विवाह गर्दैमा करिअर सकिन्न- करिना कपुर खान
पूर्वीय समाजमा एउटा परम्परागत मान्यता छ, विवाहपछि एक प्रकारले जीवन नै सिद्धिन्छ!
पारिवारिक जीवनमा बाँधिएपछि पहिलेको स्वतन्त्रता र रहरको यात्रालाई जिम्मेवारीले किच्ने तर्क दिँदै त्यस्तो भनिएको पाइन्छ। त्यसमा पनि महिलाका लागि विवाहलाई करिअरकै समाप्तिका रूपमा परिभाषित गरिन्छ। झन् फिल्म क्षेत्रमा त यो कुरा अझ लागू हुँदै विवाहित अभिनेत्रीको फ्यान फलोइङ घट्ने र हात खाली हुने बताइन्छ।
बलिउड अभिनेत्री करिना कपूर खानले यो मान्यताको प्रतिवाद गर्दै विवाहपछि करिअर नसकिने बताएकी छन्। एक एफएम रेडियोमा प्रस्तोताका रूपमा नयाँ यात्रा शुरु गर्न लागेकी करिनाले आफूलाई मानिसहरूले विवाहपछि करिअर समाप्त हुने बताए पनि सो कुरा गलत साबित भएको बताइन्। अभिनेता सैफ अली खानसँग सुखद दाम्पत्य जीवन बितारहेकी उनले भनिन्, "म उनीहरूमध्ये पर्छु, जो आफ्नो मनको कुरा सुनेर काम गर्छन्।"
करिनाले सैफसँग सन् २०१२ मा विवाह गरेकी हुन्। विवाहअघि मानिसहरूले भनेका कुराको स्मरण गर्दै उनले सुनाइन्, "जब म विवाह गर्ने तयारीमा थिएँ, मानिसहरू भन्थे- विवाह नगर, यसले तिम्रो करिअर सखाप हुनेछ। कुनै पनि निर्माताले तिमीलाई फिल्ममा लिँदैनन् र तिमीले कुनै पनि काम पाउँदैनौ।"
तर, वास्तविकता त्यस्तो नभएको बताउँदै उनले थपिन्, "विवाहपछि पनि म कामले यति धेरै व्यस्त छु, कहिलेकाहीं त म यति धेरै काम गर्न चाहन्नँ भनेर आफैंलाई भनिरहेकी हुन्छु।"
३८ वर्षीया अभिनेत्रीले आफू कसले के भन्छ भन्ने सुनेर खुम्चिने महिला नभएको बताइन्। "म पहिलेको तुलनामा बढी काम गर्छु। यो क्रम जारी राख्नेछु। मलाई अपेक्षा छ, म सधैं आफ्नो मनको आवाज सुन्छु र यही चाहन्छु," उनले भनिन्।
करिनाले विवाहपछि 'तलाश' (२०१२), 'सत्याग्रह' (२०१३), 'गोरी तेरे प्यार मे' (२०१३), 'सिंघम रिर्टन्स' (२०१४), 'बजरंगी भाइजान' (२०१५), 'कि एन्ड का' (२०१६), 'उड्ता पञ्जाब' (२०१६), 'वीरे दी वेडिङ' (२०१८) लगायत फिल्ममा अभिनय गरेकी छन्। अभिनेत्रीसँगै उनी फेशन डिजाइनर पनि हुन्।
रेडियो कार्यक्रमको प्रस्ताव आउँदा शुरुमा अस्वाभाविक लागे पनि कार्यक्रमको अवधारणा सुनेपछि यस्तो गर्ने सही समय आएको महशुस गरेर राजी भएको उनले उल्लेख गरिन्। उनी इश्क एफएममा 'व्हाट वुमेन वान्ट विद करिना कपूर खान' कार्यक्रममा प्रस्तुत हुनेछिन्। एजेन्सी