अध्यागमन हिरासतका एक जोडी पाहुना
२४ असोजमा काठमाडौं ठमेलबाट प्रहरीले एक जोडी विदेशीलाई पक्राउ गर्यो। उनीहरू थिए, जर्मन नागरिक एर्नी बेन्जामिन सास (३४) र चिनियाँ नागरिक सिमेङ चाओ (३०)।
सिमेङ गर्भवती थिइन्। दुवैलाई प्रहरीले अध्यागमन विभागमा बुझायो। अनुसन्धानबाट थाहा भयो, उनीहरू २ वर्षदेखि ‘ओभर स्टे’ भएर ‘लिभिङ टुगेदर’ बसेका रहेछन्।
प्रहरीले पक्राउ गर्दा सिमेङ ८ महिनाकी गर्भवती थिइन्। वैधानिक रूपमा विवाह नभएका कारण अध्यागमन विभागले दुवैलाई आ-आफ्ना मुलुकमा ‘डिपोर्ट’को तयारी गर्दै थियो। सोही क्रममा १५ कात्तिकमा चाओले काठमाडौं थापाथलीस्थित प्रसुती गृहमा छोरी जन्माइन्। जर्मन बाबुले उनको नाम राखे, निना सास।
स्पेनको भेट, नेपालको घुमाइ
सन् २०१४मा चाओ समाजशास्त्र पढ्न स्पेन गएकी थिइन्। पेटको विमारले उनलाई बेलाबेलामा सकस हुन्थ्यो। मानसिक स्वास्थ्य र एकाग्र चिन्तनमा निर्लिप्त हुने बेन्जामिनसँग उनको भेट भयो। उनीहरूकै शब्दमा ‘माया बस्यो’।
जर्मनी, फ्रान्स, स्पेन र डेनमार्क घुमे। अनि, नेपाल र भारत घुम्ने योजना बुने। सन् २०१४मा परिवारलाई जानकारी नदिई दक्षिण एशियाका हिन्दू बस्ती चहार्न नेपाल आइपुगे। काठमाडौंका पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर परिसरमा राति अबेरसम्म गफिँदै बस्थे।
तनहुँको देवघाट र सौराहामा पनि धेरै दिन बिताए। मासको दाल, भात, गुन्द्रुकको अचार, करेलाको तिहुन बेन्जामिनको जिब्रोमै झुण्डिएका नेपाली खान्की हुन्। मःम, चाउमिन, पुरी, जेरी पनि उनी नाईं भन्दैनन्। पूर्वमा धनकुटा र पश्चिममा पोखरासम्म पुगेका उनीहरू भारतका बदरीनाथ, केदार, ऋषिकेश र दलाई लामाको बासस्थल धर्मशाला पनि घुमे।
दोस्रोपटक उनीहरू २७ जुन २०१६ मा एक महिनाको पर्यटक भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल पसे। काठमाडौं क्षेत्रपाटीस्थित एक तिब्बती उपचार केन्द्रमा सिमेङको पेटको उपचार गरे। काठमाडौंमा केही दिन बसेर भिसाको म्यादको ख्यालै नगरी उनीहरू सौराहा र देवघाट बस्न थाले।
आफ्ना लागि अलग्गै कुटी बनाएको बताउने बेन्जामिन आफूलाई समयको दासका रूपमा नबुझ्ने नेपाली गाउँ-समाजका हँसिला मान्छेहरूले आदरभावसाथ सित्तैंमा खान दिएको भुल्दैनन्। भन्छन्, “हामीलाई यहाँका मान्छेहरूले उनीहरूको भान्सामा पाकेको खाना धेरैपटक बिनापैसा खुवाएका छन्, यस्तो सत्कार म मेरो जन्मभूमिमा कहाँ पाउँछु र !”
बेन्जामिन ‘हिलिङ’ गर्छन्। शान्त, स्थिर र एकाग्र रहँदा मनमा ईश्वरीय चेत विकसित हुने उनको भनाइ छ। करिब २ वर्ष सौराहामा रहेका उनलाई त्यहाँ कुटी बनाउन एक स्थानीय बासिन्दाले जमिन दिए। अनि, जर्मनीमा रहेका परिवारजन र साथीहरूले आर्थिक सहयोग पठाए।
‘नछुट्याऊ’
उनीहरूले करिब २ वर्ष नेपालमा ‘ओभरस्टे’ गरिसकेका छन्। अध्यागमन नियमावली, २०७५ को ९(२) अनुसार उनीहरूले करिब साढे ७ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्छ। तब मात्र उनीहरूको नेपाल बसाई वैध हुन्छ।
चाओ र बेन्जामिनबीच बिहे नभएकाले अध्यागमन अधिकारीहरू उनीहरूलाई आ-आफ्ना मुलुकमा पठाउने तयारीमा थिए। तर, बेन्जामिनले जर्मन दूतावाससँग परामर्श गरी श्रीमती र छोरीलाई जर्मनी लैजाने योजना बनाएका छन्। र, त्यसका लागि उनले जर्मनीमा रहेका आमाबाबुलाई नेपाल बोलाएका छन्।
यहीबीचमा छोरी नेपालमा सुत्केरी भएको खबर पाएकी सिमेङकी आमा चाङ होङ काठमाडौं आएकी छन्, सुत्केरी स्याहार्न।
झ्याप्ले कपाल र दारी पालेका बेन्जामिन हिन्दू धर्मावलम्बी होइनन् तर हिन्दूत्वबारे गहिरो रुचि राख्छन्। मन्दिर जान मन पराउँछन्। विवाहलाई उनी कानूनको फ्रेमबाट बाहिर राखेर बुझ्छन्। हिरासतमै पनि उनको निधारमा खैरो चन्दन हमेसा टुट्दैन।
मज्जासँग नेपाली बुझ्ने उनी रिसराग नराख्दा मन र शरीर दुवै स्वस्थ हुने तर्क गर्छन्। यसका लागि व्यक्ति, उसको सम्बन्ध र ऊ बाँचेको समाजबाट प्राप्त गर्ने बौद्धिक पोषण आदिका आधारमा व्यक्तित्व निर्माण हुने बताउँछन्।
उनी जहाँ रहे पनि एउटा नेपालीको जस्तै घर बसाउन चाहन्छन्। “म जन्मे–हुर्केको देशमा १८ वर्ष नाघेको हरेक व्यक्ति स्वछन्द हुन्छ तर मलाई सगोलको परिवार मनपर्छ,” उनी भन्छन्, “म श्रीमती र छोरीसँगै बस्न चाहन्छु।”
नेपालबाट ‘डिपोर्ट’ भए पनि भविष्यमा फेरि नेपाल आउन प्रयत्न गर्ने उनी बताउँछन्। त्यो सम्भव नभए थाइल्याण्ड वा कम्बोडियामा बसेर गुजारा चलाउने योजना पनि बुनेका छन्।