शक्तिलाई व्यंग्य गर्ने सिग्देलको कलाचेत
कञ्चनपुरको भीमदत्त-२ की १३ वर्षीया किशोरी निर्मला पन्तले बलात्कारपछि हत्या हुनुअघि एउटा चित्र बनाएकी थिइन् । कापीको पानामा उनले बनाएको भगवान गणेशको चित्र सार्वजनिक भएको थियो । त्यही चित्र कलाकार सुनील सिग्देलले आफ्नो क्यानभासमा उतारे र भैरवको आकृति जोडिदिए ।
सिग्देलले यो चित्रको क्याप्सनमा भनेका छन्, “उनको बलात्कारको एक मात्र साक्षी ।” अहिलेसम्म निर्मला पन्त प्रकरणका दोषी पत्ता लाग्न सकेका छैनन् भने साक्षी पनि भेटिएका छैनन् । कलाकार सिग्देलले किशोरी पन्तले भगवान शिवका पुत्रका रूपमा गणेशले पनि उनको रक्षा गर्न नसकेको व्यंग्य आफ्नो चित्रमा रहेको सिग्देलको व्याख्या छ ।
निर्मला पन्तको चित्रमा उनले क्याप्सन दिएका छन्, “माइ गडेस लस्ट द ब्याटल” अर्थात् मेरी देवीले युद्ध हारिन् ।
अर्को चित्रमा बेलायतकी तत्कालीन युवराज्ञी डायनाको तस्वीरसँगै एक गोर्खाली सैनिक मस्त हाँसिरहेका छन्, जो बेलायती सेनाको बर्दीमा छन् । विश्वमा नेपाल मात्र यस्तो देश हो, जहाँका युवा विदेशी सेनामा भर्ती भएर विदेशी भूमिको रक्षाका लागि लड्छन् । बेलायती सेनाका यी सैनिकको अनुहारमा धेरै जालो देखिन्छन्, नेपाली परम्परागत चित्रहरूमा जस्तो ।
समसामयिक विषयमा तिखो प्रहार गरेका कलाकार सिग्देलले विश्व कम्युनिष्ट नेताहरू मार्क्स, लेनिन, माओलगायतलाई पनि व्यंग्य कसेका छन् । मार्क्सको मस्तिस्कमा भोगविलास देखाइएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्तिस्कलाई पुनरुत्पादित मस्तिष्क भनेका छन् ।
समसामयिक विषयमा चित्र कोर्ने कलाकार सिग्देलको साताव्यापी लामो चित्रकला प्रदर्शनी सकिएको छ । प्रदर्शनीको समापनका अवसरमा चित्रकार जुपिटर प्रधानले नेपाली कला विगत र वर्तमान शीर्षकमा प्रस्तुती दिएका थिए । उनले कलाकार सिग्देल अहिलेको पुस्ताका फरक तर शक्तिशाली चित्रकार भएको बताए ।
युवराज श्रेष्ठ, पोखरा