'ठग्स अफ हिन्दोस्तान'को असफलतामा आमिर खानले मागे माफी
लगातार एकपछि अर्को सुपरहिट फिल्म दिने र निकै छनोट गरेर मात्र फिल्म खेल्ने बलिउड अभिनेता आमिर खान यस पटक भने नराम्ररी चुके। अधिक कमाइको अपेक्षा गरिएको उनी अभिनीत 'ठग्स अफ हिन्दोस्तान' ले बक्स-अफिसमा त असफलता बेहोर्यो नै, समीक्षकहरूबाट पनि नकारात्मक प्रतिक्रिया पायो।
यति मात्र होइन, सामाजिक सञ्जालमा पनि फिल्म ट्रोलको शिकार भयो।
'ठग्स अफ हिन्दोस्तान' को असफलतापछि लगभग चुप बसेका आमिरले अन्तत: फिल्मको बारेमा मुख खोलेका छन्। 'सिनेस्तान इन्डियाज स्टोरी टेलर्स कन्टेस्ट' को अवार्ड समारोहको अवसरमा उनले भने, "ठग्स अफ हिन्दोस्तानको असफलताको पूरै जिम्मा म लिन्छु। हामीले फिल्मलाई राम्रो बनाउन कुनै कसर बाँकी छाडेका थिएनौं तर कतै न कतै हामी चुक्यौं। केही दर्शकलाई भने फिल्म मन पर्यो, उनीहरूप्रति आभारी छु। तर, रुचाउनेको संख्या निकै कम छ।"
उनले अगाडि थपे, "दर्शक जुन अपेक्षा लिएर फिल्म हेर्न हलमा पुगे, यसपालि उहाँहरूलाई मनोरञ्जन पस्किन नसकेकामा म उहाँहरूसँग माफी माग्छु।" दर्शकको अपेक्षा पूरा नभएकामा आफूलाई नमज्जा लागेको उनले बताए।
हालै बलिउडका अर्का अभिनेता शाहरुख खानले 'ठग्स अफ हिन्दोस्तान' को जुन प्रकारले आलोचना भयो, त्यो निकै कठोर रहेको बताएका थिए। यसबारे आमिरको प्रतिक्रिया माग्दा उनले भने, "मलाई लाग्छ, दर्शकलाई फिल्मको विषयमा आफ्नो कुरा भन्ने पूरै स्वतन्त्रता छ। अर्को पटक हामी अझ कडा मिहिनेत गर्नेछौं।"
८ नोभेम्बरमा रिलिज भएको 'ठग्स अफ हिन्दोस्तान' ले १८ दिनमा भारती बक्स-अफिसमा भारु १५० करोडको हाराहारीमा मात्र बटुल्न सकेको छ। आमिर, अमिताभ लगायत ठूला स्टार र प्रविधिको तामझामका कारण ठूलो महत्वाकांक्षा राखिएको फिल्मको बजेट ३०० करोड थियो। हलबाट फिल्म चाँडै उत्रिने आकलन छ। एजेन्सी