरा सडकमा सार्वजनिक सवारीमार्फत यात्रा गर्दा बढीमा एक घण्टा लाथ्यो। वर्षदिनदेखि भने दुई घण्टा लाग्न थालेको छ।
तनहुँको कोत्रेस्थित जम्मा १५ सय मिटर सडकका कारण राजमार्गको यात्रा लम्बिएको छ। उक्त खण्डको सडक भत्काएर नयाँ बनाउने काम समयमा नसकिँदा दोब्बर समय लागेको हो।
समय धेरै लाग्ने मात्र होइन, यही १५०० मिटरमा यात्रुले सास फेर्नै मुश्किल हुने गरी धुलो उड्छ। बाटो भत्काएर छाडिए पनि नयाँ नबनाएकाले यात्रुले समस्या व्यहोरिरहेका छन्।
सधैं सोही सडक आपासमा बिताउनुपर्ने स्थानीयवासी झनै मर्कामा छन्। घरबाहिर मात्र होइन, भित्र पनि खानेकुरा, लत्ताकपडा र भाँडावर्तनमा धुलो धुलै हुने गरेको कोत्रेकी पम्फा गुरुङ बताउँछिन्।
सडक भत्किएकाले स्कुल बस आउनै छाडेको विद्यार्थी आस्था गुरुङले बताइन्। सोही कारण धुले सडकमा पैदल यात्रा गर्नुपरिरहेको छ, विद्यार्थीहरूले। “नेताहरू असल नभएकाले सडक खराब भएको हो,” स्थानीय चित्रबहादुर श्रेष्ठ भन्छन्।
पोखरालाई राजधानी काठमाडौंलगायत मुलुकभर जोड्ने मुख्य सडक हो, पृथ्वी राजमार्ग। नेपालको पुरानो राजमार्गमध्येको पनि हो यो।
सडक डिभिजन कार्यालय पोखराले ११ फागुन २०७४ मा असार मसान्तभित्र सडक निर्माण सक्नेगरी ठेक्का दिएको थियो। ठेक्का पाएको स्मार्ट सिभिल कन्स्ट्रक्सनले तोकिएको समयमा बाटो भत्काएर छाडिदियो।
असार मसान्तपछि सरकारले ६ महिनाको समय थप्यो। आगामी पुस मसान्तसम्म म्याद रहे पनि निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको अवधिमा कालोपत्र भइसक्नेमा शंका छ।
पुसमा चिसोका कारण सडक कालोपत्रे गर्न नमिल्ने प्राविधिकहरू बताउँछन्। त्यसका लागि आवश्यक तापक्रम नपुग्ने भएकाले पुस र माघमा काम हुन नसक्ने उनीहरूको भनाइ छ।
सडक डिभिजनका इञ्जिनियर आशिक रिजाल भने निर्माण पक्षलाई छिटो काम गर्न दबाब दिइरहेको बताउँछन्। तर, हालसम्म भएका कामको भुक्तानी दिन नसक्दा समस्या झेल्नुपरेको उनको भनाइ छ।
“आधाजति काम सकिएको छ,” इञ्जिनियर रिजाल भन्छन्, “तर, निर्माण कम्पनीलाई भुक्तानी दिन सकिएको छैन।” सरकारले बजेट नपठाउँदा भुक्तानी दिन नसकिएको उनको भनाइ छ।