रजनीकान्त-अक्षयको फिल्म '२.०' रिलिज अगावै सय करोड क्लबमा
दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमारले अभिनय गरेको '२.०' पछिल्लो समयको बहुप्रतीक्षित फिल्म बनेको छ।
भारतीय फिल्मको इतिहासमै सर्वाधिक बजेट (भारु ५५० करोड हाराहारी) मा निर्माण भएको उक्त फिल्मले रिलिज अगाडि नै आम्दानी गर्न थालेको छ। प्रदर्शनमा आउनु अगाडि नै फिल्म एक सय करोड क्लबमा प्रवेश गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार, '२.०' को स्याटेलाइट अधिकार भारु १२० करोडमा बिक्री भएको हो। यससँगै '२.०' ले रिलिज अगावै एक सय करोडभन्दा बढी कमाउने पहिलो तमिल फिल्मको कीर्तिमान बनाएको छ। यस्तै, फिल्मले डिजिटल अधिकार बिक्रीवापत रु ६० करोड पनि हात पारेको छ।
शंकरले निर्देशन गरेको यो फिल्म सन् २०१० मा अत्यधिक रुचाइएको विज्ञान कथामा आधारित तमिल भाषाको फिल्म 'रोबोट' को सिक्वेल हो। 'रोबोट' मा रजनीकान्त र ऐश्वर्य राय बच्चनको अभिनय थियो भने सिक्वेलमा रजनीसँगै अक्षय कुमार र एमी ज्याक्सनले अभिनय गरेका छन्।
लगानी ऐतिहासिक भएजस्तै फिल्म '२.०' ले अहिलेसम्मका भारतीय फिल्महरूको कमाइको रेकर्ड तोड्ने अनुमान विश्लेषकहरूले गरेका छन्। आकलन अनुसार बक्स-अफिसमा रिलिज भएको करीब एक सातामै फिल्मले आफ्नो बजेट उठाउनेछ। फिल्म यही २९ नोभेम्बरमा प्रदर्शनमा आउँदैछ। एजेन्सी