मिस पूर्वेलीको छनोट शुरु
विराटनगरमा हुँदै आएको मिस पूर्वेली सुपर मोडल प्रतियोगिताका लागि यस वर्षको छनोट शुरु भएको छ।
८ मंसिरमा विराटनगरको ‘टेन ११ लाउन्ज’मा पहिलो दिन २७ युवती अडिसनमा सहभागी भए।
‘ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालि’को आयोजनामा १४ पुसमा हुने प्रतियोगिताका लागि झापा, मोरङ र सुनसरीमा छनोटपछि २५ जनालाई फाइनलमा लगिनेछ। प्रतियोगिता संयोजक सौरभ राजभण्डारीका अनुसार सुनसरीका धरान र इटहरी तथा झापाको दमकमा छनोट गरिनेछ।
त्यहाँबाट आएका युवतीलाई १५ मंसिरमा विराटनगरमा पुनः छनोट गरिनेछ।
पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयोजन गर्ने यस वर्षको मिस पूर्वेलीमा चर्चित कोरियाग्राफर सृजना रेग्मीले युवतीहरूलाई प्रशिक्षित गर्ने भएकी छन्।
विजेतालाई रु. २ लाख ५० हजार, फस्ट रनरअपलाई रु. १ लाख र सेकेन्ड रनरअपलाई रु. ५० हजारसहित इण्डोनेसिया भ्रमणको अवसर दिइने आयोजकले जनाएको छ। ए वान इन्टरटेनमेन्टका अध्यक्ष किरण लामाले प्रतियोगिता नेपालमै सर्वाधिक राशिको ब्युटी प्याजेन्ट भएको बताए।
कमल रिमाल, विराटनगर